वैशाख २३, २०८१ आइतबार May 5, 2024

सही दिशा र गति पाए यूवा शक्तिले देश बनाउन सक्छ – लोकनारायण सुवेदी

बास्तवमा हामीले यूवा शक्तिलाई देश र जनताप्रति सत्यनिष्ठाकासाथ समर्पित भएर सुझबुझतापूर्वक लाग्ने बातावरण बनाएनौ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिश्वमा कही पनि जब कुनै मोडमा मानब सभ्यतालाई आफ्नो अस्तित्वको लागि नयाँ दिशा दिन पर्ने आवश्यकता पर्दछ त्यतिबेला त्यो समाज बिशेषलाई नयाँ दिशातिर नेतृत्व प्रदान गर्ने काम बिकसित दृष्टिकोण र प्रबिधिकासाथ यूवा पिढीले गर्ने गरेको इतिहास रहेको पाइन्छ । वास्तवमा कुनै पनि समाजमा बृहत्तर र सुक्ष्मतम् दुबै अग्रगामी परिबर्तनको बीडा उठाउने र जोखिम मोल्ने काम यूवा पिढीले नै गर्ने गर्दै आएको हामी देख्दछौ । हुन पनि यूवा मानिसमा बिशेष गरी दुइ किसिमका महत्वपूर्ण गुणहरु रहेका हुन्छन् नै । पहिलो हो – यूवामा यत्तिका उर्जा हुन्छ कि उसले कुनै नयाँ कुरा गरेर देखाउने उत्साह र उत्सुकता बढी नै राख्दछ । दोश्रो कुरा, कुनै मानिस यूवा पिढीमा प्रवेश गर्दैगर्दा, अपबादलाई छोडेर, सामान्यतः जीवनमा त्यत्तिका धेरै हण्डर ठक्कर उसले खाएको हुदैन र  त्यत्तिका बढी निराश बनेको पनि हुदैन कि  कुनै नयाँ काम  गर्ने जाँगरै मरेको होस् र कुनै काम गर्ने  प्रयास गर्नै छोडिदेओस् ।

यस मनस्थितिको स्पष्ट अर्थ के हो भने यूवा पिढी या यूवामा मूलतः सकारात्मक सोच र ऊर्जाको आधिक्यता हुन्छ । यी नै दुइटा गुणले बिशेषतः यूवालाई परिबर्तनको सम्वाहक बनाउँदछ । अनि यी नै बिशेषताका कारणले बिश्व समाजका जहाँकही पनि कुनै क्रान्ति या आमूल सामाजिक परिवर्तनको आवश्यकता देखियाे या खडा भयाे भने त्यति बेला समाजमा नव यूवाहरुले नै अग्रिम मोर्चामा डटेर परिबर्तनको बाटो र मञ्जिल तय गरेको र सम्हालेको हामी पाउँदछौ । चाहे त्यो राजनीतिक मोर्चा होस्, आर्थिक मोर्चा होस्, सामाजिक या साँस्कृतिक मोर्चा नै  किन नहोस् ।

आज बिश्वका कुनै पनि देशले यतिबेला बितेको समयलाई पछाडि छोडेर नबीन ऊर्जाकासाथ आफ्नो बर्तमानमा जीबन्त रहेको देखिन्छ भने त्यसको श्रेय अबश्य पनि त्यो देश बिशेषा या समाज बिशेषको यूवा पिढीलाई नै जान्छ र दिनु पर्दछ । यूवा पिढीको उत्साहप्रद स्फूर्ति, कार्य गर्ने सौर्य र सदीच्छालाई यदि सही दिशा निर्देश र अवसर मिल्दछ भने त्यतिबेला परिवर्तन र अग्रगमनको लागि यो पिढीले धेरै अभूतपूर्व  कार्य सम्पादन गरेर समाजको नेतृत्व गर्दछ, गरेको जीवन्त र सुन्दर इतिहास छ । तर यो ऊर्जाशील यूवा पिढीलाई गलत दिशामा धकेलियो भने यो पिढी ठूलो बिनाशकारी परिणाम ल्याउन पनि प्रयुक्त हुने गरेको इतिहास छ र त्यसले देश अधाेगितकाे अँध्याराेमा फँसेकाे कुरा पनि इतिहासको अध्ययन अबलोकनबाट  प्रष्ट हुन्छ ।

हामीले हाम्रै देशको आधुनिक इतिहासलाई मात्र पनि सर्सरी हेर्यौ र केलायौ भने बिगतदेखि अहिलेसम्म  बिशेषतः यही यूवा पिढीले नेपालको अस्तित्व कायम राख्न र परिवर्तनको आन्दोलनलाई अघि बढाउन अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको र योगदान दिएको पाउदछौ । मध्ययुगीन राणाशही तानाशाहीकाबिरुद्ध सामाजिक बिभेद र बिषमताको अन्त्य, तथा सामाजिक मुक्ति र प्रगतिको निमित्त जुन सुन्दर सपना साँचेर हाम्रो यूवा पिढी बिगतदेखि शतत सघर्ष गर्दै आयो, त्याग,साहस, समर्पण र बलिदनको बाटो समात्यो त्यो अबिष्मरणीय छ । चाहे हामी लखन थापाको कुरा गरौ, योगमायाको कुरा गरौ, प्रचण्डको गोर्खाको कुरा गरौ, या नेपाल प्रजापरिषदको कुरा गरौ या नेपाली काग्रेस या नेपाल कम्युनिष्ट पार्टी स्थापना र संघर्षको कुरा गरौ यूवा समुदायका अग्रज सचेत ब्यक्ति र ब्यक्तित्वहरुको अबिस्मरणीय सत्यनिष्ठ, योगदान, त्याग र समर्पणको उज्वल परम्परा रहेको इतिहास हामी देख्दछौ । यूवा शक्तिले इतिहासलाई सही बाटोमा डोर्याएको बेला नेपालमा परिवर्तनको सपना साँचो र जीवन्त बनेर खडा भएको छ भने यूवा पिढीले बाटो बिराउँदा या गलत दिशामा धकेलिदा नेपाल पछि धकेलिएको र अल्मलिएको तथा अबिश्वाको अनुपयुक्त बातावरण सिर्जना भएको  स्थिति पनि बिकिसित हुने गरेको देखिदै आएको छ ।

त्यसैले, यूवा पिढी र यसको यूवा उर्जालाई सही बाटो देखाउनु अत्याबश्यक छ । अन्यथा समाजले सूनौलो भबिष्य गुमाउने र पछि पर्नेछ । त्यसैले,आज यूवा जनसख्याको मामिलामा हाम्रो देश लगायत जुन देशहरु अगाडि छन् तिनीहरुले   यो उर्जाशील शक्तिलाई सही दिशा र गति दिन  सकेनन्  भने उनीहरुलाई पुनः यो सुन्दर भबिष्य निर्माणको अवसर मिल्ने छैन । हाम्रा अर्थ बिज्ञहरु हाम्रो यूवा जनसख्यालाई हेरेर देशको बिकासको उत्तम मौका यही दशकको भनेर भनिरहेका छन् । तर हामीले हाम्रा यूवाहरुलाई कसरी नेतृत्व गरिरहेका छौ यो आजको अत्यन्तै महत्वपूर्ण यक्ष प्रश्न बनेर खडा भएको छ । यसको उत्तर कस्तो आउँदछ मूलतः त्यसले नै हाम्रो भबिष्य सही गलत कुन दिशामा छ भन्ने कुरा निर्धारण गर्दछ ।

यसमा निश्चय नै कुनै दुइ मत छैन कि नेपालको यूबा शक्ति सकारात्मक सोच राख्ने परिबर्तनकामी शक्ति मात्रै होइन, मेहनती र इमानदार शक्ति पनि हो । अनबरत काममा लागिरहने जीबन्त कुरामा बिश्वास गर्ने शक्ति पनि हो । सामाजिक कार्यमा पनि सक्रियतापूर्वक सहभागी हुने र हुँदै आएको शक्ति पनि हो । तर दुर्भाग्य हामीले देशमा हुदै आएका राजनीतिक परिवर्तन पछि यूवा शक्तिलाई देशको बिभिन्न क्षेत्रमा सही नीति, योजना र कार्यक्रमका साथ प्रयुक्त गर्न सकेनौ र सिकेनौ । बरु बिदेश पलायन हुन, गराउन बिभिन्न किसिमले प्रोत्साहित गर्दै र प्रश्रय दिदै आयौं । फलस्वरुप आज हाम्रा यूवाहरु अधिकाशतः खाडी, मलेशिया, कोरिया लगायत  बिश्वका बिभिन्न देशमा छरिएर रहेका छन् । उनीहरुको जीवनको एउटा महत्वपूर्ण उदेश्य कामको खोजीमा अर्थात् रोजगारीका लागि बिदेश जानु नै रहेको हुन्छ । अनि हाम्रो राष्ट्रिय आमदानीको एउटा महत्वपूर्ण हिस्सा करीब २८ प्रतिशत बिदेशबाट प्राप्त बिप्रेषण हुन्छ र हामी त्यसमा ठूलो गर्ब पनि गर्दछौ । भलै त्यो बिप्रेषण पुनः अरु कुनै देशमा त्यो भन्दा बढी परिमाणमा प्रबाहित किन भइरहेको नहोस् !

बास्तवमा हामीले यूवा शक्तिलाई देश र जनताप्रति सत्यनिष्ठाकासाथ समर्पित भएर सुझबुझतापूर्वक लाग्ने बातावरण बनाएनौ । बरु उत्ताउलो, हाहा हुहु गरेर सत्ता वा त्यसको वरिपरी घुम्ने खालको बनाउने काम गर्यौ र गरिरहेका छौं । यस क्रममा यूवा पिढीको एउटा तप्कालाई रातारात कमाउने भ्रष्ट प्रबृत्तिको बनाउन हामीले बाँकी राखेनौं । त्यसको दुष्परिणाम आज हामी राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हरेक क्षेत्रमा  देखिरहेका छौं र सुन्दर भबिष्य निर्माण गर्ने दीगो आधार तयार गर्ने भन्दा पनि ‘जो हात सो साथ’को बाटो लाग्न प्रेरित गरिरहेका छौ । यूवाहरुलाई सचेत किसिमले धैर्यबान, सौर्यबान र सच्चरित्रबान बनाउनेतिर हामी लागेनौ र लाग्ने कुनै सकेत पनि देखाइरहेका छैनौं ।

‘सत्य केही होइन, सत्ता सबै थोक हो’ भन्ने कुरा नै आजको हाम्रो सपना,बिपना र जपना बनेको छ । यो ‘दुइ नम्बरी काम गरेर रातारात धनी बन्ने’ प्रबृत्तिकै राजनीतिक आयाम नै हो । पछिल्लो परिबर्तन पछि संबिधान आएयता पहिलो र दोश्रो कार्यकालको सबै तहको चुनावको  बेला पनि यो प्रबृत्तिले धेरै नै प्रभाव पार्यो । त्यसले चुनावमा धान्नै नसकिने सीमाहीन खर्च भएको मूल प्रबाहका सबै दलहरु र तिनका नेताहरुले भन्न बाँकी पनि राखेनन् । तर त्यस्तो पैसा कसरी कहाँबाट आयो र खर्च भयो भन्ने प्रश्न भने उठाएनन् ।यस्तो प्रबृत्तिले आक्रान्त भएको शक्ति, संगठन, समूह कसैले पनि देश र जनताको साझा लक्ष, समुन्नति र समृद्धिको प्रतिनिधित्व गर्न सक्तैन । बरु यस्तो प्रबृत्तिले निहीत स्वार्थ भएको सानो समूहलाई नै क्रियाशील तुल्याउन सहयोग पुर्याउँदछ । जुन सामाजिक गम्भीर अधपत्तको बिल्कुलै गलत  बाटो हो ।

निश्चय नै बिज्ञान र प्रबिधिको द्रूत बिकासको हिसाबले भन्ने हो भने अहिलेको युग ‘इण्टरनेट पिढी’को युग हो । ई–ज्ञान, ई–काम र ई–आर्जनको आजको यो एक्काइसौ सदीको तेश्रो दशक आरम्भ भइसकेको युगमा हामीले यूबा समुदायलाई कस्तो बनाउनु र प्रस्तुत गर्नु पर्दछ यस दिशामा गम्भीर भएर सोचेनौ र सिकेनौ भने नेपाल र नेपाली जन समुदायले बिग्रह र बिनासको ठूलो बोझ बोकेर दशकौ बरालिनु पर्ने स्थितिबाट मुक्त हुन सक्ने छैन । यो आजको ज्वलन्त र तीतो सत्य हो । यद्यपि बर्षौंं बर्षदेखि नेपाली समाजमा भए रहेका अर्थ–राजनीतिक तथा साँस्कृतिक–सामाजिक बिकृति र बिसंगतिहरुलाई रातारात ‘छु मन्तर’ गरेर हटाउन सकिन छैन नै । तर समाजको यथार्थ बास्तबिकता बुझेको जागरुप, अनुशासित, संगठित र संघर्षशील यूवाहरुले त्यस्ता बिसंगतिहरुको अन्त्य गर्ने बिडो उठाउनु  पर्ने आवश्यकता छ । निश्चय नै इण्टरनेटको जमानको यूबा पिढी हरेक काम ‘कम्प्यूटर’ले जस्तै बैज्ञानिक ढंगले  छिटो, छरितो र किफायती किसिमले गर्न चाहन्छ । यसो गर्नु, गराउनु आजको युगीन आवश्यकता, दायित्व र सही पनि हो ।

तर जबसम्म आजको ‘इण्टरनेट’ र ‘कम्प्यूट’लाई देशको कृषि, उद्योग, बिद्यूतिकरण र पर्याबरणसँग अर्थात आम जनताका ज्वलन्त साझा सरोकारसँग गाँसेर त्यसलाई बहुसख्यक जनताको हितमा लैजान बैज्ञानिक, सामयिक र परिणामदायी ढगले प्रयुक्त गरिदैन तबसम्म समाजमा ब्याप्त बिभेद, बिषमता, बिभाजकारी प्रबृत्तिको अन्त्य गर्न सकिने छैन । अपबादलाई उदाहरण बनाएर सन्तोष मान्न सकिएला तर त्यो समाधानको मूल बाटो होइन । मूल बाटो त यूवाहरुलाई जगाउने, उठाउने र सही बाटो लगाउने नै हो । बिज्ञान र प्रबिधिलाई यूबा पिढीसँग र यूवापिढीलाई कृषि, उद्योग, बिद्यूतिकरण, पर्यावरण तथा सामािजक उत्तरदायित्व सहीतको शिक्षा र स्वास्थ्यसँग नयाँ उच्चाईकासाथ अघि बढाउन पुराना सन्दर्भहीन उत्पादन सम्वन्ध र उत्पादन पद्धतिबाट मुक्त हुनै पर्दछ । अन्यथा इण्टरनेट ज्ञानले पनि समस्या समाधान दिन सक्तैन र एउटा बिलाश र सोखको बस्तु मात्र भएर सीमित हुन पुग्दछ । अहिलेसम्मको चिन्तन, चरित्र र ब्यवहारले दर्शाएको अनुभवको महत्वपूर्ण निचोड  यही नै हाे । लेखक नेकपाका संयोजक हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया