कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नेकपाको विवाद सहमति उन्मुख, पार्टी पङ्ति खुशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच चुलिएको पछिल्लो विवाद सहमतिउन्मूख रहेको नेताहरूले दाबी गर्नुभएको छ । दुई अध्यक्षको अभिव्यक्तिसमेत सकारात्मक आउन थालेपछि स्थायी कमिटीका नेताहरूले त्यसमा सन्तुष्टि व्यक्त गर्न थाल्नुभएको छ ।

शुक्रबार देशवासीको नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टिभित्रको आन्तरिक विवाद वार्ता र स‌ंवादबाटै सहमति हुने विश्वास दिलाउनुभएको थियो । “जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु-याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो । यसका लागि धैर्य र संयम आवश्यक हुन्छ” भन्नुभएको थियो ।

सोहीअनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चितवन पुगेर पार्टीको आन्तरिक समस्या समाधानउन्मूख रहेको अभिव्यक्ति दिनुभयो । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरिने बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभएको थियो, “जुन भावना र स्पिरिटबाट पार्टी एक भएको थियो, त्यही स्पिरिटबाट अहिले चुलिएको विवाद समाधान हुन्छ ।” अध्यक्षद्वयको अभिव्यक्ति सकारात्मक आएपछि नेकपाका नेताहरूले पनि उत्साहित भएर सामाजिक सञ्जालमा स्टाटस लेखिरहनुभएको छ ।

दुई अध्यक्षबीचको समस्या समाधानका लागि पार्टीले पछिल्लो सात दिनको समय दिएको छ । असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठक आगामी साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । यसअघि असार २६ गतेका लागि निर्धारण गरिएको बैठक सारिएको हो । “दुई अध्यक्षबीचको वार्ता टुङ्गोमा पुगोस् र प्राकृतिक विपदमा परेकाहरूको उद्धार तथा पुनर्स्थापनाको काममा पार्टी पङ्क्ति परिचालित होस्” भन्ने उद्देश्यसाथ बैठक साताभरका लागि स्थगित गरिएको स्थायी कमिटीका सदस्यहरूको भनाइ छ । यस अवधिमा दुई अध्यक्षबीच भइरहेको आन्तरिक संवाद र वार्तामार्फत् आगामी बैठकमा सहमतिको संयुक्त प्रस्ताव आउनेमा नेताहरू विश्वस्त हुनुभएको छ ।

नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले दुई अध्यक्षबीचको वार्ता र संवाद घनीभूतरुपमा चलिरहेको र सकारात्मक दिशामै उन्मुख भएको जानकारी दिनुभयो । दुई अध्यक्षहरू पार्टीको आन्तरिक एकताबारे जानकार रहनुभएकाले कुनै दुर्घटना नहुने विश्वास उहाँले व्यक्त गर्नुभयो । “यद्यपि सहमतिको विन्दुमा पुग्ने काम भइ नसकेकाले समयको प्रतिक्षा गर्नु नै उपयुक्त हुन्छ” उहाँले भन्नुभयो ।

स्थायी कमिटीका अर्का सदस्य रघुजी पन्तले दुई अध्यक्षबीच वार्ता र संवाद भइरहेकाले अर्को बैठकअघि नै सकारात्मक निस्कर्ष आउनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । दुई अध्यक्षबीच भएको वार्ता र सहमतिबारे अझै केही जानकारी बाहिर नआएको बताउनुहुँदै उहाँले स्थायी कमिटीको अर्को बैठकसम्म कुर्नुको विकल्प नरहेको बताउनुभयो । “दुई अध्यक्षहरू अहिले नै सहमतिको टुङ्गोमा पुगिसक्नुभयो भन्ने त मलाई लाग्दैन, तर बैठक सकारात्मक भइरहेको छ सम्म भन्न सकिन्छ” उहाँले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार