वैशाख १५, २०८१ शनिबार April 27, 2024

दक्षिण कोरियाको ई-७ भिसा विषयमा छलफल

सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण कोरियाली पक्षबाट ई–७ भिसामा नेपाली श्रमिक दक्षिण कोरिया पठाउने सम्बन्धमा श्रम, रोजगार मन्त्रालय भएका निर्णय र सञ्चारमाध्यममा आएका विषयप्रति चासो व्यक्त भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँगको भेटमा दक्षिण कोरिया राजदूत पार्क टाई योङ्गले यस्तो चासो व्यक्त भएको हो । सो अवसरमा श्रममन्त्री अर्यालले ई–७ भिसाको विषयमा अध्ययन तथा छलफल गरिरहेको एवं आफ्नो प्राथमिकता नेपाली श्रमिकको अधिक हित र सुरक्षा रहेको बताउँदै इपिएस प्रणाली र ई–७ भिसा प्रणालीलाई आबद्ध गरी नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने विषयमा राजदूतसँग जिज्ञासा राख्नुभयो ।

राजदूत पार्कले रोजगार अनुमति प्रणाली इपिएस (ई–९ प्रणाली) र ई–७ भिसा प्रणाली फरक भएको यी दुई प्रणालीलाई आबद्ध गराउन समय लाग्ने हुँदा जुनसुकै प्रणालीबाट आफ्नो देशमा श्रमिक पठाउँदा नेपाली श्रमिकलाई अनावश्यक आर्थिक भार नपरोस् भन्नेतर्फ आफू र आफ्नो देश सचेत रहेको स्पष्ट गर्नुभयो ।

तत्कालीन श्रममन्त्री शरत्सिंह भण्डारीले कोरियाको ई–७ भिसामा वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर) मार्फत श्रमिक पठाउने गरी ल्याएको कार्यविधि जारी गरेको थियो । वर्तमान श्रममन्त्री अर्यालले भने उक्त कार्यविधि पुनर्मूल्याङ्कन गर्ने गरी श्रम मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन समिति गठन भएको छ ।

गत फागुन ३० गते मन्त्री अर्यालले मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्नुभएको छ । समितिले दक्षिण कोरियामा इपिएस प्रणाली र ई–७ भिसा प्रणाली बिचको भिन्नताका विषयमा अध्ययन गर्ने छ । समितिको सुझावका आधारमा यसअघिका निर्णय तथा कार्यविधिहरू कार्यान्वयन हुने वा नहुने निक्र्योल गरिने मन्त्री अर्यालले बताउँदै आउनुभएको छ ।

सो अवसरमा इपिएस प्रणालीलाई थप व्यवस्थित गराई बढीभन्दा बढी नेपाली श्रमिक दक्षिण कोरिया लैजाने सम्बन्धमा पनि छलफल भयो । श्रममन्त्री अर्यालले दक्षिण कोरियाबाट फर्किएर पुनः परीक्षामा सहभागी भई रोस्टरमा रहेका नेपाली युवालाई प्राथमिकतामा राखी रोजगारीमा लैजाने व्यवस्था गरिदिन राजदूतसमक्ष आग्रह गर्नुभयो ।

राजदूत पार्कले कोरियामा नेपाली श्रमिक लैजाने प्रणाली सबै मुलुकको हक समान रहेको र मागको तुलनामा आपूर्ति पक्ष धेरै हुँदा व्यवस्थापनमा केही कठिनाइ परेको भन्दै दुवै पक्षबाट विद्यमान प्रणालीको समीक्षा गरेर थप सुधारका क्षेत्र पहिचान गरेर अगाडि जान कोरिया सरकार तयार रहेको बताउनुभयो ।

साथै राजदूत पार्कले इपिएस प्रणाली अन्तर्गत नेपालमा कार्यरत मानव संसाधन कोरियामा संलग्न कोरियाली कर्मचारीलाई उचित सहज कार्य वातावरणसहित उच्च मनोबलका साथ काम गर्ने अवस्था बनाइदिन श्रममन्त्री अर्यालसमक्ष आग्रह गर्नुभयो । मन्त्री अर्यालले कोरियाको अपेक्षा अनुसार उचित कार्य वातावरण बनाउने र सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने विश्वास दिलाउनुभयो ।

सो अवसरमा नेपाल र दक्षिण कोरियाबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको उपलक्ष्यमा विगतको सहकार्यको पुनः स्मरण गर्दै द्विपक्षीय सम्बन्धमा अझै उचाइमा पु¥याउने सम्बन्धमा विचार आदानप्रदान भयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया