काठमाडौंः प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आज बिहीबार बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकले प्रधानमन्त्री कार्यालयका नयाँमुख्य सचिव नियुक्ति गर्ने तयारी गरेको छ ।
बैठक अहिले बिहान साँढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्रीले वर्तमान मुख्य सचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा.वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने तयारी गरेका छन् ।
आजै अर्याललाई मुख्यसचिव नियुक्त गर्ने सम्भावना बलियो देखिएको स्रोतको भनाई छ ।
मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको छ । त्यसैले उनको कार्यकाल सकिनु अगावै सरकारले नयाँ मुख्यसचिव नियुक्ति गर्नुपर्ने हुनाले आजै अर्याललाई नियुक्त गर्ने सम्भावना बलियो देखिएको छ ।
बिहान बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्ने तयारी गरिएको र त्यसबारे छलफल हुने बताईए पनि आजको बैठक आकस्मिक नभएर मंगलबार नै निर्धारित बैठक भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
आचार्य भन्छन्– ‘बैठक आकस्मिक होइन, अघिल्लो बैठकको निरन्तरता हो । बैठकको एजेन्डा बारेमा पहिले नै मन्त्रीहरुलाई प्रधानमन्त्रीले जानकारी गराईसक्नु भएको छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया