काठमाण्डौंः नेपाल राष्ट्र बैंकले सफा नोट नीतिलाइ कार्यान्वयनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरसरहित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
नेपालको एक मात्र केन्द्रीय बैंकले आइतवार सर्कुलर जारी गर्दै पुर्वराजाको तस्वीर अंकित नेपाली नोटहरू चलनचल्तिमा नल्याउन त्यस्तो निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले सर्वसाधारणबाट जम्मा भएको पुर्वराजाको तस्वीरसहितको नोट पुन : सर्वसाधारणमा प्रवाह नगर्न भनेको हो । तर तत्कालै ती नोटहरू प्रतिबन्धित भने हुने छैनन् । राष्ट्र बैंकले भनेझै अब बैंकहरुले झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेको, पूर्व राजाको तस्वीर भएको चित्रलाई समेत चलनचल्तीका लागि अयोग्य हुने जनाएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम नोटबाट पनि हुन सक्ने भएको भन्दै यस्तो पूर्व सतर्कता अपनाउन जोड दिएको हो । केन्द्रीय बैंकले बैंकहरुलाई नोट राख्ने दराज, फर्निचर, भल्ट, नोट ओसारपसार गर्ने सामग्री सफा राख्न पनि भनेको छ । साथै नोट भण्डारण गर्ने ढुकुटी र कारोबार गर्ने कक्षहरुमा यथोचित प्रकाश तथा एक्सहस्ट पंखा आदिको प्रयोग गरी पर्याप्त हावाको व्यवस्था गर्नसमेत उसले बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ ।
यससँगै केन्द्रीय बैंकले सफा नोट नीति-२०७३ लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअनुसार नोटलाई तीन वर्गमा वर्गीकरण गर्नुपर्ने नीति लागू गरिएको छ ।अब बैंक तथा वित्तीय संस्थाहरुले एटीएमलगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको स्लिप प्रयोग गर्नुपर्नेे छ ।
बैंकहरुले प्राप्त नोटलाई एटीएम लगायतमा मेशिनका माध्यमबाट चलनचल्तिमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गर्न योग्य वा चलनचल्तिमा पठाउन अयोग्य भनेर अनिवार्य रुपमा छुट्याउनु पर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बताए । उनका अनुसार बैंकहरुले काउन्टरबाट भुक्तानी गरी चलनचल्तिमा पठाउन योग्य नोटको प्याकेटलाई सेतो रङको स्लिप प्रयोग गर्नुपर्ने छ भने चलनचल्तिमा उठाउन अयोग्यलाई रातो रङको स्लिप प्रयोग गर्नुपर्ने छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब नोटमा बैंकहरुले स्टिच गर्न पाउँने छैनन् । रबर, प्लाष्टिक रबर र पेपर बैण्डको प्रयोग गर्न भने पाइने व्यवस्था गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया