वैशाख १३, २०८१ बिहिबार April 25, 2024

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

द्विपक्षीय भेटवार्तामा केही विकास आयोजनासम्बन्धी समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः छिमेकी मुलुक भारतको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भारतको हैदरावाद हाउसमा भेटवार्ता हुँदै छ ।

हैदरावाद हाउसमा बिहान ११ बजे हुने द्विपक्षीय भेटवार्तामा केही विकास आयोजनासम्बन्धी समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका तय गरिएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आधा घण्टाको छुट्टै भेटवार्ता हुने समय निर्धारण गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।

बैठकमा व्यापार, पारवहन, लगानी प्रवद्र्धन, ऊर्जा क्षेत्रमा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाललगायतका विषयमा छलफल हुने आचार्यले बताए। उनले भने– ‘द्विपक्षीय छलफलमा विद्युत्मा भारतीय लगानी भित्र्याउने प्राथमिकताका विषय हुनेछन् । भारतको भूमि हुँदै बंगलादेश विद्युत् निर्यात गर्नेबारे ठोस कुराकानी हुनेछ । त्यस्तै, पञ्चेश्वर परियोजनामा प्रगति हुन नसकेको विषयमा समेत छलफल हुनेछ ।’

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले सिँचाइ र जलविद्युत्का लागि महाकालीमा साझा उपयोग हुने गरी डीपीआर टुंगो लगाउने, नयाँ पारबहन सन्धिलाई टुंगो पु¥याउने, सीमा समस्यालगायतका कतिपय विषय सम्बोधन गर्न वातावरण बनाउन छलफल अगाडि बढाउने बताइएको छ । यद्यपि, सीमा समस्याको विषयले भने प्राथमिकता पाउनेगरी छलफलको कार्यतालिका राखिएको छैन । सीमा समस्या समाधानका विषयमा अनौपचारिक छलफल हुने बताइए पनि उक्त विषयले प्रवेश पाउने नपाउने टुंगो छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको अवसर पारेर दुवै देशका प्रधानमन्त्रीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्मको कार्गो रेल सञ्चालनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुने कार्यक्रम छ ।

दिवा भोजपछि आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नुहुनेछ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

यसअघि बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेर हैदरावाद हाउसमा फर्किनेछन्। शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानेछन् । चौथो दिन (जेठ २० गते) शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्केर। सोही दिन अपराह्न ४ः२० काठमाडौं फर्किनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया