काठमाण्डाैंः भारतको पश्चिम बंगालस्थित पानीटंकी नाकाबाट ७८ दिनपछि नेपाली वस्तुले विना अवरोध भारत निकासी पाएको छ । बुधवार नेपालको मेची नाका हुँदै १४ ओटा मालवाहक ट्रकले पानीटंकी नाकाबाट निर्वाध रूपमा पश्चिमबंगाल प्रवेश पाएका हुन् । यसअघि कोरोना नियन्त्रणको कारण देखाउँदै पश्चिमबंगाल प्रहरीले मेची पुलमा नै मालवाहक सवारी रोकेको थियो ।
बुधवार छुटेका १३ मालवाहक ट्रकले कुचो लिएर गएका छन् भने एउटाले अदुवा बोकेर गएको छ । मेची भन्सारका सूचना अधिकृत भरतराज अधिकारीका अनुसार बुधवारदेखि मेची नाकाबाट हुने आयातनिर्यात विना अवरोध सञ्चालन भएको छ ।
मेची नाका पूर्णरूपमा सञ्चालनमा आए पनि सिलिगुडीबाट आउने इन्धन आउन नसकेको मेची भन्सारले जानकारी दिएको छ । त्यसैगरी बंगलादेशबाट आउने औषधि र जुसहरूको आयात पनि ठप्प रहेको अधिकारीले जानकारी दिए । उनका अनुसार मेची नाकाबाट ३० किलोमीटर पूर्वमा रहेको भारतीय आयलको रिफाइनरी सेन्टरबाट नेपाली ट्यांकरबाट ल्याउने गरेको इन्धन भने भित्रिन सकेको छैन । मेची भन्सारको राजस्वको प्रमुख स्रोत भनेको इन्धन आयात नै हो । वैशाख २७ गते पानीटंकी नाकाबाट नेपाल आयात हुने सम्पूर्ण सामग्री विनाअवरोध आए पनि इन्धन भने अहिलेसम्म आयात हुन सकेको छैन ।
उनका अनुसार भारतीय भन्सारले तेलका ट्यांकरलाई पारि जाने अनुमति दिएको छैन । त्यस्तै नेपालका १ सयओटा मालवाहकलाई भारतले बंगलादेशको पूmलबारी नाकासम्म जाने अनुमति दिएको छैन । नेपाली ट्रकहरूले नै बंगलादेशको फूलबारी नाकाबाट मालसामान ढुवानी गरिरहेका थिए ।
कोरोना महामारीको कारण देखाउँदै पश्चिमबंगाल सरकारले चैत २६ गतेबाट पानीटंकी नाका बन्द गरेपछि मेची नाकाबाट हुने आयातनिर्यात ठप्प भएको थियो । त्यसको १ महीनापछि अर्थात् वैशाख २७ गतेबाट सो नाकाबाट नेपालतर्फ हुने आयात खुले पनि नेपालतर्फबाट हुने निर्यातमा भने रोक लगाइएको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासले पश्चिमबंगालका चिफ सेक्रेटरी राजीव सिन्हालाई टेलिफोनमार्फत पानीटंकी नाकाबन्द भएका कारण नेपाली सामानको निकासीमा समस्या रहेको जानकारी गराएपछि उनले तत्कालै नाका खोल्न आदेश दिएका थिए । यो खबर बिहिबारको अभियान दैनिकमा प्रकशित भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया