वैशाख १५, २०८१ शनिबार April 27, 2024

ठूलो संख्यामा सचिव हेरफेरको गृहकार्य, शक्तिशाली र आकर्षक मन्त्रालयका लागि तीव्र दौडधुप

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग र आपूर्ति तर्फका दुवै पदमा नयाँ सचिवको खोजी शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले ठूलो संख्यामा सचिव हेरफेरको तयारी थालेको छ। विभिन्न मन्त्रालय र निकायमा प्रशासनिक नेतृत्वमा रहने सचिवहरूको हेरफेरको लागि अन्तिम गृहकार्य थालिएको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि सचिव सरुवाको विषयले प्रवेश पाएको थियो। तर, केही ठाउँमा व्यवस्थापनमा गृहकार्य नपुगेको भन्दै सचिव सरुवाको औपचारिक निर्णय भने हुन सकेन । यद्यपि, मन्त्रिपरिषद् बैठकले केही रिक्त निकायमा सचिवको व्यवस्थापन गर्ने र केही ठाउँमा मिलान गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सचिवबाट दिएको राजीनामा स्वीकृत भएपछि श्रम मन्त्रालयमा सचिव पद रिक्त भएको छ । सो मन्त्रालयमा सचिवको लागि हाल प्रदेशमा रहेका सचिवहरूमध्येबाट एकलाई ल्याइने गरी निर्णय भए पनि त्यसलाई अन्तिम रूप दिन बाँकी रहेको बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको भए पनि त्यसमा केही ठाउँमा मिलान गर्नुपर्ने भएकाले शुक्रबार मात्रै सार्वजनिक हुने गरी व्यवस्थापन थालिएको छ। स्रोतका अनुसार सचिव सरुवाको निर्णय रातारात सच्याइने र शुक्रबार बिहानसम्म फेरबदल भइरहने छ।

नयाँ गठवन्धन बनेर सबैजना मन्त्रीहरू फेरबदल भएसँगै मन्त्रीका प्रशासनिक सारथीका रूपमा रहने सचिवहरूको फेरबदल गर्ने गृहकार्य थालिए पनि त्यो पेचिलो बनिरहेको छ। सचिव सरुवा गर्दा विशेषज्ञताका आधारमा गर्नुभन्दा पनि भनसुन र चाकडीका आधारमा गर्ने गरिएकाले मन्त्रालयको कार्यसम्पादन प्रभावकारी हुन नसकेको गुनासो आउने गरेको छ।

सरकारले यसपटक सचिवहरूको सरुवा गर्दा सम्बन्धित मन्त्रालयमा रहेर लामो अनुभव हासिल गरिसकेका र अनुभवीलाई प्राथमिकता दिने विश्वास गरिए पनि सरुवामा मन्त्रीहरू हाबी हुने स्थिति भएमा अनुभवी र विज्ञताभन्दा पनि निकटतालाई हेरिने खतरासमेत देखिएको छ। मन्त्रीले आफू निकटकालाई सचिव बनाएर ल्याएमा ‘एस म्यान’ संस्कृति मौलाउने र त्यस्तो मन्त्रालयले जनहित र देशहितमा खासै काम गर्न नसक्ने दाबी विज्ञहरूको छ।

अहिले केही सचिवहरू शक्तिशाली र आकर्षक मन्त्रालयका रूपमा रहेका अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, संघीय मामिला तथा सामान्य प्रशासन, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, भुमिव्यवस्था, सहकारी तथा गरिबी निवारण, सहरी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि दौडधुपमा छन्।

सबैको चासोको रूपमा हेरिएको अर्थ मन्त्रालयमा हालकै सचिव कृष्णहरि पुस्करलाई राख्ने कि नयाँ ल्याउने भन्नेमा प्रधानमन्त्री र अर्थ मन्त्रीले निक्र्यौल गर्न नसक्नुभएको बताइन्छ। यद्यपि, अर्थ मन्त्रालयका लागि अर्थ बुझेका र अर्थका अनुभवी रामेश्वर दंगाल, तोयम राय, अर्जुन पोखरेलहरूको समेत चर्चा चल्ने गरेको छ। दंगाल यसअघि राजस्व सचिव भएको बेला सुधारका प्रभावकारी कार्यक्रम ल्याउनुभएको थियो । राय पनि छोटो समय अर्थ सचिव हुँदा सुधारको प्रयास थाल्नुभएको थियो ।

स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग र आपूर्ति तर्फका दुवै पदमा नयाँ सचिवको खोजी शुरू भएको छ।

यसै गरी खानेपानी मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय लगायतमा समेत नयाँ सचिवको खोजी गरिएको बताइएको छ।

बिहीबारदेखि रिक्त रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको सम्भावना बढी रहेको बताइएको छ।

यद्यपि, श्रम मन्त्रालयमा जान अन्य केही सचिवहरूको पनि दौडधुप भइरहेको बताइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डे पुनः उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयका लागि दौडधुप गरिरहनुभएको छ भने सो मन्त्रालयका लागि मधेस प्रदेशका प्रमुख सचिव दिनेश घिमिरेको पनि सम्भावना रहेको छ।

पाण्डे यसपटक उद्योग मन्त्रालय नभए पनि अन्य जुनसुकै मन्त्रालयमा समेत जाने गरी जोडबलमा रहनुभएको बताइएको छ। उता, रिक्त रहेको निर्वाचन आयोगमा प्रदेशमा रहेका प्रमुख सचिवहरूमध्येबाट एकलाई ल्याउने सम्भावना रहेको छ।

स्रोतका अनुसार प्रदेशको प्रमुख सचिवको रूपमा रहनुभएका दिनेश घिमिरे, लक्ष्मीकुमारी बस्नेत, राधिका अर्याल र डा. हरि लम्सालमध्ये एकलाई केन्द्रमा ल्याइने गरि गृहकार्य अघि बढाइएको छ। यसअघि मन्त्रालयमा कहिल्यै पनि अवसर नपाएका उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई यसपटक न्याय दिने गरी कुनै एक मन्त्रालयमा ल्याउन लागिएको स्रोतको भनाइ छ।

यसै गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतको चर्चा छ। सामान्य सचिव विनोदप्रकाश सिंहले पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जान जोडबल गरिरहनुभएको बताइएको छ।

भौतिक पूर्वाधर तथा यातायात मन्त्री रघुवीर महासेठले सचिव केशवकुमार शर्माको विकल्प खोजिरहे पनि उपयुक्त व्यक्ति पाउन नसकेको बताइएको छ। यसै गरी नेपाल ट्रस्टका सचिव विश्वबाबु पुडासैनीलाई सिँचाई सचिवको जिम्मेवारी दिने सम्भावना रहेको बताइएको छ।

सचिव सरुवाको स्पष्ट मापदण्ड बनाइने भनिए पनि त्यस्तो मापदण्ड भने बनाइएको छैन। सचिव सरुवाको वैज्ञानिक र स्पष्ट मापदण्ड बनाउन नसक्दा सचिव सरुवा हचुवा, निकटता र भनसुनकै आधारमा भइरहेको देखिन्छ। नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया