भाद्र ३१, २०८३ बुधबार September 16, 2026

मन्त्रीको कुर्सीबाट देखिएको नेपाली खेलकुद : विराजभक्त श्रेष्ठ

खेलकुद क्षेत्रमा मौलाएको चरम भ्रष्टाचार र राजनीतीकरण अन्त्य नभएसम्म जोसुकै मन्त्री भएर गए पनि उसले काम गर्न सक्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँच वर्ष विधायकका रूपमा प्रदेशमा काम गरेको अनुभवसँगै पहिलोपटक संघीय सरकारमा कार्यकारी जिम्मेवारी पाएँ । पार्टी सरकारमा जाने निर्णयसँगै निकै पछि परेको र समस्याग्रस्त रहेको खेलकुद मन्त्रालयमा गएर केही गरेर देखाउनुपर्ने अवस्था थियो । त्यसैले, शपथपछि मन्त्रालय प्रवेश गरेको पहिलो दिनदेखि नै हामी आफ्नो भिजनअनुसार अगाडि बढ्यौँ । तर, अघि बढ्दै जाँदा छोटै समयमा पनि हामीले केही सम्भावना र समस्या या अवरोध देख्यौँ । जसलाई निम्न बुँदामा समेट्न सकिन्छ ।

कर्मचारी प्रविधिमैत्री भएनन् : न्यूनतम शासकीय सुशासन अनुभूति गर्नका लागि हामी न्यूनतम मापदण्डमा पनि गएका छैनौँ । अहिलेका कर्मचारीलगायत कोही पनि प्रविधिमैत्री हुनैपर्छ । मन्त्रालयका मान्छेलाई हाम्रो टिमका मान्छेले गुगलदेखि एक्सएल चलाउनसमेत सिकाउनुपर्ने अवस्था थियो । मन्त्रालयको इन्टरनेट राम्रो चल्दैनथ्यो, डेटाबाटै काम चलाउनुपर्ने अवस्था थियो । साथीहरू बसेर काम गर्ने कोठा थिएन । तर, हामीले जति दिन भए पनि सुधार सम्भव छ भनेर काम गर्‍यौंँ । खेलकुद मन्त्रालयको बजेट पनि कम छ । हामीले आएकोमध्ये चार प्रतिशत मात्रै चलाउन पाउँथ्यौँ । सबै चालू खर्चमै जान्थ्यो । चार प्रतिशत पनि कर्मचारीकै खर्चमा जाने रहेछ । आवश्यक पर्ने दैनिक प्रशासनिक काम गर्न पनि निकै चुनौती थियो । लेटरप्याड थिएन, फोटोकपी गरेर चलाएका थियाँ । त्यसलाई हामीले महत्वपूर्ण पाठका रूपमा लिएका छौँ ।

धेरै सम्भावना छ खेलकुदमा : मन्त्रालयमा बसुन्जेल हामीले खेलकुदमा निकैै सम्भावना भएको देख्यौँ । लगभग चार महिनाको समय भए पनि वास्तविक रूपमा दुई–साढे दुई महिना मात्रै काम गर्न पाइयो । यस अवधिमा हामीले नीतिगत ऐन र कानुनमा धेरै काम गरेका छौँ । आत्मसन्तुष्टि यसैमा छ । खेलकुद नीति र ऐनमा धेरै र महत्वपूर्ण काम गरेका छौँ । यसका लागि सबै सरोकारवालासँग सुझाव लिएका छौँ । खेलाडी, प्रशिक्षक, संघ, ओलम्पिक कमिटीलगायतसँग कुरा गरेका छौँ । सातै प्रदेशमा ऐनबारे सुझाव लिएका छौँ । हामीले स्काउटमा पनि काम गरेका छौँ । यो संघ अन्तर्राष्ट्रिय निकायमा स्वायत्त छ । खेलाडीको कार्ड बनायौँ । कार्डबाटै उनीहरूले सेवा–सुविधा पाउँछन् । यो त्यति ठूलो विषय नभए पनि खेलाडीलाई खेलेरै खान मिल्ने वातावरण भने बनेको छ । खेलेरै खान सकिन्छ भन्ने सबैमा परेको छ । हामीले लामो समयदेखि रोकिएका पुरस्कार पनि दियौँ ।

हामी जाँदा ओलम्पिकको तयारी चल्दै थियो । त्यसलाई निरन्तरता दिँदै हामीले २०२६ देखि खेलाडी उत्पादन गर्ने लक्ष्यसाथ बजेटको व्यवस्था गर्‍यौँ । कर्णालीमा जुम्लाको पातारासीमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर र दोलखाको सैलुङका लागि बजेट तयार गरेका छौँ । दसौँ राष्ट्रिय खेलकुदका लागि पनि बजेट व्यवस्थापन गर्‍यौँ । ११औँ राष्ट्रिय खेलकुदका लागि समेत पूर्वाधार तयार गर्न चार करोड बजेट प्रस्ताव गरेका छौँ । यसले कर्णाली र मधेश प्रदेशलाई सहयोग गर्छ । यी प्रदेशमा भलिबल र क्रिकेटलगायत खेलका धेरै खेलाडी उत्पादन हुन्छन् ।

सोचेजति गर्न सकिएन : हामीले समय नै जम्मा चार महिना पायौँ । यति थोरै समयमा धेरै त के नै गर्न सकिन्थ्यो र ? तैपनि, हामीमाथि धेरैको आशा थियो । चार महिनामै मैदान निर्माण सम्पन्न हुँदैन । तर, काम प्रारम्भ भने भइसकेको थियो । त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट’को कार्यविधि तयार गरेर बजेट हामीले नै बनाएका थियौँ । ‘स्कोर बार्ड’ जडानको काम सुरु भइसकेको छ । तर, नीतिगत रूपमा खेलकुद क्षेत्र सुधार्न जेजति सोचिएको थियो, त्यति भने गर्न सकिएन ।

४७ सालदेखिका विवाद : खेलकुदका धेरैजसो संघमा विवाद छ । संघका साधारणसभा, अधिवेशन भइरहेका छैनन् । टेबलटेनिसको विवादकै कारण १४ वर्षमुनिका खेलाडी खेल्न नपाउने अवस्था आएको थियो । मैले जसोतसो खेलाडीलाई श्रीलंका पठाएँ । उनीहरूले पदक जितेर पनि आए । खेलकुद संघलाई एउटै मान्छेले लामो समयसम्म चलाइरहेका छन् । यस्ता विवाद कुस्ती, स्विमिङ र तेक्वान्दोलगायत संघमा छन् । एन्फामा पनि धेरै विवाद छ । हामीले अझै पूरै केलाउन पाएनौँ । अहिले र ४६ सालको खेलकुद परिभाषा फरक थियो । अहिलेका प्रशिक्षक र संघले त्यो प्रविधिलाई समाउनै सकेनन् । उनीहरूले नेताबाटै नियुक्ति पाएका हुन् । तिनलाई कसैले केही भन्यो भने नेतालाई फोन जान्छ अनि दबाब आउँछ । यस्ता विवाद धेरै छन् । खेलकुद क्षेत्रमा चरम भ्रष्टाचार र राजनीतीकरण मौलाएको छ ।

पञ्चायतको अवशेषजस्तो राखेप : हाम्रो खेलकुद नै पञ्चायतको अवशेषजस्तो लाग्छ । त्यहाँ जो पुग्छ, उसको प्रकृति र चरित्र पञ्चायतकै जस्तो देखिन्छ । त्यो समयका लागि त्यस्तै ठिक थियो होला । तर, समयसापेक्ष भएर सहभागितमूलक हुन सकेको छैन । त्यसलाई परिमार्जन गरेर क्षेत्राधिकार छुट्याउनुपर्छ । आफूलाई मन परेका संघलाई बजेट दिने, अरूलाई वास्ता नगर्ने प्रवृत्ति हाबी भइरहेको छ ।

बजेटको जिम्मेवारी कसले लिने ? : हाम्रोमा खेलकुद परिषद् कार्यकारी हो । यसको बैठकबाट केही ऐन पास हुनुपर्ने थियो । यसपालिको बजेट कहाँबाट आयो ? कसले ल्यायो ? त्यसको जिम्मेवारी कसैले पनि लिइरहेको छैन ।

परिषद्को प्रक्रिया र ऐनले न्यूनतम दुईपटक बैठक बस्नुपर्छ भन्छ । तर, यहाँ यसतर्फ कसैको ध्यान गएको देखिन्न । बजेटमा सदस्य सचिवको एकाधिकार हुँदो रहेछ । अर्थले पनि हामीलाई सहजीकरण गरिदिएन ।

३० वर्षमा पनि राम्रो रंगशाला बन्दैन : मूलपानी क्रिकेट रंगशालाका लागि विनियोजित बजेट यसपालि पनि सबै खर्च हुँदैन । हाम्रो खर्च गर्ने क्षमता नै छैन । त्यसैले मेरो माग बजेट बढाउने भन्दा पनि पहिलेकालाई मर्मत गरेर प्रतियोगिता गर्ने हो । तर, यस्तै पाराले त ३० वर्षमा पनि एउटै गतिलो रंगशाला बन्दैन ।

खेलकुदमा निजीकरण : हामीले संघलाई स्वायत्त र सक्रिय बनाउन खोज्यौँ । खेलाडी उत्पादन गर्ने काम संघको हो, राखेप र मन्त्रालयको होइन । संघले प्रतियोगिता गर्ने र सरकारले पूर्वाधार बनाउने हो । तर, हामीले मन्त्रालयले नसके पनि स्थानीय सरकार, निजी क्षेत्र र सिएसआरको अवधारणा ल्याएका थियौँ । उद्योगमा पनि सिएसआर बढाएका थियौँ । राष्ट्र बैंकसँग मैद्रिक नीतिका लागि कुरा भए पनि पछि फलो गर्नै पाइएन । गभर्नरसहित राष्ट्र बैंकको टिम नै मन्त्रालय आएको थियो । मैद्रिक नीतिमा के सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको तीन–चार दिनमै सरकार ढल्यो ।

खेलकुदमा त्रिकोणात्मक विवाद : मन्त्रालयको काम अनुगमन गरेर निर्देशन दिने हो । यसलाई खेलकुद महाशाखामार्फत चलायमान गर्‍यौँ । तर, राजनीतिक नियुक्तिमा सबैको इगो छ । राखेप, मन्त्रालय र खेलाडीको हकहितका लागि इगो लिने कोही छैनन् । हामी कसैसँग रिसाउन गएका होइनौँ । राजनीतिक नियुक्तिकै भरमा त्यहाँ भद्रगोल गर्न खोजिएको छ । त्यसैले पनि ऐन परिमार्जित गर्नुपर्ने थियो । अन्तर्राष्ट्रिय मान्यता मसँग छ भनेर बढी धाक लगाउने पनि ओलम्पिक कमिटीमा छन् । हामीले यस्तो राजनीति गर्ने भए चार वर्ष ओलम्पिक कमिटीलाई निलम्बन गर्ने चेतावनी दियौँ । मैले ओलम्पिकमा जाने व्यक्तिको सूची पनि मागेको थिएँ । तर, बेथिति अन्त्य गर्न खोज्दा सरकार नै ढल्यो । मैले खेलकुदमा ऐन कार्यान्वयन मात्रै गर्न खोजेको हो । विधायिकी भूमिका खेलेर आएकाले त्रिकोणात्मक भिडन्तले खेलाडी मारमा नपरून् भनेर काम गर्दै थियौँ । पूरा काम गर्नै पाइएन । तर, यो अनुभवले कुनै न कुनै दिन काम गर्छ ।

पदक कहिले जित्छौँ ? : हामीले ओलम्पिकमा अन्य देशका खेलाडीले खेलेका देख्छौँ । तर, ऊ दसौँ वर्षको तयारीपछि सहभागी भएको हुन्छ । खेलकुदमा सरोकारवालाले समयसापेक्ष प्रविधि भिœयाउनुपर्छ । अभ्यास गर्न कुन देशमा पठाउने हो, त्यसतर्फ लाग्नुपर्छ । हामीले कतार र कोरियाका साथै भारतसँग अभ्यासको कुरा गर्दै थियौँ । हामीकहाँ पूर्वाधारको कमी छ, बनेको पूर्वाधार पनि संरक्षण हुन सकेको छैन । पोखरा, नेपालगन्ज र नारायणीको हालत यस्तै छ । प्रशिक्षण पनि उत्तिकै महत्वपूर्ण छ । सिंहदरबारको खेलकुद मन्त्रालय जता पनि पुग्न सक्दैन । स्थानीय सरकार पुग्न सक्ने हुँदा पूर्वाधार र प्रशिक्षणको जिम्मा अब स्थानीय सरकारलाई सुम्पिनुपर्छ ।

हरेक मन्त्रालयमा सिन्डिकेट : राजनीतिको टेको टेकेर मन्त्रालय छिरेका कर्मचारीलाई ट्र्याकमा ल्याउनै दुई महिना लाग्यो । फाइलको कुरा गर्दा दलीय परम्परा देखियो । मन्त्रालय छिरेको एक सातामै गर्ने भनेका कुरा बाहिरिँदा पनि हुन सकेनन् । स्थायी सरकार मानिने निजामती प्रशासन नै अपग्रेड नै भएन । कम्प्युटर टाइप गर्ने मान्छे नहुँदा तीन दिनसम्म काम रोकिएका उदाहरण छन् । यसले देश झनै पछाडि जान्छ । स्थायी सरकार नै बलियो नहुँदा समस्या हुन्छ । उनीहरू ट्र्याकबाहिर नगए मन्त्रीको केही चल्दैन ।

अन्तरमन्त्रालय तालमेलको अभाव : खेलकुदमन्त्री हुँदा प्रधानमन्त्रीज्यूबाट धेरै सहयोग भयो । गृहसँग राम्रो सहकार्य भए पनि अर्थबाट सहयोग भएन । बजेटको समय भएर पनि हुन सक्छ । तर, सहजै हुनुपर्ने काम पनि दुई महिनाभन्दा बढी लाग्यो । मन्त्रालय दलको दलदलमा फसेको छ । राज्यको संरचनाले पार्टी हेरेर काम गर्ने होइन । उनीहरूले विधि हेरेर काम गर्ने हो । म जनप्रनिधि, मन्त्रिपरिषद्को सदस्य हुँ । मातहतका साथीले अलिकति सहजीकरण गरिदिएको भए खेलाडीको पुरस्कारका लागि तीन महिना लाग्ने थिएन । चाहेर पनि काम राम्रो गर्न सकिएन । खेलकुदबाट पठाएको फाइल अर्थका कर्मचारीले भेट्दैनथे । योभन्दा खराब कुशासनको नमुना अर्को के नै होला र ? अन्तरमन्त्रालय चुनौती खेलकुदमा मात्रै होइन, अन्य मन्त्रालयमा पनि छ । यस्ता अव्यवस्था कायम रहुन्जेल जोसुकै मन्त्री भएर गए पनि उसले काम गर्न सक्दैन।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सर्वदलिय निर्णय
२०८३ भाद्र ३१, बुधबार
ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहुने
२०८३ भाद्र ३१, बुधबार
बाढीप्रभावितलाई विद्युत् सेवामा राहत दिने ऊर्जामन्त्रीको घोषणा
२०८३ भाद्र ३१, बुधबार
पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव सङ्कलन
२०८३ भाद्र ३१, बुधबार
‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु
२०८३ भाद्र ३१, बुधबार
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ भाद्र ३१, बुधबार
चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ भाद्र ३१, बुधबार