काठमाण्डाैंः पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भक्तपुर जिल्ला इञ्चार्ज ऐनबहादुर शाही रहेका छन् । पक्राउ परेका शाहीलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको र अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले भने आफ्ना कार्यकर्ता शाहीमाथि सरकारले झुठा मुद्दा लगाइएको दाबी गरेको छ ।
उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट बुधबार विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा उनलाई पक्राउ गरिएकोमा खेद प्रकट गरेको छ ।
गत २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । घटनामा संलग्नताको आरोपमा त्यतिवेलै एक जना पक्राउ परेका थिए । तर, घटनामा संलग्नता पुष्टि नभएपछि उनी रिहा भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया