असार २१, २०८१ शुक्रबार July 5, 2024

के हो प्यान्डोरा बाकस ?

एमसीसी सम्झौता पारित गर्नुको अर्थ नेपालको लागि प्यान्डोराको सन्दुक खोल्नुजस्तै हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले आफ्नो प्रतिक्रियामा संरा. अमेरिकी एमसीसी सम्झौता नेपालको निम्ति ‘प्यान्डोराको बाकस (सन्दुक)’ हुनसक्ने बताइन् ।

‘प्यान्डोरा बाकस’ ग्रीक दन्त्यकथा हो । कथाअनुसार स्वर्गबाट आगो चोरेर मानिसलाई दिएको ‘अपराध’ वापत स्वर्गका राजा जियस (इन्द्र) ले प्रमिथसलाई सजाय दिन प्यान्डोरा नामकी चेलीको सिर्जना गर्छन् । रूपवती प्यान्डोराको विवाह प्रमिथसका भाइ इपिमेथिएससँग हुन्छ ।

प्रमिथसले आफ्नो भाइलाई जियसले कुनै पनि बेला चलाखी गर्नसक्ने भनी सजग बनाएका हुन्छन् । उनले देवताहरूबाट कुनै पनि उपहार नलिन भाइलाई भन्छन् । तर, इपिमेथिएस प्यान्डोराको रूपमा वशिभूत हुन्छन् । इथिमेथिएस र प्यान्डोराको बिहेमा जियसले दाइजोमा एउटा सन्दुक दिन्छन् ।

दाइजो दिने क्रममा जियसले प्यान्डोरालाई त्यो सन्दुक नखोल्न खुसुक्क सल्लाह दिन्छन् । जियसले यसो भन्नुको लक्ष्य प्यान्डोराको मनमा उत्सुकता जगाउनु थियो । नभन्दै प्यान्डोराको मनमा सन्दुकभित्र के होला भनी उत्सुकको दही –च्युरा मुछिन्छ । उत्सुकता सम्हाल्न नसकेपछि इपिमेथिएसले दिएको सल्लाहसमेत नमानी प्यान्डोराले सन्दुक खोल्छिन् ।

सन्दुकको ढकनी खोल्ने बित्तिकै भित्रबाट लोभ, इस्र्या, घृणा, पीडा, रोग, भोक, गरिबी, युद्ध र मृत्यु बाहिर उड्छन् । प्रमिथसले मानिसको सिर्जना गर्ने क्रममा ती सबै नकारात्मक गुणलाई सन्दुकभित्र बन्द गरेका थिए । प्रमिथससँग बदला लिन जियसले मानिसलाई दुःख दिन षड्यन्त्रपूर्वक ती सबै कुरा पृथ्वीमा फैलाउन प्यान्डोरामार्फत सन्दुक खोल्न लगाएका हुन्छन् ।

आजसम्म पनि मानिसको दुःखका कारण बनेका ती सबै कुरा सन्दुकबाट बाहिरिएपछि प्यान्डोराले हतारहतार ढकनी बन्द त गर्छिन् । तर, संसार त्यस्ता दुःख र पीडाबाट कहिल्यै मुक्त भएन ।

एमसीसी सम्झौता पारित गर्नुको अर्थ नेपालको लागि प्यान्डोराको सन्दुक खोल्नुजस्तै हुनेछ । एमसीसीले निम्त्याउने युद्ध, हिंसा, दुःख, पीडा र विभाजनले नेपाललाई पनि सधैँ दुःखको डावानलमा डुबाउनेछ । जियस (संरा अमेरिका) ले प्यान्डोराको सन्दुक (एमसीसी सम्झौता) खोल्न प्यान्डोरा (नेपालका शासक दल) लाई प्रयोग गर्न खोज्दै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया