वैशाख १५, २०८१ शनिबार April 27, 2024

सरकारमाथि दबाब बढाउँदै कांग्रेस : नयाँ समीकरणको आन्तरिक प्रयास जारी

सत्ता गठबन्धनका एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीको चित्त बुझाएर राजनीतिक स्थायित्व कायम गर्नु माओवादीलाई सहज छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फागुन २१ गते अप्रत्याशित ढंगले राजनीतिक समीकरणमा भएको परिवर्तनसँगै पछिल्लो चुनावबाट पहिलो दल बनेको नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्ष दलको कित्तामा पुगेको छ । कुनै महत्वपूर्ण अर्थात् तर्कसंगत एजेण्डाबिना माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गर्न पुगेपछि कांग्रेस अहिले रन्थनिएको अवस्थामा छ ।

केन्द्रदेखि अधिकांश प्रदेशमा प्रतिपक्षमा पुग्नु परेपछि कांग्रेसले विभिन्न मुद्दाहरू उठाएर गठबन्धन सरकारमाथि शृंखलाबद्ध दबाब बढाउन सुरु गरेको छ । कांग्रेसले पछिल्ला केही दिनयता सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तिलाई लिएर प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेको छ । नेताहरूको सार्वजनिक अभिव्यक्ति सुन्दा कांग्रेस यत्तिमै सीमित हुने देखिँदैन । विपक्षी बेञ्चमा रहेको साना दलहरूलाई साथमा लिएर कांग्रेस विभिन्न मुद्दासहित सरकारमाथि दबाब बढाउने तयारीमा छ ।

हुन त सरकारको नेतृत्व गरेयता १५ महिनामा तेस्रो पटक विश्वासको मत पाए पनि प्रधानमन्त्री प्रचण्डसामु चुनौतीका चाङ कायमै छन् । यसबीचमा तीनपटक गठबन्धन फेरिसक्नु भएका प्रधानमन्त्री प्रचण्डले अन्तिम अवसरका रूपमा लिएको यो कार्यकालमा ती चुनौती पार गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

नयाँ गठबन्धनको स्थिरता नै दाहालको पहिलो चुनौती हो । सत्ता गठबन्धनका एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीको चित्त बुझाएर राजनीतिक स्थायित्व कायम गर्नु सरकारको नेतृत्व गरिरहेको तेस्रो ठूलो दल माओवादीलाई सहज छैन । सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीचको तालमेलमा नै यो गठबन्धन अडिएको छ ।

गठबन्धनको घटक एकीकृत समाजवादीका जिम्मेवार नेताहरूले संसद्को रोष्ट्रमबाटै प्रधानमन्त्रीले गरेको प्रतिबद्धता पूरा नगरे सरकार छाड्ने चेतावनी दिइसकेका छन् । संसद्को चौथो ठूलो दल रास्वपाका नेताहरू पनि काम गर्न नसके सरकारबाट बाहिरिने भन्दै प्रधानमन्त्री प्रचण्डलाई अप्रत्यक्ष रूपले भए पनि चेतावनीको भाषा प्रयोग गरिरहेका छन् । आजको हिमालय टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया