असार १४, २०८३ आइतबार June 28, 2026

कक्षा ११ को परीक्षा विद्यालयले लिने, १२ को परीक्षा पुरानै प्रणालीबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिने निर्णय सरकारले गरेको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै लामो समयदेखि केन्द्रीय तहबाट सञ्चालन गरिँदै आएको कक्षा ११ को परीक्षा सञ्चालन र विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालय तहमा पुगेको छ । नेपालमा २०४९ सालदेखि कक्षा ११ को पठनपाठन सुरु भएकोमा केन्द्रीय तहबाटै परीक्षा सञ्चालन तथा विद्यार्थीको नतिजा प्रकाशन गर्ने गरिएको थियो ।

यता माध्यमिक तहको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ । कक्षा १२ को परीक्षाको हकमा कानुन स्पष्ट उल्लेख भएका कारण थप कुनै नीतिगत निर्णय गर्नु नपर्ने र समय अनुकूल भए लगत्तै बोर्डले नै परीक्षा सञ्चालन गर्ने जानकारी सम्बन्धित अधिकारीले दिएका छन् ।

कक्षा १२ को पनि परीक्षा स्थगनकै अवस्थामा छ । उक्त परीक्षा गत वैशाखमा सञ्चालन गर्ने कार्यतालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको थियो तर सरकारको निर्देशनपछि चैत ५ गते परीक्षा रोकिएको थियो । यो खबर आजको गोरखापत्र दैनकिमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया