भाद्र ६, २०८३ शनिबार August 22, 2026

पश्चिम क्षेत्रको मौसमी राडार दुई वर्षदेखि कामविहीन

सुर्खेतको राडार दुई वर्षदेखि बन्द हुँदा प्युठानदेखि पश्चिम क्षेत्रको पूर्वानुमान गर्न सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काँक्रेविहार। विसं २०७६ मङ्सिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लामा स्थापना भएको मौसमी राडार दुई वर्षदेखि बन्द छ। पश्चिमी क्षेत्रको मौसमसम्बन्धी पूर्वानुमान गर्न राखिएको उक्त राडार दुई वर्षदेखि कामविहीन भएको हो।

राडारमा समस्या भएर कामविहिन अवस्थामा बन्द भएको दुई वर्ष बितिसक्दा पनि मर्मत गरी सञ्चालनमा आउन सकेको छैन। बाह्र महिना हुनसक्ने विपद्बाट जोगाउन स्थापना गरिएको मौसम पूर्वानुमान गर्ने राडार आफैँ बिरामी भएपछि समस्या भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् एवं जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्रमुख निराजन सापकोटाले बताए।

उनका अनुसार एक दिनको मौसम पूर्वानुमानसहितको तत्काल सूचना दिने यस्ता राडार नेपालमा तीनवटा मात्र छन्। ‘सुर्खेतको राडारले प्युठानदेखि पश्चिम क्षेत्रको पूर्वानुमान गर्दछ। अरु दुई वटा राडार पाल्पा र उदयपुरमा छन्’, उनले भने।

चट्याङ परेर राडारका केही उपकरण बिग्रनुका साथै जेनेरेटरमा पनि क्षति पुगेको थियो। विभागका वरिष्ठ मौसमविद् सापकोटाले सरकारले मर्मतका लागि न्यून बजेट दिएको भन्दै परामर्शदातासँग प्रस्ताव माग गर्न लागिएको बताए। उनका अनुसार स्थानीयस्तरमा हुने अन्य मर्मतको काम सुरु भएको छ।

दुई वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएकाले बन्द गर्नुपरेको वरिष्ठ मौसमविद् सापकोटाले बताए। अहिले मर्मत गर्ने तयारी थालिएको उनको भनाइ छ।

विभागले आगामी भदौ अन्तिमसम्म राडार सञ्चालनमा ल्याउने गरी मर्मत गरिरहेको आयोजना प्रमुख सापकोटाले दाबी गरे। उनका अनुसार उक्त मौसमी राडार विश्व बैंकले करिब रु १८ करोडको लागतमा निर्माण गरिदिएको हो। निर्माणको पाँच वर्षसम्म राडारले काम गरिरहेको थियो। पाँच वर्षभित्र बिग्रेमा निर्माण कम्पनीले बेहोर्नुपर्ने प्रावधान रहेकामा छैटौँ वर्षमा चट्याङ परेपछि बन्द भएको उनले बताए।

बजेटको अभाव, मर्मतका लागि दक्ष जनशक्ति नहुनु, सुर्खेतको विद्युत् कम क्षमता (लो भोल्टेज), बेला बेलामा चट्याङ परिरहनु, इन्धन खर्च अभावलगायत कारणले बिग्रेको राडार समयमै मर्मत गर्न नसकिएको विभागले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित
२०८३ भाद्र ६, शनिबार
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार