भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

राजनीतिक दल : विघटन गर्ने कि विनिर्माण ? – गेजा शर्मा वाग्ले

नेपाली समाज र राज्यका संरचनाहरूको लोकतन्त्रीकरण आवश्यक छ तर पार्टीकरण होइन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ऐतिहासिक जनआन्दोलनमार्फत २०४६ मा लोकतन्त्र स्थापना भएदेखि नै राजनीतिक पार्टीहरूको सिद्धान्त, नीति र नेतृत्वका बारेमा व्यापक बहस हुँदै आएको छ । चरम सत्तालिप्सा, अस्थिर सरकार र नेतृत्व पंक्तिको अलोकप्रियताका कारण केही समयदेखि पार्टीको औचित्य र भविष्यबारे ज्वलन्त बहस र पेचिलो विवाद भइरहेको छ ।

विद्यमान राजनीतिक तथा शासकीय विकृति–विसंगतिको प्रमुख स्रोत र समाधान दुवै पार्टी नै भएका कारण सुधार र रूपान्तरणको प्रारम्भ पनि पार्टीबाटै गर्नुपर्ने विचार व्यक्त गरिएको छ । जहिलेसम्म पार्टीमा रूपान्तरण र शुद्धीकरण हुँदैन, त्यहिलेसम्म अहिलेका समस्याबाट मुक्ति पाउने सम्भावना छैन । केही राजनीतिशास्त्री र चिन्तकहरूले सुधार र रूपान्तरण मात्रै होइन, पार्टीलाई विनिर्माण नै गर्नुपर्ने सुझाव दिएका छन् । यदि विनिर्माण नगरे विघटनको दिशातर्फ उन्मुख हुन सक्ने भविष्यवाणीसमेत गरेका छन् ।

लोकतान्त्रिक प्रणालीमा राज्य सञ्चालन पार्टीले गर्ने भएकाले प्रश्न उठ्नु, आलोचना–प्रत्यालोचना हुनु, बहस–विमर्श हुनु स्वाभाविक हो । पार्टी भनेका केवल पार्टीविशेषको आन्तरिक मामला र नेता–कार्यकर्ताको स्वार्थपूर्ति गर्ने माध्यम होइनन्, सार्वजनिक संस्था हुन् । यस्तै प्रश्न, बहस र आलोचनाले पार्टीहरू विकसित, परिमार्जित र उत्तरदायी हुँदै जान्छन् । तर जनताले पटकपटक सचेत तथा दण्डित गर्दा पनि पार्टी र शीर्ष नेतृत्व पंक्तिमा सुधारको संकेत देखिएको छैन । अहिलेका प्रश्न र बहस केवल परम्परागत र नियमित होइनन्, परिवर्तित सन्दर्भमा पार्टी निर्माणसम्बन्धी नयाँ प्रस्ताव र चुनौती हुन् । त्यसैले लोकतन्त्र र पार्टीको भविष्यका लागि यी प्रस्ताव र चुनौतीको निरूपण गर्नु अपरिहार्य छ ।

चुस्त र उत्तरदायी संगठन प्रणाली

उन्नाइसौं र बीसौं शताब्दीमा नेतृत्वले कार्यकर्ता तथा कार्यकर्ताले संगठन निर्माण गर्ने प्रणाली थियो र सांगठनिक संरचनामार्फत जनतासमक्ष जानुपर्थ्यो । तर, एक्काइसौं शताब्दीको डिजिटल युगमा पार्टी निर्माणका सिद्धान्त, शैली र प्रक्रियामा मौलिक परिवर्तन भएको छ । अब त्यस्तो परम्परागत प्रक्रियाबाट पार्टी निर्माणको सम्भावना छैन र आवश्यकता पनि छैन । अब परम्परागत होइन, गैरपरम्परागत शैलीले पार्टी निर्माण हुन्छन् । त्यसैले सबैभन्दा पहिले पार्टी निर्माण प्रक्रियालाई नै पुनर्परिभाषित गर्नुपर्ने परिवेश सिर्जना भएको छ ।

शैक्षिकस्तर, चेतनाको विकास, सूचना प्रविधि तथा सामाजिक सञ्जालको विकासले डिजिटल लोकतन्त्रको युगमा पार्टी पनि डिजिटल प्रणालीबाटै निर्माण हुने नवीन अध्याय सुरु भएको छ । सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत प्रत्यक्ष रूपमा जनतासमक्ष जान सकिन्छ । अहिले यही प्रक्रियामार्फत पार्टी, नेतृत्व र कार्यकर्ताले जनतासमक्ष प्रत्यक्ष संवाद, अन्तर्क्रिया र विचार आदानप्रदान गरिरहेका छन् । राजनीतिक सञ्चार र संवादका दृष्टिले यो सबैभन्दा प्रभावकारी र लोकप्रिय माध्यम भएको छ । त्यसैले अब नीति, सिद्धान्त र एजेन्डाका आधारमा पार्टी तथा भिजन र छविका आधारमा नेतृत्व विकसित, स्थापित वा विस्थापित हुने युग सुरु भएको छ ।

सबै पार्टीका संरचना अत्यन्त ठूला, भद्दा र अनावश्यक छन् । कम्तीमा १५० देखि ५०० सम्मका केन्द्रीय समिति छन् । केन्द्रीय समितिको बैठक नै आमसभा जस्तो हुन्छ । केन्द्रदेखि टोलसम्म ८–९ तहमा संरचना छन् । प्रायः सबै पार्टीका कम्तीमा १५ भन्दा धेरै भ्रातृ तथा शुभेच्छुक संस्था र ३० भन्दा बढी विभाग छन् । भीमकाय अस्थिपञ्जर जस्ता संरचना छन् । तर सिद्धान्त, नीति र आत्मा छैन । अब ठूलो र भद्दा होइन, चुस्त, कार्यमूलक र उत्तरदायी संरचना बनाउन आवश्यक छ । संगठन निर्माण र लोकप्रियताका दृष्टिले भविष्यमा थप महत्त्वपूर्ण र निर्णायक हुँदै जाने देखिएकाले युवापुस्ता र विदेशमा बस्ने नेपाली समुदायलाई विशेष प्राथमिकता दिनु अपरिहार्य देखिएको छ ।

जति धेरै कार्यकर्ता हुन्छन्, त्यति धेरै पार्टीलाई बोझ हुन्छ । तर जति धेरै पार्टी सदस्य हुन्छन्, त्यो पार्टीको सम्पत्ति हुन्छ । त्यसैले सदस्यता संख्या र संगठन प्रणाली जस्ता आधारभूत प्रश्नमा सुधार नभएसम्म रूपान्तरण र शुद्धीकरणको सम्भावना छैन ।

कर्मचारी, प्राध्यापक, शिक्षक, चिकित्सक, वकिल, पत्रकारिता जस्ता गैरराजनीतिक र व्यावसायिक क्षेत्रलाई समेत भ्रातृ तथा शुभेच्छुक संस्थाको नाममा पार्टीकरण गर्दै आइएको छ । यो तहको राजनीतिक हस्तक्षेप र पार्टीकरण लोकतान्त्रिक प्रणालीको मूल्य मान्यता र अभ्यासविपरीत हो । त्यसैले यसबारेमा पुनर्विचार गरी कम्तीमा कर्मचारी, प्राध्यापक, शिक्षक, चिकित्सक, वकिल, पत्रकारिता क्षेत्रका भ्रातृ तथा शुभेच्छुक संस्था खारेज गरी प्राज्ञिक, निजामती तथा व्यावसायिक क्षेत्रको पार्टीकरण गर्ने प्रवृत्ति अविलम्ब अन्त्य गर्नुपर्छ । सुरक्षा निकायमा समेत हस्तक्षेप गरी राजनीतीकरण गर्ने धृष्टता गर्दै आइएको छ । नेपाली समाज र राज्यका संरचनाहरूको लोकतन्त्रीकरण आवश्यक छ तर पार्टीकरण होइन । त्यसैले समाज र पार्टीलाई नै गैरराजनीतीकरण (डिपलिटीसाइज) गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

क्याडर बेस्ड होइन, मास बेस्ड

क्रान्ति, आन्दोलन र संघर्षमार्फत निरंकुशतन्त्रको अन्त्य गरी लोकतन्त्र, गणतन्त्र स्थापना गर्नका लागि तत्कालीन सन्दर्भमा कार्यकर्तामा आधारित (क्याडर बेस्ड) हुन जरुरी थियो र पूर्णकालीन कार्यकर्ता पनि आवश्यक थिए । तर लोकतान्त्रिक गणतन्त्र स्थापना भई स्वाभाविक लोकतान्त्रिक र संवैधानिक प्रक्रिया क्रियाशील भइसकेको अवस्थामा अपवादबाहेक अब क्रान्ति वा संघर्ष गर्नुपर्ने आवश्यकता छैन । कार्यकर्तामा आधारित भनेको कम्युनिस्ट संगठन प्रणाली हो । लोकतन्त्रवादी भएर पनि कम्युनिस्ट प्रणालीबाट प्रभावित र प्रेरित भई कांग्रेस अर्धकार्यकर्ता तथा अर्धजनतामा आधारित पार्टी भएको छ । त्यसैले अब कांग्रेस मात्रै होइन, खुला तथा उदार प्रणाली अनुसरण गरी सबै जनतामा आधारित (मास बेस्ड) पार्टीका रूपमा रूपान्तरित हुनुपर्छ ।

६ करोड ७५ लाख जनसंख्या भएको बेलायतमा लेबरका ४ लाख ३२ हजार (०.६४∞), कन्जरभेटिभका १ लाख ७२ हजार (०.२५∞) र लिबरल डेमोक्रेटिक पार्टीका ७४ हजार (०.११∞) सदस्य छन् । २ करोड ९१ लाख जनसंख्या भएको नेपालमा कांग्रेसका करिब ८ लाख ६० हजार (२.९६∞), एमालेका करिब ६ लाख (२.६∞) र माओवादीका करिब ४ लाख (१.३७∞) सदस्य छन् । यसबाहेक रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायतका पार्टीका पनि उल्लेखनीय सदस्य छन् । बेलायतभन्दा नेपालका पार्टीमा सदस्य धेरै भएको देखियो । संगठन विस्तार तथा लोकप्रियताका लागि पार्टीले सदस्यतालाई प्राथमिकता दिन्छन्, जुन पार्टीको दृष्टिमा स्वाभाविक हो । तर यति धेरै संख्यामा कार्यकर्ता र सदस्य आवश्यक छन् कि छैनन् ? यो गम्भीर बहसको विषय हो ।

एकातिर ठूलो संख्यामा सदस्य छन्, अर्कोतिर नेता–कार्यकर्ता आर्थिक दृष्टिले आत्मनिर्भर छैनन्, मूल नेतृत्वप्रति आश्रित छन् । कतिपय सन्दर्भमा नेता–कार्यकर्ताभन्दा पनि उनीहरू दलाल, बिचौलिया र कमिसन एजेन्ट बढी भएको देखिन्छ । पार्टी र देशलाई योगदान होइन कि राज्यको दोहन गर्ने उद्देश्यले पार्टीलाई प्रयोग मात्रै गरेको देखिन्छ । यही कारणले पार्टी र नेताहरू भ्रष्टाचारको दृश्य–अदृश्य स्रोत र संरक्षक भएका छन् । पार्टीलाई दोहनकारी निकाय बनाउने कि जनताको सेवा गर्ने निकाय ? यस्तो प्रवृत्ति र चरित्रले पार्टीलाई कहाँ पुर्‍याउला ?

प्रायः सबै पार्टीमा साधारण र क्रियाशील/संगठित दुई प्रकृतिका सदस्यता प्रणाली छ । तर जनतामा आधारित पार्टीमा दुई सदस्यता प्रणालीको औचित्य छैन । त्यसैले अब सबै पार्टीले एकल सदस्यता प्रणाली लागू गर्नुपर्छ । यसै गरी पार्टीमा ‘कार्यकर्ता थोरै, सदस्य तथा समर्थक–शुभेच्छुक धेरै’ बनाउने नीति अख्तियार गर्नु उपयुक्त हुनेछ । जति धेरै कार्यकर्ता हुन्छन्, त्यति धेरै पार्टीलाई बोझ हुन्छ । तर जति धेरै पार्टी सदस्य हुन्छन्, त्यो पार्टीको सम्पत्ति हुन्छ । त्यसैले सदस्यता संख्या र संगठन प्रणाली जस्ता आधारभूत प्रश्नमा सुधार नभएसम्म रूपान्तरण र शुद्धीकरणको सम्भावना छैन ।

आन्तरिक लोकतन्त्र र विधि

कुनै पनि पार्टी विधि र विधानसम्मत रूपमा सञ्चालित छैनन् । पार्टीका निर्णय संस्थागत, सहभागितामूलक र पारदर्शी हुँदैनन् । आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर देखिन्छ । नेतृत्वमा अनुत्तरदायी, अपारदर्शी र सत्तामुखी प्रवृत्ति हाबी भएको देखिन्छ । नेतृत्व पंक्ति गुट, स्वार्थ समूह र गिरोहद्वारा सञ्चालित छन् । त्यसैले विधिसम्मत रूपमा पार्टी सञ्चालन गरी आन्तरिक लोकतन्त्र सुनिश्चित नगरी रूपान्तरण सम्भव छैन । रूपान्तरणका दृष्टिले गुट, स्वार्थ समूह र गिरोहका साथै नेता–कार्यकर्ता नै प्रमुख अवरोधक भएको देखिन्छ । यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ?

विधानको प्रयोजन निर्वाचन आयोगमा दर्ता र नवीकरणका लागि मात्रै हो । पार्टीका महाधिवेशन समयमा हुँदैनन् । भए पनि औपचारिकता, कर्मकाण्डी र पार्टी प्रमुखको प्रस्ताव पारित गर्ने मञ्चका रूपमा सीमित हुँदै आएका छन् । महाधिवेशनमा नेतृत्वसमेत स्वस्थ लोकतान्त्रिक प्रक्रियाद्वारा चयन गरिँदैन । एमाले, माओवादी, समाजवादी, जसपा सबैको महाधिवेशनमा त्यही दुःखद दृश्य देखियो । फरक तथा वैकल्पिक विचार, नेतृत्व, धार र मतलाई पार्टीभित्र स्थान छैन । सकेसम्म निषेध र दमन गरिन्छ । यदि नसके पार्टीविरोधी गतिविधि र अनुशासनको नाममा किनारा लगाइन्छ ।

केन्द्रीय समितिलगायत कुनै पनि तहका बैठक नियमित बस्दैनन् । बैठक भए पनि पार्टी प्रमुखको एजेन्डालाई अनुमोदन गर्नेबाहेक थप प्रयोजन छैन । पार्टीका बैठकमा न सैद्धान्तिक–वैचारिक तथा नीतिगत विषयमा सार्थक बहस हुन्छ, न विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह जस्ता जनताका ज्वलन्त समस्याका बारेमा छलफल र निर्णय गरिन्छ । जनताको दृष्टिमा त्यस्ता पार्टीको के औचित्य भयो ?

अपरिहार्य इन्ट्री र अवकाश नीति

पार्टीमा न नेतृत्व विकासका लागि अनुकूल वातावरण छ, न नेतृत्व हस्तान्तरणको लोकतान्त्रिक, विधिसम्मत र स्वस्थ अभ्यास नै छ । आर्यघाट नपुग्दासम्म पदमा टाँसिइरहने प्रवृत्ति छ । शीर्ष नेतृत्व पंक्तिले नेतृत्व विकास प्रक्रियालाई नै स्थायी बन्ध्याकरण गरिदिएका छन् । त्यसैले प्रचण्ड ३५ वर्षदेखि निरन्तर नेतृत्वमा छन् र निकट भविष्यमा नेतृत्व हस्तान्तरण गर्ने सम्भावना पनि देखिँदैन । यसैगरी केपी शर्मा ओली दुई कार्यकाल एमालेको अध्यक्ष भइसके । तर नेतृत्व छोड्न नचाहेकाले विधानमा भएको ७० वर्षे उमेर हद नै खारेज गरिदिए । एमालेमा ओलीलाई, माओवादीमा प्रचण्डलाई, रास्वपामा रवि लामिछानेलाई, जसपामा उपेन्द्र यादवलाई, जनमतमा सीके राउतलाई कि देवत्वकरण गरिएको छ वा नेतृत्वको प्राधिकार स्थापित गरिएको छ । त्यसैले सुदूर भविष्यसम्म पनि ती पार्टीमा नेतृत्व हस्तान्तरण हुने सम्भावना क्षीण देखिन्छ ।

गत जुलाईमा सम्पन्न निर्वाचनमा बेलायतको कन्जर्भेटिभ पार्टीको पराजय र पूर्वप्रधानमन्त्री ऋषि सुनकको राजीनामाको प्रसंग नेतृत्व विकास र अवकाशका दृष्टिले सान्दर्भिक छ । निर्वाचनमा पराजित हुनासाथ नैतिक जिम्मेवारी लिँदै सुनकले राजीनामा गरी पार्टीमा नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गरे । यस्तो नैतिक, उच्च लोकतान्त्रिक संस्कार र सुसंस्कृत अभ्यासले केवल नेतृत्व विकासको दृष्टिले अनुकूल वातावरण मात्रै सिर्जना गर्दैन, अवकाशसमेत सुनिश्चित गर्छ ।

एकातिर ठूलो संख्यामा सदस्य छन्, अर्कातिर नेता–कार्यकर्ता आर्थिक दृष्टिले आत्मनिर्भर छैनन् । कतिपय सन्दर्भमा नेता–कार्यकर्ताभन्दा पनि उनीहरू दलाल, बिचौलिया र कमिसन एजेन्ट बढी भएको देखिन्छ । पार्टीलाई दोहनकारी निकाय बनाउने कि जनताको सेवा गर्ने निकाय  ? यस्तो प्रवृत्ति र चरित्रले पार्टीलाई कहाा पुर्‍याउला ?

नेपालको सन्दर्भमा पनि सबै पार्टीमा नेतृत्व विकास र अवकाशको दृष्टिले उपयुक्त नीति आवश्यक देखिएको छ । पार्टीमा जसरी प्रवेशको नीति हुन्छ, त्यसैगरी अवकाशको नीति पनि हुनुपर्छ । त्यसैले पार्टी प्रमुखको २ कार्यकाल, ७० वर्ष उमेर हद र निर्वाचनमा पार्टी पराजित भएमा वा नेतृत्व हासिल गरेको घडीमा भन्दा लोकप्रियतामा ह्रास आएमा राजीनामा गरी अवकाशका लागि तीन मापदण्ड निर्धारण गर्नु उपयुक्त हुनेछ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको बहुचर्चित ‘एक्जिट पलिसी’ विवादित भएपछि पारित हुन सकेन । तर उनको प्रस्ताव विवादित भए पनि कांग्रेसको सान्दर्भिकता र भविष्यका लागि उक्त मापदण्डका आधारमा कार्यकारी पदबाट अवकाश (बहिर्गमन होइन) लिएर अभिभावकीय भूमिका निर्वाह गर्ने नीति तय गर्नु श्रेयष्कर हुनेछ ।

कांग्रेसमा सभापतिको दुई कार्यकाल तोकिएको छ तर अन्य पार्टीमा छैन । कार्यकाल तोकिएको कारणले नै सभापति शेरबहादुर देउवाको अनिवार्य अवकाश हुँदै छ र आगामी महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुनेछ । यदि कार्यकाल नतोकिएको भए सहज रूपमा नेतृत्व हस्तान्तरणको सम्भावना कमजोर हुने थियो । रूपान्तरण र नेतृत्व परिवर्तनको प्रमुख एजेन्डाका आधारमा बलियो संस्थापन पक्षसँग प्रतिस्पर्धा गरेरै गगन थापा र शर्मा महामन्त्री निर्वाचित भएका थिए । लोकतान्त्रिक अभ्यास, रूपान्तरण र नेतृत्व परिवर्तनको आधार र सम्भावनाको दृष्टिले अन्य पार्टीभन्दा सापेक्षिक रूपमा कांग्रेसमा सकारात्मक र अनुकूल वातावरण देखिन्छ । यसैगरी अन्य पार्टीको तुलनामा रूपान्तरणकारी र परिवर्तनकारी धार र वैकल्पिक नेतृत्व पनि कांग्रेसमा प्रभावशाली देखिन्छ ।

प्रत्यक्ष नेतृत्व चयन र प्राइमरी निर्वाचन

हालसम्म प्रतिनिधिमूलक रूपमा नेतृत्व चयन गरिँदै आएको छ । तर अब पार्टी सदस्यहरूबाट प्रत्यक्ष निर्वाचनमार्फत वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गर्नु उपयुक्त हुनेछ । पार्टीमा हालसम्म नेतृत्व पंक्तिको स्वेच्छाचारिता छ । अब सदस्यलाई सार्वभौम बनाउनुपर्छ । सार्वभौम सदस्यले नै नेतृत्व पंक्तिको स्वेच्छाचारितालाई नियन्त्रण गर्नेछन् । जनता र पार्टी सदस्यसँग प्रत्यक्ष संवाद गरी आफ्नो भिजनमा कन्भिन्स गर्न सक्ने पात्र नै अब नेतृत्वमा स्थापित हुन्छन् । यस्तो अभ्यासले नेतृत्वलाई जनता र पार्टी सदस्यप्रति उत्तरदायी बनाउँछ । पश्चिमा समृद्ध लोकतान्त्रिक देश र पार्टीले यस्तै उच्च लोकतान्त्रिक अभ्यास र संस्कार अनुसरण गरेका छन् ।

लामो समयदेखि नेतृत्वमा रहेका तथा पटकपटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेका कांग्रेस, एमाले, माओवादी, समाजवादी, जसपालगायतका पार्टीका शीर्ष नेतृत्व पंक्ति असफल भइसकेका छन् । असफल नेतृत्वको कारणले ती पार्टी जनतामा समेत अलोकप्रिय हुँदै गएका छन् । यस्तो नेतृत्वप्रति जनतामा ठूलो असन्तुष्टि, आक्रोश र वितृष्णा छ । यस्तो नेतृत्व परिवर्तन नभई मूलधारका पार्टीप्रति जनताको विश्वास पुनः स्थापित हुने सम्भावना छैन । जति छिटो त्यस्तो नेतृत्वबाट मुक्ति पाउँछन्, त्यति नै छिटो ती पार्टीले पुनर्जीवन पाउनेछन् । त्यसैले असफल र अलोकप्रिय नेतृत्वलाई अनिवार्य बिदाइ गरी स्पष्ट दृष्टिकोण र भिजन भएको, उत्तरदायी र जनता तथा कार्यकर्ताले समेत विश्वास गरेको लोकप्रिय नेतृत्व नै अहिलेको समाधान हो ।

यसैगरी आफ्नो क्षेत्रमा विशिष्ट ज्ञान र अनुभव भएका बौद्धिक, व्यावसायिकहरूलाई ‘ल्याटरल इन्ट्री’ (नीति निर्माण तहमा विशेष प्रक्रियाद्वारा पुग्ने प्रावधान) वैधानिक रूपमै सुनिश्चित गर्नु आवश्यक छ । पार्टी रूपान्तरणका दृष्टिले पनि नयाँ विचार, दृष्टिकोण, भिजन भएका बौद्धिक, व्यावसायिकहरूको पार्टीमा भूमिका अपरिहार्य देखिन्छ । वैचारिक रूपान्तरणका दृष्टिले यो अनिवार्य पूर्वसर्त हो ।

संघीयदेखि स्थानीय तहसम्मको टिकट सबैभन्दा विवादित र अपारदर्शी देखिन्छ । यस्ता निर्णयहरू संस्थागत र विधानसम्मत रूपमा गरिँदैनन् । शीर्ष नेतृत्वले गुटप्रेरित र स्वार्थकेन्द्रित भई एकलौटी र स्वेच्छाचारी रूपमा गर्दै आइरहेको देखिन्छ । यही कारणले पार्टीभित्र व्यापक बहस र विवाद मात्रै होइन, कतिपय सन्दर्भमा विद्रोहसमेत हुँदै आएको छ । त्यसैले टिकट वितरण अब निश्चित मापदण्ड र ठोस योग्यताका आधारमा प्राइमरी निर्वाचनका आधारमा गरिनुपर्छ । यदि यस्तो प्रणाली अनुसरण गरियो भने पार्टी रूपान्तरणका दृष्टिले महत्त्वपूर्ण कोसेढुंगा हुनेछ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा मात्रै होइन, राष्ट्रिय सभामा समेत प्राइमरी निर्वाचनका आधारमा निर्णय गर्नुपर्छ । निर्वाचन आयोगसँग परामर्श गरी उपयुक्त कानुन, नियमावली र कार्यविधि बनाएर प्राइमरी निर्वाचन गर्न सकिन्छ ।

पारदर्शी आर्थिक प्रणाली

कुनै पनि पार्टीमा आर्थिक पारदर्शिता छैन । आम्दानी पनि पारदर्शी छैन, खर्च पनि पारदर्शी छैन । औपचारिकताका लागि लेखा परीक्षण गरिन्छ । तर चन्दाका नाममा अदृश्य स्रोत र अतिरिक्त प्रक्रियाबाट पार्टी सञ्चालित हुँदै आएका छन् । चन्दा र आर्थिक सहयोगको नाममा उद्योगी, व्यापारी, व्यवसायी, बिचौलिया, ठेकेदार र बदनाम पात्रहरू हाबी हुँदै आएको देखिन्छ । पार्टीका महत्त्वपूर्ण नीति निर्णयदेखि टिकट वितरणसम्म र ठूला विकास परियोजनामा यस्तो वर्गको भूमिका निर्णायक देखिन्छ ।

आर्थिक स्रोत र आर्थिक प्रणाली पारदर्शी नभएसम्म रूपान्तरणको सम्भावना छैन । पुराना पार्टी मात्रै होइन, नयाँ भनिएको रास्वपामा आर्थिक स्रोत र पार्टी कोषको अपारदर्शिता र अनियमितता फेहरिस्त पूर्वमहामन्त्री मुकुल ढकालले पर्दाफास गरेपछि छर्लंग भएको छ । निर्वाचनमा हासिल गरेको मतका आधारमा राज्यले पार्टीलाई पैसा दिनु उपयुक्त विकल्प हो । तर भ्रष्टाचार र कुशासनका पर्यायवाची भएका पार्टीलाई पैसा दिने प्रस्तावप्रति जनताको तीव्र असहमति र आक्रोश हुन सक्छ ।

निष्कर्ष

पार्टी विनिर्माण गर्ने कि विघटन ? त्यो भन्दा तेस्रो विकल्प छैन । पहिलो विकल्प हो, उपरोक्त सिद्धान्तका आधारमा विनिर्माण गर्ने । होइन भने पार्टीहरूले कल्पनातीत चुनौती र संकटको सामना गर्नेछन् । २०७९ को निर्वाचनमा रास्वपा र बालेनको उदयदेखि टुँडिखेलसम्मको परिदृश्यले पार्टी र नेतृत्वप्रतिको दृष्टिकोण र सम्भावित परिणतिको बारेमा केवल पूर्वसंकेत मात्रै होइन, स्पष्ट सन्देश नै दिएका छन् । के यो कठोर वास्तविकतालाई आत्मसात् गरी पार्टीहरू मौलिक रूपमा रूपान्तरण वा विनिर्माणको दिशातर्फ उन्मुख होलान् ? कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार
राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग
२०८३ भाद्र ३०, मंगलबार
Speaker Aryal, NC leader Angdembey meet
२०८३ भाद्र ३०, मंगलबार
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री
२०८३ भाद्र ३०, मंगलबार
सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता
२०८३ भाद्र ३०, मंगलबार
प्रतिनिधिसभाः बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?
२०८३ भाद्र ३०, मंगलबार
माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने
२०८३ भाद्र ३०, मंगलबार