भाद्र २३, २०८१ आइतबार September 8, 2024

‘सरकारी स्वास्थ्य संस्थाले क्षमता नबढाएसम्म निजीलाई पनि काम गर्न दिनुपर्छ’ : डा. भगवान कोइराला (अन्तवार्ता)

व्यवहारमा चाहिँ निजीलाई नाफाखोर र सरकार गजब भन्छन्, यी दुईवटै कुरा सत्य होइनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईं नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा हुनुहुन्छ । चिकित्सकलाई लाइसेन्स दिने काम काउन्सिलले नै गर्दै आइरहेको छ । बर्सेनि कति मेडिकल विद्यार्थी सहभागी हुन्छन् ? कतिले लाइसेन्स पाउँदै आएका छन् ?

मेडिकल काउन्सिलको काम पहिलेभन्दा केही साँघुरो भएको छ । पहिले विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजहरूको शैक्षिक गतिविधि पनि हेरिन्थ्यो अहिले चिकित्सा शिक्षा ऐन बनेपछि यो चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारतर्फ परेको छ । मेडिकल काउन्सिलले चिकित्सकहरूको क्षमता परीक्षण गर्दछ । अनि लाइसेन्स दर्ता हुन्छ । एक पटक दर्ता भएपछि पनि आवधिक रूपमा पुनः परीक्षित हुनुपर्ने मान्यता राखेर काम भइरहेको छ । चिकित्सले सेवा प्रदान गर्दा आचारसंहिता, मापदण्ड पालना भयो–भएन भनेर पनि नियमन गर्छौं । परीक्षा दिनेमध्ये कति फेल भइरहेका छन्, कतिले लाइसेन्स पाइरहेका छन् भन्ने प्रश्न उठ्न सक्छ । नेपालभित्रका विश्वविद्यालय वा प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थी पनि उल्लेख्य रूपमा फेल हुँदै आएका छन् । अब प्रश्न आउँछ— परीक्षा कडा गरिएको छ कि ? चाहिनेजति नै गरिएको छ त ? परीक्षा पूर्णतया कम्प्युटरबाटै हुन्छ । परीक्षाको सबै काम एउटा छुट्टै समितिले गर्छ । प्रश्नपत्रहरू यहीँका विश्वविद्यालय, प्रतिष्ठानका अध्यापकहरूको सहभागितामा बन्छन् । प्रश्नपत्र बैंक बनाइन्छ । त्यसमा सामान्य, मध्यम र थोरै जटिल प्रश्नहरू हुन्छन् । मेडिकल शिक्षा दिने सबैतिरका विज्ञहरू बसेर विद्यार्थीले जान्नैपर्ने प्रश्नपत्र बनाउँदै आएका छौं । अहिलेसम्म प्रश्न धेरै जटिल भयो भन्ने सुन्नमा आएको छैन ।

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा सक्कली डाक्टर रञ्जितकुमार यादवले प्रहरी हिरासतमा बस्नेसम्मको सजाय भोग्नुपर्‍यो । नेपाल मेडिकल काउन्सिलले गलत विवरण दिँदा यस्तो भएको भन्ने छ नि ?

मान्छेको परिचय चेक गर्नु महत्त्वपूर्ण विषय हो । हामीले छानबिन गरी रेकर्ड पठाउने क्रममा प्रविधिको त्रुटिका कारण यस्तो भएको रहेछ । एउटै नाममा दुइटा फाइल रहेछन् । पठाउनुपर्ने फाइलसँगै अर्को फाइलको पनि पाना मिसिन जाँदा त्रुटि भएको हो । हामीले त्रुटि पत्ता लगाएर फेरि यस्तो नदोहोरिने व्यवस्था मिलाइसकेका छौं । यो त्रुटिका लागि काउन्सिल दुःख व्यक्त गर्छ । प्रहरीले पनि मान्छे पक्राउ गर्दा परिचयको दोहोरो प्रमाणीकरण गर्नुपर्ने थियो ।

उच्च शिक्षामा करिब दुई दर्जन शिक्षणसंस्थाले चिकित्सा शिक्षा पढाउँदै आएका छन् । तपाईंसँग स्वदेश र विदेश अध्ययनको अनुभव छ । वर्तमान अवस्थामा स्वदेश र विदेशको मेडिकल शिक्षाको गुणस्तरको भिन्नता कस्तो पाउनुहुन्छ ?

सामान्यतः पछिल्लो समयमा हाम्रो शिक्षाको गुणस्तरमा केही सुधार हुँदै आएको छ । हाम्रो मेडिकल शिक्षा दक्षिण एसियाका देशहरूमध्ये राम्रो नै मान्छु । यहाँभित्र विविधता पनि छ । हाम्रो देशको कुनै विश्वविद्यालय अति राम्रो छ, केही कमजोर छन् । हाम्रोमा पनि सुधार गर्नुपर्ने कुरा धेरै छ । विदेशमा पढेर आउनेसँग पनि काउन्सिलले परीक्षा लिन्छ । विदेशमा एमबीबीएस पढेकाहरूचाहिँ दुभार्ग्यवश खास ज्ञान र सीप सिकेर नआउने धेरै देखिएको छ । घोकन्ते ज्ञान लिएर आएका हुन्छन् । तर बिरामीको सान्दर्भिकतासहित क्लिनिकल सीपसँग जोडेर जाँच लिन थाल्दा उनीहरूलाई गाह्रो पर्न थालेकोछ ।

डाक्टर भएर लाइन्सेस पाएपछि सामान्यतया सबै खाले रोगको उपचार गर्न जान्नुपर्‍यो । न्यूनतम ज्ञान र सीपबिना जनताको उपचार गर्ने लाइसेन्स हामी दिँदैनौं । जुनजुन कलेजमा राम्रो पढाइ हुँदैन, त्यहीँत्यहीँका बढी फेल हुने एउटा प्रवृत्ति नै छ । सामान्यतया नेपालभित्र पढेकाहरू फेल हुने संख्या कम छ, बाहिर पढेर आउने बढी फेल हुन्छन् । प्रत्येक परीक्षामा फेल हुनेको संख्या बढेपछि पुनः परीक्षा दिनेको संख्या स्वतः बढ्छ । त्यसले पनि फेल हुनेहरूको प्रतिशत बढी देखिन्छ ।

नेपालको मेडिकल शिक्षा दक्षिण एसियाकै राम्रो छ, विदेशबाट पढेर आउने विद्यार्थी बढी फेल हुन्छन् भन्दै हुनुहुन्छ । अर्कोतर्फ, अन्य विषयमा जस्तै मेडिकल शिक्षा पढ्न पनि धेरै विद्यार्थी विदेश जाने गरेको आँकडा छ । उनीहरू रहरले गएका हुन् कि, भर्ना हुने सिट संख्या नभएर हो ?

चार–पाँच वर्षअघिसम्म एमबीबीएस पढ्न विदेश जाने नेपालीको संख्या अत्यधिक थियो । एनओसी लिनेको संख्या प्रतिवर्ष १४/१५ सय हुन्थ्यो । चिकित्सा शिक्षा ऐन आएपछि न्यूनतम मापदण्ड नभई बाहिर जान नपाइने भयो । त्यसपछि विद्यार्थीको संख्या स्वाट्टै घटेको छ । विद्यार्थीको डाक्टर बन्ने चाहना एकै चोटि घटेको त होइन होला । यसको अर्थ पहिले न्यूनतम मापदण्ड पनि नभएकाहरू डाक्टरी पढ्न विदेश जाने गरेका थिए । अहिलेचाहिँ न्यूनतम ज्ञान, सीप र क्षमता भएका मात्रै जान्छन् । अहिले पनि हरेक वर्ष ४/५ सय जना गइराखेका छन् । डाक्टर भइसकेपछि पनि देशमा बस्न–टिक्न नचाहेको–नसकेको सन्दर्भ पनि छ, त्यो अर्कै कुरा हो । विदेश पढ्न जानबाटा शतप्रतिशत रोक्न सकिने हुँदैन । खालि न्यूनतम मापदण्ड पूरा गरर गएको छ कि छैन भन्ने हेर्नुपर्छ । चिकित्सा ऐनको आशय पनि त्यही हो । यसले राम्रै नतिजा पनि दिएको छ । विदेश जानेको संख्या किन घटाउन सकिँदैन भन्ने प्रश्नको उत्तरचाहिँ त्यति सजिलो छैन । दुई–चारवटा मेडिकल कलेज थपेर, सिट संख्या बढाएर विदेश जानेलाई रोक्न सकिएला त ? त्यो ठोकुवा गरेर भन्न सकिने आधार कमै छ । किनकि त्यो मान्छेको रोजाइ, स्वतन्त्रता लगायत विविध कुरामा भर पर्छ ।

नेपालमा चिकित्सा विधाको जनशक्तिको शिक्षा, गुणस्तर, उपलब्धता र रोजगारीको अवसरको तालमेलचाहिँ कस्तो छ ?

१०–२० वर्षदेखि सरकारी संस्थाहरूमा दरबन्दी थप नहुँदा अवसर साँघुरो हुने नै भयो । प्रदेश तहमा करार दरबन्दी केही थप भएका छन् । सरकारी दरबन्दी थप नहुने, अर्कोतर्फ निजी क्षेत्रतर्फ पनि धेरै रोजगारी थप हुने, नयाँ अस्पताल खुल्ने देखिएको छैन । युवा डाक्टरका लागि नेपालभित्र सम्भावना कमजोर बन्दै गएकै छ । उत्पादनको दाँजोमा अवसर र रोजगारी कम छ । त्यसले गर्दा कोही अझै उच्च र विशेषज्ञ सेवा पढ्न थाल्छन्, कोही विदेश जान खोज्छन् । अमेरिका, क्यानडा, बेलायत कहाँ अवसर छ, त्यहीँ जान खोज्छन् । सरकारी संस्थामा दरबन्दी खुलाउनु र निजी क्षेत्रलाई समेत विकसित हुन दिनु नै यो समस्या समाधानको उपाय हो । जनताको स्वास्थ्य मूलतः सरकारकै दायित्व हो भनिन्छ, तर सेवा दिने काम सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट समेत भइरहेको छ । हाम्रोमा ३० हजार डाक्टर छन्, जबकि सरकारी दरबन्दीमा १५ सयदेखि २ हजारसम्म मात्रै छन् । २८ हजार डाक्टर बाहिर छन् । तिनलाई ठीकसँग जनताको सेवामा लगाउनुपर्छ । सहकार्यको सही मोडल लागू गर्ने सरकारको काम हुनुपर्छ । त्यसमा सरकारले ध्यानमा दिन सकेको देखिँदैन ।

हाम्रोमा चिकित्सा शिक्षा र स्वास्थ्यको सुधारका क्षेत्रमा ठूलठूला अभियान, सम्झौता र सहमति भए तथा कानुन नै बन्यो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ जारी भएकै पाँच वर्ष र चिकित्सा शिक्षा आयोग गठन गरी ऐन कार्यान्वयनको सुरुआत गरिएकै चार वर्ष भयो । ऐन कार्यान्वयनको अवस्था र आयोगको भूमिका कस्तो पाउनुभयो ?

सन् १९९१ देखि चिकित्सा शिक्षामा निजीकरण सुरु भयो । चिकित्सा शिक्षाका क्षेत्रमा नेपालमा ठूलो विकृति थियो । नियमनको प्रणाली नबनाई खुला गर्दा विकृति आए । कडा कानुन र कदम नचालेसम्म यसमा सुधार हुनेवाला थिएन । चिकित्सा शिक्षा खुला बजार होइन, नियमन गर्नु जरुरी देखेरै ऐनको माग भयो । कानुन बनाउन सुझाव दिनेमा मेरो पनि सहभागिता थियो । मेडिकल कलेजमा मेरिटका आधारमा भर्ना हुनुपर्छ, पैसा तिरे पनि नतिरे पनि भर्ना मेरिटमा हुने असाध्यै राम्रो कुरा छ । अर्को, एकीकृत प्रवेश परीक्षामा राम्रो काम भएको छ । यो सकारात्मक छ । तर छनोट, भर्ना केन्द्रीकृत गर्दा व्यवस्थापकीय समस्या पनि देखिएको छ । यसलाई निराकरणको उपाय निकाल्नुपर्छ ।

मेडिकल शिक्षा पढ्न विदेश जाने र आउनेले न्यूनतम मापदण्ड पूरा गर्नुपर्छ । यो पनि ठीकै हो । त्यो नभए त धेरै जना रहरले डाक्टर पढ्न जाने रहेछन् । जनताको ज्यानसँग सम्बन्धित कामकुरा रहरले मात्र हुँदैन, न्यूनतम मापदण्ड पूरा हुनैपर्छ । अर्को, शुल्क अचाक्ली थियो । पैसाको पोको फालेर भर्ना हुने चलन थियो । ऐनले शुल्क नियन्त्रणको कुरा पनि गरेको छ । शुल्क तोक्न, पारदर्शी गराउन जरुरी थियो, त्यो भएको छ । एक थरी घाटा भयो भन्दै छन्, अर्को थरी महँगो भयो भन्दै छन् । यसमा छलफल गर्न सकिन्छ । यी कुरा हुँदा मूलतः चिकित्सा शिक्षामा सुधार आएको छ । तर यहाँ समस्या पनि छ । व्यवस्थापकीय हिसाबले केन्द्रीय र शक्तिशाली निकायको कल्पना गरियो, त्यो बेला चाहिएको पनि थियो, तर हाल केही व्यावहारिक कठिनाइ देखिएका छन् । सबै कुरा केन्द्रित गरेपछि त्यो निकाय प्रभावकारी हुनुपर्‍यो कि परेन ? काठमाडौंमा हाललाई मेडिकल कलेज रोकौं र विकेन्द्रीकरण गरौं भन्ने कुरा थियो । त्यो पनि राखियो, कसैलाई ठूलै चोट पुग्यो ।

मेडिकल शिक्षामा क्यालेन्डर पनि लागू नहुने भएको छ । चिकित्सा शिक्षामा चाहिने नयाँ जनशक्तिका लागि विश्वविद्यालयलाई प्रोत्साहन गर्नुपर्ने हाम्रो मुख्य सुझाव थियो । शिक्षा र स्वास्थ्य मन्त्रालयको समन्वय गर्न छुट्टै निर्देशनालय नै बनाइएको छ, काम भने भएको देखिँदैन । ७५३ वटा अस्पताल एकैचोटि बन्दै छन् । स्वास्थ्य मन्त्रालयले जीपी (जनरल प्राक्टिस) को दरबन्दी राखेको खै ? उनीहरूको तालिमका लागि शिक्षण संस्थाहरूलाई प्रोत्साहित गर्नुपर्‍यो । जनशक्ति कति चाहिन्छ, त्यसको कुनै लेखाजोखा छैन । नर्सिङ जनशक्तिको संकट देखिएको छ । कतिपयले यही कारणले आयोगलाई नै खारेज गरौं भनेका छन् । तर, बच्चाले डाइपरमा आची गर्‍यो भने बच्चा फाल्ने कि डाइपर ?

तर, ऐन र आयोगप्रति विश्वविद्यालय, प्रतिष्ठान, सीटीईभीटी, मेडिकल कलेज सञ्चालक सन्तुष्ट देखिँदैनन् । खासमा नियमन गर्न ल्याइएको ऐनले ॅबन्ध्याकरण’ नै गर्‍यो भन्ने आरोप छ नि ?

यो ऐनको दोष हैन, कार्यान्वयन गर्ने विधि र तरिकाले गर्दा हो । धेरै नियमन कसैले रुचाउँदैन । बुझ्नुपर्ने कुरा के हो भने, स्वायत्तता र जिम्मेवारी वहनबीचको सन्तुलन हामी सबैले आफ्नो अनुहारमा हेर्नुपर्छ । विश्वविद्यालय र आयोगले पनि यो कुरा हेर्नुपर्छ । आयोग आएपछि विश्वविद्यालयको अधिकार अलि कटौती भयो भन्ने छ । पहिले पनि विश्वविद्यालयको नियमन काउन्सिलले गर्दै आएको थियो, सिट तोकेकै हो । लागू गर्ने पात्र सही हुन्छन् भन्ने विश्वासले ऐन लेखिएको हुन्छ । लागू गर्ने मानिसको नियत पनि असल नै हुनुपर्छ । आयोगले न्यूनतम पाठ्यक्रम बनाइदिन सक्छ । त्यसलाई सुधार गर्ने अधिकार विश्वविद्यालयलाई हुनुपर्छ । सिट विश्वविद्यालयले नै प्रस्ताव गरेर पठाउनुपर्छ । त्यो मिल्यो कि मिलेन भनेर क्रसचेक आयोगले गर्न सक्छ ।

अर्को, सीटीईभीटीसँगको कुरा नियन्त्रण र नियमनको होला । सीटीईभीटीको अस्तित्व मेडिकल शिक्षामा छँदै छैन भन्ने म देख्दिनँ । ऐनले पनि साइजमा राख्ने कुरा गरेको छ । नर्सिङ र प्यारामेडिसिनमा धेरै विकृति थियो । त्यही विकृति भएका कारणले पहिलेको कानुनी प्रावधान परिवर्तन गरियो । नेपाल सरकारका लोगोधारी दुई अड्डाबीच पत्रिकाबाजी हुनु अलि चर्कै भएन र ? यो राम्रो भएन । सीटीईभीटीले जिम्मेवार तरिकाले ऐनको मर्म बुझ्नुपर्छ । आयोगले पनि सीटीईभीटीको अस्तित्व शून्य गर्न खोज्नु हुँदैन । आयोगले सीटीईभीटीलाई काम लगाउन सक्छ ।

नर्सिङको समस्या सल्टाउनुपर्छ । ऐनलाई सच्याएर भए पनि नेपालमा नर्सिङ उत्पादनलाई गुणस्तरयुक्त, संख्यात्मक र गुणात्मक रूपले वृद्धि गर्नुपर्ने दिन आएको छ । हामीले त्यति बेला १ लाखजति नर्सिङ जनशक्ति बेरोजगार छन् भनेर उल्लेख गरेका थियौं । नर्सिङ काउन्सिल र एसोसिएन पनि त्यही भन्थे । अहिले त ३ महिनाभन्दा बढी काम गर्ने नर्स पाउनै गाह्रो भयो । यहाँ त अस्पताल नै बन्द हुने र सेवाहरू नै अवरुद्ध हुने अवस्था आइसक्यो । सय बेडको अस्पतालमा ४० सिटको नर्सिङ भनियो, त्यो धान्नै सकिँदैन । आयोगको कार्यकारी निर्णयले पनि यो कुरा मिलाउन सकिन्छजस्तो लाग्छ ।

तपाईंले भनेजस्तै पीसीएल नर्सिङ पढाइ गर्न आफ्नै एक सय बेडको अस्पताल चाहिने, प्रमाणपत्र र स्नातक नर्सिङ एउटै शिक्षण संस्थाले पठनपाठन गर्न नपाउने कानुनी व्यवस्थाले धेरै नर्सिङ कलेज बन्द भएर समग्रमा नर्सिङ जनशक्ति उत्पादनमा कमी आएको देखिन्छ । यो गाँठो फुकाउने तरिका के हुन सक्ला ?

ऐनमा एक सय बेडलाई घटाएर लैजाने भनिएको दफाको धेरै प्रयोग भइसक्यो । त्यसबाट धेरै जना ग्र्याजुएट भइसके । यसलाई फर्काएर लैजाँदा लफडा हुन्छ । मेरो व्यक्तिगत विचारमा, त्यत्रो संरचना बनाइसकेपछि त्यहाँ धेरै जानले तालिम लिन सक्ने अवसर खोलिदिए भइहाल्छ । प्रमाणपत्र र स्नातक एकै ठाउँमा हुँदै हुँदैन भनेर कहाँ लेखेको छ ? विश्वविद्यालयले स्नातकदेखि माथि हेर्नु एकदम सही हो । सीटीईभीटीले पीसीएल (प्रमाणपत्र) सम्म हर्ने भनिएको हो । त्योभन्दा तल डिग्री कोर्स नचलाउने भनिएको हो । तालिम नदेऊ, फार्मेसी चलाउने तालिम नचलाऊ भनेको होइनÙ अहेब, अनमीको कोर्स नचलाऊ मात्र भनिएको हो । किनकि अब स्वास्थ्य मन्त्रालयले पनि यस्तो जनशक्ति नलिने भनेको छ त्यो पनि गल्ती छैन । दुईवटा निकायले एउटा सुविधाभित्र नियमन गरेर पढाउन नदिँदा नै यो झमेला भएको हो । यो मिलाउन कानुनले छेक्छजस्तो मलाई लाग्दैन । देशलाई जनशक्ति अभाव भयो भने देशको आवश्यकता अनुसार सिट संख्या बढाउनु जायज नै हुन्छ । आवश्यकता पनि छ । यिनै दुई फर्मुलाबाट अहिलेको संकट सुल्झाउन सकिन्छ । अर्को कुरा, सिट संख्या ४० हुन्छ भनेर कुन देवताले ढुंगामा लेखेर पठाइदिएका हुन् ? एक सय बेड बनाउन, फ्याकल्टी बढाउन, शैक्षिक सामग्री बढाउन केके चाहिन्छ बढाऊ । राखौं । ५० बेडको अस्पताल सय बेडको भएपछि सिटचाहिँ ४० को ४० ? देशलाई जनशक्ति अभाव भयो भने अलिकति सहजीकरण गरेर नर्सिङको सिट संख्या हेर्न सकिँदैन ? सिट त ऐनमा तोकिएको छैन ।

तथ्यांक हेर्दा पीसीएल नर्सिङ पढ्छु भन्दा पनि भर्ना हुन सिट नपाउने, स्नातक (बीएससी नर्सिङ) तर्फचाहिँ सिट खाली नै रहने कसरी भयो ?

म आयोगको परीक्षामा त संलग्न छैन तर मलाई लाग्छ, यो परीक्षा प्रणालीसँग सम्बन्धित छ । नर्सिङलाई पनि एमबीबीएससँगैको परीक्षामा हालिएको छ । त्यसपछि मान्छे परीक्षामा जाँदैन । एमबीबीएससँगै बसेर जसले नर्सिङ पास गरेको हुन्छ, त्यसले अमेरिका, बेलायत, अस्ट्रेलिया ताकेको हुन्छ । परीक्षा प्रणालीमा अलि सुधार गर्नुपर्छजस्तो लाग्छ । आवेदन दिनेको संख्या बढ्यो भने भर्ना हुनेको संख्या बढाउन सकिन्छ । टपर–टपर मात्र लिन्छु भन्यो भने त टपरहरू देशमै बस्न चाहेका छैनन् भन्ने कुरा पनि बुझ्नुपर्‍यो । सबै टपर चाहिन्छ भन्ने पनि छैन । सबै टपर डाक्टर पनि हुँदैनन् । बिरामी रुचाउने अरू पनि हुन्छन् । यो हाम्रो मात्र होइन, दुनियाँकै कुरा यही हो । आवेदन दिनेको संख्या बढ्यो भने भर्ना हुनेको संख्या बढाउन सकिन्छ कि ? अलिकति व्यावहारिकता पनि हेर्नुपर्छ ।

आयोग र ऐनसँग जोडेर वा यसको कारणले पनि विद्यार्थी विदेश गए भन्ने गुनासो सुनिन्छ नि ?

यो दोष ऐनलाई नदिऔं । छात्रवृत्तिमा पढाउन थाल्नुलाई कसरी गल्ती भन्नु ? पास गरेका मान्छेलाई व्यवस्थित गर्न नसक्दा ती विदेश गए होलान् । तालिमै गर्न नपाउने ठाउँमा पठाउँदा विद्यार्थीहरू आत्तिएका होलान्, यो अर्को विषय छ । निजीहरूको छटपटी त पैसा कम भएर पनि भएको हो । अहिले आएर शुल्क र सिटको मार बिरामीको थाप्लोमा गएको छ । त्यो शुल्क आवधिक रूपमा समायोजन गर्ने हिम्मत पनि गर्नुपर्छ । शुल्क समसामयिक भएपछि गर्दिनुपर्छ । मेडिकल कलेजहरूलाई बिमाबाट पनि हटाइदिएपछि त्यसको मार पनि जनतालाई परेको छ । सरकारी अस्पतालले मात्र देशभरका जनताको सेवा गरेर भ्याउने अवस्था छैन ।

त्यसो भए चिकित्सा शिक्षा कानुनमा समस्या नै छैन ? अहिले उठिरहेको संशोधन माग सम्बोधन गर्नुपर्दैन ?

चिकित्सा शिक्षा ऐनमा समस्या छ, नियुक्तिको प्रक्रियादेखि नै समस्या छ । कार्यकारी उपाध्यक्षको उमेरहद ६५ वर्ष तोकिएको छ, डाक्टरी गर्न नपाउने लेखिएको छ । सरकारी जागिर पनि नहुने लेखियो । राम्रो अभ्यास गरिराखेको, राम्रो सीप भएको मान्छे र अर्को निकायमा भएको मान्छे त्यहाँ जाँदैन । ६५ वर्षसम्म प्रवेश हुन पाउने व्यवस्था गरिनुपर्छ । २०८५ सालसम्म निजी मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान पनि विवादित छ । हिसाबकिताब छैन । अध्ययन गरेको छैन । कसले जिम्मा लिने होला ? क्षतिपूर्ति कसले दिने हो ? कुन कानुनले कब्जा गरेर गैरनाफामूलक बनाउने हो ? कुन ऐन अन्तर्गत सार्ने हो ? सरकारीकरण गर्ने हो कि के गर्ने हो ? लेखाजोखाबिनै ऐनमा दफा छिराइयो ।

कलेज र प्रतिष्ठानको फरक छुट्ट्याउन नसकेको बुझ्छु म । प्रतिष्ठान भएको ठाउँमा फेरि मेडिकल कलेज भन्नु तुकको कुरा होइन । प्रत्येक प्रदेशमा प्रतिष्ठान खुल्नुपर्‍यो । सबै जिल्लामा मेडिकल कलेज लैजाने कुरामा म सहमत छैन । अर्को, २०८० सालसम्म प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो, यो पनि प्रस्ट छैन । ऐन संशोधनको प्रस्ताव गरेको डेढ वर्षजति भयो, शिक्षा मन्त्रालयमा फाइल अड्केर बसेको छ । संशोधन गर्न पाए अहिलेका अप्ठ्याराहरू धेरै खुल्छन् । व्यवहारमा चाहिँ निजीलाई नाफाखोर र सरकार गजब भन्छन्, यी दुईवटै कुरा सत्य होइनन् । निजीमा पनि समस्या छन््, सरकारीमा पनि । सबै सरकारीले सम्हाल्दिन सके देश गज्जब हुन्थ्यो, तर सम्भव देखिँदैन । म निजीको पक्षधर भएको होइन, तर आफ्नो क्षमता नभएसम्म स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रलाई पनि काम गर्न दिनुपर्छ । उनीहरूको समस्यामा सरकारले मध्यस्थता गरिदिनुपर्छ ।

ऐन संशोधनको कुरा त उठ्दै आएको छ तर चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका नेतृत्वकर्ता प्राध्यापक डा. गोविन्द केसीहरू मेडिकल शिक्षा प्रदायकहरूलाई ‘माफिया’ देख्छन् अनि सेवाप्रदायकहरू केसी र पक्षधरहरूलाई नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र ध्वस्त पारेर‘विदेशी पोस्ने एजेन्ट’ का रूपमा ध्रुवीकृत गर्छन् । साझा विन्दुमा आउन कसरी सम्भव होला ?

यहाँ दुईवटा अतिवाद चलिरहेका छन् । पहिले निजीको अतिवादले गर्दा यो ऐन जन्मियो । चिकित्सा शिक्षा र स्वास्थ्यमा खुला व्यापार गर्न दिनुपर्छ भन्ने रबैया पनि ठीक होइन । यो संवेदनशील विषय हो । नियमन हुनैपर्छ । कतिपय नेताले पनि यो कुरा मान्दैनन्, निजीको शुल्क किन तोक्ने भन्ने खालका तर्क पनि गर्छन् । सरकार एक्लैले धान्न सक्ने अवस्था पनि छैन । अर्कोतिर, केही साथीहरू प्राइभेट भनेको निमिट्यान्नै पार्नुपर्छ, सरकारले सबै ठेक्का लिनुपर्छ भन्ने मान्नुहुन्छ । शुल्क पारदर्शी बनाऔं । नियमन गरौं ।

अतिवाद काम लाग्दैन, अहिले सरकारीकरण पनि हुँदैन । चल्न दिँदा पनि चल्न सक्ने गरी नियमन गर्नुपर्छ । नत्र त कि विकृति आउँछ कि ती बन्द हुन्छन् । बन्द भएर नर्सिङको जस्तो संकट आउन पनि दिनु भएन । मध्यमार्गी बाटो नै उपयुक्त हुन्छ ।

चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्षका लागि सरकारले दरखास्त आह्वान गरेको छ । तपाईंको विचार के छ ? प्रस्ताव आए के गर्नुहुन्छ ?

म उपाध्यक्ष बन्ने दौडमा खासै छैन । सबैका लागि मेरो प्रश्नचाहिँ छ । चिकित्सा शिक्षा सुधारको इमानदार प्रयास गर्ने हो कि होइन ? त्यसका लागि इच्छाशक्ति र आवश्यक क्षमता छ कि छैन ? पहिले यी कुराको निर्क्योल हुनुपर्छ । यी कुराको जवाफ आयो भने विचार गर्न सकिन्छ ।

कोभिड महामारीको सामना गरेर आयौं । अझै स्वास्थ्य क्षेत्रमा लगानी अनुसार प्रतिफल नपाएको, स्वास्थ्य संस्थामा आधुनिक उपकरण र विशेषज्ञक चिकित्सक अभाव, सर्ने तथा नसर्ने रोगहरू, कुपोषण, दुर्घटना तथा विपद्जन्य समस्या देखिन्छन् । फेरि पछिल्लो पटक मानसिक स्वास्थ्य, आँखा पाक्ने रोग लगायतका स्वास्थ्य समस्या बढ्दै गएको पाइन्छ । समग्र स्वास्थ्य समस्या र जटिलताहरूको सामना कसरी गर्ने ?

हामीमा पहिलेदेखि नै समस्या छ । स्वास्थ्य क्षेत्र पहिले राम्रो भएर अहिले बिग्रेको होइन । पछिल्लो समय स्थानीय तहहरूले पनि पहलकदमी लिइरहेको देखिन्छ तर उनीहरूको क्षमता पुगेको छैन । अहिलेको सबैभन्दा ठूलो चुनौती केन्द्रीय सरकारको नियमनकारी भूमिकामा रहेको संवैधानिक व्यवस्थालाई सेवाप्रदायकको रोलमा कसरी लैजाने भन्ने हो । व्यवस्थापकीय र संवैधानिक कुरामै पुनः परिभाषित गर्नुपर्ने देख्छु । सरकार र गैरसरकारी निकायबीच समन्वयमा पनि कमी देख्छु । तीन तहका सरकारबीच पनि लडाइँ–झगडा मात्रै देखिन्छ । त्यसलाई मिलाउन राजनीतिक तहमा बृहत्तर छलफलको जरुरी देख्छु । गैरनाफामूलक संस्थाहरूलाई सरकारले आफ्नो साझेदार सेवाप्रदायकका रूपमा अघि सार्दै जानुपर्छ । केन्द्रीय सरकारले अब एउटा मोडल सोच्नुपर्छ । पालिका तहमा कसरी समन्वय गर्ने, प्रभावकारी कसरी बनाउने, निजी र गैरसरकारीसँग समन्वय कसरी गर्ने भनेर सोच्नुपर्छ । निजी र गैरसरकारी क्षेत्रमा राम्रो गरिराखेका संस्थाहरूसँग समन्वय र सहकार्य गर्न सरकारले लाज मान्नु हुँदैन ।

मुटुको सेवा लिन भनेपछि सर्वसाधारणदेखि भीआईपीसम्म गंगालाल अस्पताल वा त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी धाउँछन् । अन्य विधाका यस्तै खालका सरकारी स्वास्थ्य संस्था किन बन्न सकेनन् ? अरू सरकारी अस्पताललाई सफलताको सूत्र केही छ ?

सरकारी अस्पताल पास र फेल किन हुन्छन्, जित–हार कसरी हुन्छ भन्नेबारे मेरो पुस्तक ‘हृदय’ मा पनि उल्लेख छ । कुनै अड्डाको प्रमुख भएर जानु भनेका सेवाका लागि हो कि लाभ लिनका लागि, त्यसमा स्पष्ट हुनुपर्छ । व्यावहारिक, इमानदार र दूरगामी पनि हुनुपर्छ । यी कुरा भए भने धेरै काम गर्न सकिन्छ । निहित स्वार्थले गर्दा उपकरण किन्ने, भवन बनाउने क्याम्पेन नै चल्छ । व्यवस्थापकीय क्षमता नभएका मान्छेलाई कार्यकारी भूमिका दिँदा पनि धेरै नै बिग्रेको छ । कम से कम प्रशासकीय तालिम नगराई कसैलाई पनि नियुक्ति दिनु हुँदैन । दुई हप्तादेखि चार हप्तासम्मको तालिमबाट यी कुरा दिन सकिन्छ । सानातिना त्रुटिबाट ठूलो क्षति बेहोर्नुपर्छ । स्वास्थ्य सेवामा ढिलाइलाई सुधार गर्नुपर्छ, चुहावट नियन्त्रण गर्न सक्नुपर्छ ।

बालबालिका अस्पताल स्थापनाको अभियानमा पनि हुनुहुन्छ । त्यो काम कहाँ पुग्यो ?

मेरो २५/३० वर्षको अनुभवले मलाई दिएको पाठ बाल अस्पतालको आवश्यकता हो । हाम्रोमा जुन हिसाबले बालबालिकाको उपचार भइरहेको छ, त्यो पर्याप्त छैन । सरकारकै कामलाई सहयोग गर्न नै गैरसरकारी मोडलमा काम सुरु गरिएको छ । सरकारको पनि सहयोग छ । काठमाडौंमा भवन निर्माण कार्य जारी छ । ओपीडी भवन त सकिन लाग्यो । कोशी प्रदेशमा तीन महिनादेखि अस्पताल सञ्चालनमा आएको छ । सुदूरपश्चिमबाट पनि माग आइरहेको छ । अर्को चरणमा त्यहाँ जान्छौं । काठमाडौंमा एक–डेढ वर्षमा सक्छौं । सबैको सहयोग चाहिएको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तारूढ दलका शीर्ष नेताहरुबीच समसामयिक बिषयमा छलफल
२०८१ भाद्र २३, आइतबार
प्रहरीका कानुनलाई परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन
२०८१ भाद्र २३, आइतबार
पार्टी सङ्गठन विधानअनुसार चलाउनुपर्नेमा जोड
२०८१ भाद्र २३, आइतबार
श्री एयरको काठमाडौं-पोखरा उडान अफर : एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा
२०८१ भाद्र २३, आइतबार
भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित
२०८१ भाद्र २३, आइतबार
‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’
२०८१ भाद्र २३, आइतबार
प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन मन्त्री भट्टराईको निर्देशन
२०८१ भाद्र २३, आइतबार