भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

कांग्रेसको गाउँ जागरण अभियान : डा. सुरेश आचार्य

नेता भएर सत्ताको स्वादमा मात्र रमाउनेले नागरिकको दुःख र पिरमर्कालाई आफ्नै आँखाले हेर्न पाउने छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

समुदायमा कांग्रेस अभियानका लागि यतिबेला नेपाली कांग्रेसका नेता कार्यकर्ता जिल्ला फर्कने क्रममा छन् । हिमाली १० जिल्लाबाहेकमा सञ्चालन हुन लागेको यो अभियानमा कांग्रेसले हरेक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । सभापतिदेखि सहमहामन्त्रीहरू भने केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छैनन् । यहीँ अभियानलाई जोडेर पार्टी महामन्त्री गगनकुमार थापाको मेचीदेखि महाकालीसम्मको संवाद यात्रा पनि सँगसँगै सुरु भएको छ । मूलतः पूर्वपश्चिम राजमार्गकेन्द्रित महामन्त्रीको यो कार्यक्रमले तत्तत् क्षेत्रमा समुदायमा कांग्रेस अभियानको मूल्याङ्कनसमेत गर्ने छ ।

माघ १२ गते पार्टीको स्थापना दिवस मनाएको कांग्रेसले १३ गतेबाटै यो अभियान थालेर साङ्गठनिक सक्रियता देखाएको छ । कांग्रेसका अनुसार, जिल्लामा खटिएका प्रतिनिधिले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्ने छन् । जे जस्तो शब्दावलीको प्रयोग भए पनि १५ गतेसम्म केन्द्रीय प्रतिनिधिलाई जिल्लामा पुग्न दिएको बाटो म्याद हो । १६ गते सहिद दिवसका दिन देशभरका हरेक वडामा कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियानको औपचारिक प्रारम्भ गर्ने छ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गत निरन्तर विभिन्न कार्यक्रम हुने छन् । कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवससमेत जोडेर माघ २६ गते यो अभियान समापन हुने छ ।

अभियानको क्रममा महामन्त्री थापाको संवाद यात्रा त्यहाँबाट सुरु भएको छ, जो कांग्रेसका अर्का महामन्त्रीको राजनीतिक थलो हो । यति मात्र होइन, कुनै बेला कांग्रेसभित्र गगन थापाले आफ्नो नेता मानेको कृष्णप्रसाद सिटौलाको गृह जिल्ला पनि यहीँ हो । कांग्रेसमा गुटको राजनीतिलाई राजनीतिको स्थायी आधार र आन्तरिक राजनीतिको भोट बैङ्क ठान्ने गरिँदै आएको छ । गुटभित्र रमाउने सबै सधैँ एउटै गुटमा अडिएका छैनन् । झापा पुग्नु भएका गगन र झापाकै विश्वप्रकाश र कृष्ण सिटौला यतिबेला फरक फरक गुटमा हुनुहुन्छ । त्यसैले गगनको कार्यक्रममा विश्वप्रकाश र सिटौलाको उपस्थिति समाचारको मसला बन्ने गर्छ । नभन्दै मिडियाले समाचार बनायो : समुदायमा कांग्रेस अभियान अन्तर्गत महामन्त्री गगनको यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश र पूर्वमहामन्त्री बिहीबार मात्रै राष्ट्रिय सभा निर्वाचनमा सदस्य निर्वाचित सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको छ ।

महामन्त्री थापाको संवाद यात्राको प्रारम्भको यो समाचार यसरी बन्नु पर्ने विषय थिए तर बन्नु पर्ने कारण थियो । यी सबै नेता कांग्रेसकै हुन् र उत्तिकै जिम्मेवार नेता पनि हुन् र पनि, उनीहरू एउटै फोरममा उभिएलान् भन्ने आशङ्का कांग्रेस कार्यकर्ताको मनमा थियो । समाचार बनाउने पत्रकारका मनमा त झन् धेरै थियो । त्यसैले यो समाचार यसरी नै बन्यो । यसरी बन्नु पर्ने कारण अरू नभएर नेताहरू आफैँ हुन् । नेताहरूको गुटभित्र रमाउने र अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति हो । समाचार यसरी नै बनिरहँदा समुदायमा कांग्रेस अभियानले एउटा सकारात्मक सन्देश दिएको छ । त्यो हो ः कांग्रेस सङ्गठन निर्माणका लागि र नागरिकका समस्या सुल्झाउन एक ठाउँमा उभिन सक्छ र उभिन्छ । ७७ जिल्लामा कांग्रेसले यो सन्देश लिएर जान सक्यो भने यो अभियानको सबैभन्दा ठुलो उपलब्धि यही हुने छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत कांग्रेस कार्यकर्ताले हरेक टोल र वडामा वृक्षारोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित वा वडाले तय गरेका अन्य कुनै न कुनै सामाजिक अभियान सञ्चालन गर्ने छन् । कांग्रेसको यो अभियानले चुनावमा मात्र भोट माग्न आउने भनेर आरोप खेप्दै आएका नेतादेखि कार्यकर्तासम्मलाई टोल टोलमा पु¥याउने छ । नेता भएर सत्ताको स्वादमा मात्र रमाउनेले नागरिकको दुःख र पिरमर्कालाई आफ्नै आँखाले हेर्न पाउने छन् । कांग्रेसका मतदाता र कार्यकर्ताले नेतासँग फेरि एक पटक आफ्ना समस्या र गुनासा सुनाउन पाउने छन् । कांग्रेसले कसैका लागि केही गरेन भनेर गुनासो गर्ने कांग्रेसका शुभचिन्तकले कांग्रेसले केही गर्न लागेछ है भन्ने सन्देश पाउने छन् ।

समुदायमा कांग्रेस अभियानको अर्को राम्रो पक्ष हो : केन्द्रीय प्रतिनिधि बनेका नेता र स्थानीय नेतासमेतले केवल पार्टी कार्यकर्ता र स्थानीयको गुनासो सुन्ने छन् र सुझाव लिने छन् । एकअर्का नेताप्रति आरोप प्रत्यारोपको भाषण सुनाउने छैनन् । यो सन्देश दिनका लागि समेत महामन्त्री थापाको संवाद यात्रा अभियानको पूर्वतयारी हो । संवाद यात्रामा जनताका कुरा सुन्दै गर्दा उनीहरूलाई चित्तबुझ्दो जवाफ दिने दायित्व पनि छ । केवल सधैँ आफ्नै र पुरानै कुरा नसुनाउने र अनावश्यक भाषणका कार्यक्रम नगर्ने भनिएको हो । कांग्रेसको शुभेच्छुक वा कार्यकर्ता भएर गाउँघरमा रहँदा विपक्षीलाई दिनु पर्ने जवाफका लागि तयार बनाउनसमेत यो अभियानको लक्ष्य हुनु पर्छ । केवल हामी सुन्छौँ, बोल्दैनौँ भन्दा अभियान गुनासो सङ्कलनका लागि रहेछ भन्ने सन्देश जान हुँदैन । कार्यकर्तालाई अभिप्रेरित गर्ने अभियानका रूपमा यसलाई लिन सक्नु पर्छ ।

अभियानको औपचारिक प्रारम्भको दिन सहिद दिवसलाई विशेष बनाउने कांग्रेसको योजना छ । यो दिन कांग्रेसका लाखौँ क्रियाशील सदस्यलाई आआफ्ना वडामा अनिवार्य रूपमा पुग्न पार्टीले निर्देशन दिएको छ । यो कार्यक्रममा सहिद परिवार, द्वन्द्वपीडित परिवार र प्रजातन्त्र सेनानीलगायतलाई सम्मान गरिने छ । राज्यले हजारौँ हजारलाई सहिद घोषणा गर्ने र गरिरहने प्रवृत्तिका बिचमा हुन लागेको सहिद दिवस कार्यक्रममा कांग्रेसले सहिदको खास अर्थ र यसको औचित्यका बारेमा पनि बोल्नु पर्छ । सहिदका सहिदबारे के बोल्ने भनेर कार्यकर्तालाई पक्कै भन्ने छ । हिजो कांग्रेसका नाममा लोकतन्त्रका लागि सहादत प्राप्त गरेका नेता कार्यकर्ताले सहिदको सम्मान प्राप्त गर्न नसक्नाको कारण पनि बताउनु पर्छ । एउटा पार्टी सरकारमा रहँदै गर्दा आफ्नो पार्टीका नाममा मरेका मारिएका सबैलाई सहिद घोषणा गर्ने र सरकारको सहयात्री बनेको कांग्रेस आफ्नो पार्टीका कार्यकर्ता र सहिद परिवारलाई केवल सम्मानको खादा मात्रै ओडाउने अवस्थाबारे पनि प्रस्ट पार्नुपर्ने छ ।

यस पटक कांग्रेसले सधैँ झैँ कार्यक्रमका नाममा जिल्लाको सदरमुकाम पुग्ने र सार्र्वजनिक कार्यक्रम गरेर पार्टीकै नेताविरुद्ध आरोप/प्रत्यारोप गरेर खुइल्याउने भाषण गरेर फर्कने प्रवृत्तिको अन्त्य गर्ने गरी यो अभियान सञ्चालनका क्रममा गरिने कार्यक्रमको प्रारूप बनाएको छ । अभियानको क्रममा खुला र समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाह अवलोकन, वडा कार्यालय भ्रमण र संवाद गरी पाँच प्रकृतिका प्रारूप बनाइएको छ । अभियानको मूल उद्देश्य तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव, गुनासो सुन्नेर बुझ्ने हो । जनताबाट प्राप्त सुझावलाई तत्तत् तहका सरकारमा पु‍¥याउने, आफू सरकारमा रहेका ठाउँमा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने, पार्टी प्रतिपक्षमा रहेका ठाउँमा समाधानका लागि पहलकदमी लिने अभियानको आशय रहेको छ ।

यस पटकको अभियानले कांगे्रसलाई फेरि एक पटक जनस्तरमा उभ्याउन सघाउने छ । त्यो जनस्तर भनेको आमनागरिक त हुँदै हो, उसले भोग्दै गरेको राजनीतिक, प्रशासनिक र आर्थिक समस्याको समाधान खोज्ने विश्वास दिलाउने चुनौती कांग्रेसले त्यहाँ पक्कै सामना गर्ने छ । यो भन्दा पनि महत्वपूर्ण पक्ष देशको कर्णधार नवयुवा अभियानको केन्द्रमा हुनु पर्छ । कांग्रेसको केन्द्रबाट खटिएका प्रतिनिधिले कांग्रेसबिना लोकतन्त्रको रक्षा किन असम्भव छ भनेर उसलाई बुझाउनु पर्छ । कांग्रेस सबैभन्दा पुरानो पार्टी हो भनेर मात्र नयाँ पार्टीसँग लड्ने ऊर्जा प्राप्त गर्न सक्दैन । नयाँप्रतिको आकर्षणलाई रोक्न सक्दैन । कांग्रेसको पहिचान हरेक खालका स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवार पार्टीका रूपमा हुनु पर्छ । आजसम्म जेजति कमजोरी भए, ती व्यक्तिका दोष हुन्, लोकतन्त्रको होइन र लोकतन्त्र रहेन भने हरेक खालका विकासका सम्भावना कुण्ठित हुन्छन् भन्ने उदाहरणबाट पुष्टि गर्न सक्नु पर्छ ।

नागरिकका समस्या सुन्ने, टिपोट गर्ने र पार्टीलाई बुझाउने भन्दा आफूले सुनेका र बुझेका समस्या समाधान गर्न निरन्तर लागिरहने अठोट गर्न सकिएन भने अभियानले ल्याएको जागरूकता प्रत्युत्पादक पनि हुन सक्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल
२०८३ भाद्र ३०, मंगलबार
शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र ३०, मंगलबार
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा
२०८३ भाद्र ३०, मंगलबार
ग्यास अभाव तत्काल हटाउन दैनिक १६० बुलेट भित्र्याउने तयारी : मन्त्री साह
२०८३ भाद्र ३०, मंगलबार
अधिवेशनमा सक्रिय सहभागी हुन कांग्रेसजनलाई सभापति गगन थापाको आह्वान
२०८३ भाद्र ३०, मंगलबार
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
२०८३ भाद्र ३०, मंगलबार
भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता
२०८३ भाद्र ३०, मंगलबार