वैशाख १५, २०८१ शनिबार April 27, 2024

कांग्रेसको गाउँ जागरण अभियान : डा. सुरेश आचार्य

नेता भएर सत्ताको स्वादमा मात्र रमाउनेले नागरिकको दुःख र पिरमर्कालाई आफ्नै आँखाले हेर्न पाउने छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

समुदायमा कांग्रेस अभियानका लागि यतिबेला नेपाली कांग्रेसका नेता कार्यकर्ता जिल्ला फर्कने क्रममा छन् । हिमाली १० जिल्लाबाहेकमा सञ्चालन हुन लागेको यो अभियानमा कांग्रेसले हरेक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । सभापतिदेखि सहमहामन्त्रीहरू भने केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छैनन् । यहीँ अभियानलाई जोडेर पार्टी महामन्त्री गगनकुमार थापाको मेचीदेखि महाकालीसम्मको संवाद यात्रा पनि सँगसँगै सुरु भएको छ । मूलतः पूर्वपश्चिम राजमार्गकेन्द्रित महामन्त्रीको यो कार्यक्रमले तत्तत् क्षेत्रमा समुदायमा कांग्रेस अभियानको मूल्याङ्कनसमेत गर्ने छ ।

माघ १२ गते पार्टीको स्थापना दिवस मनाएको कांग्रेसले १३ गतेबाटै यो अभियान थालेर साङ्गठनिक सक्रियता देखाएको छ । कांग्रेसका अनुसार, जिल्लामा खटिएका प्रतिनिधिले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्ने छन् । जे जस्तो शब्दावलीको प्रयोग भए पनि १५ गतेसम्म केन्द्रीय प्रतिनिधिलाई जिल्लामा पुग्न दिएको बाटो म्याद हो । १६ गते सहिद दिवसका दिन देशभरका हरेक वडामा कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियानको औपचारिक प्रारम्भ गर्ने छ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गत निरन्तर विभिन्न कार्यक्रम हुने छन् । कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवससमेत जोडेर माघ २६ गते यो अभियान समापन हुने छ ।

अभियानको क्रममा महामन्त्री थापाको संवाद यात्रा त्यहाँबाट सुरु भएको छ, जो कांग्रेसका अर्का महामन्त्रीको राजनीतिक थलो हो । यति मात्र होइन, कुनै बेला कांग्रेसभित्र गगन थापाले आफ्नो नेता मानेको कृष्णप्रसाद सिटौलाको गृह जिल्ला पनि यहीँ हो । कांग्रेसमा गुटको राजनीतिलाई राजनीतिको स्थायी आधार र आन्तरिक राजनीतिको भोट बैङ्क ठान्ने गरिँदै आएको छ । गुटभित्र रमाउने सबै सधैँ एउटै गुटमा अडिएका छैनन् । झापा पुग्नु भएका गगन र झापाकै विश्वप्रकाश र कृष्ण सिटौला यतिबेला फरक फरक गुटमा हुनुहुन्छ । त्यसैले गगनको कार्यक्रममा विश्वप्रकाश र सिटौलाको उपस्थिति समाचारको मसला बन्ने गर्छ । नभन्दै मिडियाले समाचार बनायो : समुदायमा कांग्रेस अभियान अन्तर्गत महामन्त्री गगनको यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश र पूर्वमहामन्त्री बिहीबार मात्रै राष्ट्रिय सभा निर्वाचनमा सदस्य निर्वाचित सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको छ ।

महामन्त्री थापाको संवाद यात्राको प्रारम्भको यो समाचार यसरी बन्नु पर्ने विषय थिए तर बन्नु पर्ने कारण थियो । यी सबै नेता कांग्रेसकै हुन् र उत्तिकै जिम्मेवार नेता पनि हुन् र पनि, उनीहरू एउटै फोरममा उभिएलान् भन्ने आशङ्का कांग्रेस कार्यकर्ताको मनमा थियो । समाचार बनाउने पत्रकारका मनमा त झन् धेरै थियो । त्यसैले यो समाचार यसरी नै बन्यो । यसरी बन्नु पर्ने कारण अरू नभएर नेताहरू आफैँ हुन् । नेताहरूको गुटभित्र रमाउने र अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति हो । समाचार यसरी नै बनिरहँदा समुदायमा कांग्रेस अभियानले एउटा सकारात्मक सन्देश दिएको छ । त्यो हो ः कांग्रेस सङ्गठन निर्माणका लागि र नागरिकका समस्या सुल्झाउन एक ठाउँमा उभिन सक्छ र उभिन्छ । ७७ जिल्लामा कांग्रेसले यो सन्देश लिएर जान सक्यो भने यो अभियानको सबैभन्दा ठुलो उपलब्धि यही हुने छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत कांग्रेस कार्यकर्ताले हरेक टोल र वडामा वृक्षारोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित वा वडाले तय गरेका अन्य कुनै न कुनै सामाजिक अभियान सञ्चालन गर्ने छन् । कांग्रेसको यो अभियानले चुनावमा मात्र भोट माग्न आउने भनेर आरोप खेप्दै आएका नेतादेखि कार्यकर्तासम्मलाई टोल टोलमा पु¥याउने छ । नेता भएर सत्ताको स्वादमा मात्र रमाउनेले नागरिकको दुःख र पिरमर्कालाई आफ्नै आँखाले हेर्न पाउने छन् । कांग्रेसका मतदाता र कार्यकर्ताले नेतासँग फेरि एक पटक आफ्ना समस्या र गुनासा सुनाउन पाउने छन् । कांग्रेसले कसैका लागि केही गरेन भनेर गुनासो गर्ने कांग्रेसका शुभचिन्तकले कांग्रेसले केही गर्न लागेछ है भन्ने सन्देश पाउने छन् ।

समुदायमा कांग्रेस अभियानको अर्को राम्रो पक्ष हो : केन्द्रीय प्रतिनिधि बनेका नेता र स्थानीय नेतासमेतले केवल पार्टी कार्यकर्ता र स्थानीयको गुनासो सुन्ने छन् र सुझाव लिने छन् । एकअर्का नेताप्रति आरोप प्रत्यारोपको भाषण सुनाउने छैनन् । यो सन्देश दिनका लागि समेत महामन्त्री थापाको संवाद यात्रा अभियानको पूर्वतयारी हो । संवाद यात्रामा जनताका कुरा सुन्दै गर्दा उनीहरूलाई चित्तबुझ्दो जवाफ दिने दायित्व पनि छ । केवल सधैँ आफ्नै र पुरानै कुरा नसुनाउने र अनावश्यक भाषणका कार्यक्रम नगर्ने भनिएको हो । कांग्रेसको शुभेच्छुक वा कार्यकर्ता भएर गाउँघरमा रहँदा विपक्षीलाई दिनु पर्ने जवाफका लागि तयार बनाउनसमेत यो अभियानको लक्ष्य हुनु पर्छ । केवल हामी सुन्छौँ, बोल्दैनौँ भन्दा अभियान गुनासो सङ्कलनका लागि रहेछ भन्ने सन्देश जान हुँदैन । कार्यकर्तालाई अभिप्रेरित गर्ने अभियानका रूपमा यसलाई लिन सक्नु पर्छ ।

अभियानको औपचारिक प्रारम्भको दिन सहिद दिवसलाई विशेष बनाउने कांग्रेसको योजना छ । यो दिन कांग्रेसका लाखौँ क्रियाशील सदस्यलाई आआफ्ना वडामा अनिवार्य रूपमा पुग्न पार्टीले निर्देशन दिएको छ । यो कार्यक्रममा सहिद परिवार, द्वन्द्वपीडित परिवार र प्रजातन्त्र सेनानीलगायतलाई सम्मान गरिने छ । राज्यले हजारौँ हजारलाई सहिद घोषणा गर्ने र गरिरहने प्रवृत्तिका बिचमा हुन लागेको सहिद दिवस कार्यक्रममा कांग्रेसले सहिदको खास अर्थ र यसको औचित्यका बारेमा पनि बोल्नु पर्छ । सहिदका सहिदबारे के बोल्ने भनेर कार्यकर्तालाई पक्कै भन्ने छ । हिजो कांग्रेसका नाममा लोकतन्त्रका लागि सहादत प्राप्त गरेका नेता कार्यकर्ताले सहिदको सम्मान प्राप्त गर्न नसक्नाको कारण पनि बताउनु पर्छ । एउटा पार्टी सरकारमा रहँदै गर्दा आफ्नो पार्टीका नाममा मरेका मारिएका सबैलाई सहिद घोषणा गर्ने र सरकारको सहयात्री बनेको कांग्रेस आफ्नो पार्टीका कार्यकर्ता र सहिद परिवारलाई केवल सम्मानको खादा मात्रै ओडाउने अवस्थाबारे पनि प्रस्ट पार्नुपर्ने छ ।

यस पटक कांग्रेसले सधैँ झैँ कार्यक्रमका नाममा जिल्लाको सदरमुकाम पुग्ने र सार्र्वजनिक कार्यक्रम गरेर पार्टीकै नेताविरुद्ध आरोप/प्रत्यारोप गरेर खुइल्याउने भाषण गरेर फर्कने प्रवृत्तिको अन्त्य गर्ने गरी यो अभियान सञ्चालनका क्रममा गरिने कार्यक्रमको प्रारूप बनाएको छ । अभियानको क्रममा खुला र समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाह अवलोकन, वडा कार्यालय भ्रमण र संवाद गरी पाँच प्रकृतिका प्रारूप बनाइएको छ । अभियानको मूल उद्देश्य तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव, गुनासो सुन्नेर बुझ्ने हो । जनताबाट प्राप्त सुझावलाई तत्तत् तहका सरकारमा पु‍¥याउने, आफू सरकारमा रहेका ठाउँमा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने, पार्टी प्रतिपक्षमा रहेका ठाउँमा समाधानका लागि पहलकदमी लिने अभियानको आशय रहेको छ ।

यस पटकको अभियानले कांगे्रसलाई फेरि एक पटक जनस्तरमा उभ्याउन सघाउने छ । त्यो जनस्तर भनेको आमनागरिक त हुँदै हो, उसले भोग्दै गरेको राजनीतिक, प्रशासनिक र आर्थिक समस्याको समाधान खोज्ने विश्वास दिलाउने चुनौती कांग्रेसले त्यहाँ पक्कै सामना गर्ने छ । यो भन्दा पनि महत्वपूर्ण पक्ष देशको कर्णधार नवयुवा अभियानको केन्द्रमा हुनु पर्छ । कांग्रेसको केन्द्रबाट खटिएका प्रतिनिधिले कांग्रेसबिना लोकतन्त्रको रक्षा किन असम्भव छ भनेर उसलाई बुझाउनु पर्छ । कांग्रेस सबैभन्दा पुरानो पार्टी हो भनेर मात्र नयाँ पार्टीसँग लड्ने ऊर्जा प्राप्त गर्न सक्दैन । नयाँप्रतिको आकर्षणलाई रोक्न सक्दैन । कांग्रेसको पहिचान हरेक खालका स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवार पार्टीका रूपमा हुनु पर्छ । आजसम्म जेजति कमजोरी भए, ती व्यक्तिका दोष हुन्, लोकतन्त्रको होइन र लोकतन्त्र रहेन भने हरेक खालका विकासका सम्भावना कुण्ठित हुन्छन् भन्ने उदाहरणबाट पुष्टि गर्न सक्नु पर्छ ।

नागरिकका समस्या सुन्ने, टिपोट गर्ने र पार्टीलाई बुझाउने भन्दा आफूले सुनेका र बुझेका समस्या समाधान गर्न निरन्तर लागिरहने अठोट गर्न सकिएन भने अभियानले ल्याएको जागरूकता प्रत्युत्पादक पनि हुन सक्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया