वैशाख ८, २०८१ शनिबार April 20, 2024

भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीनजना दोषी ठहर

कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि भ्रष्टाचार मुद्दामा दोषी प्रमाणित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ । विशेषले बिहीबार सहसचिव शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

बिहीबार भएको सुनुवाइपछि इजलास  नं. १ का न्यायाधीश एवम् विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीश यमुना भट्टराई र न्यायाधीश शालिग्राम कोइरालाको इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

उनीहरुले कर फर्स्योट आयोगमा कार्यरत रहेका बेला अनियमितता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो। उनीहरु तीनजनाविरुद्ध अख्तियारले १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवाना मागदाबीसहित मुद्दा चलाएको थियो ।

उक्त मुद्दामा शर्मासँगै कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध अख्तियारले तीन वर्षअघि मुद्दा दायर गरेको थियो ।

उनीहरुले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानुनीरुपमा सरकारलाई नोक्सानी पुर्‍याएको आरोप थियो ।
त्यसबेला अख्तियारले कूल बिगोको रुपमा १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ दाबी गरेको थियो ।

उनीहरुविरुद्ध राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दा पनि चलेको थियो। राजश्व चुहावट मुद्दामा भने उनीहरु दोषी ठहर भएका छन् ।

तर विशेषले शर्मासहित तीनैजनालाई गैरकानुनी सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ। दोषी ठहर तीनैजनाको सजाय अब जेठ २५ गते निर्धारण गर्ने गरी पेशी तोकिएको विशेष अदालतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया