मंग्सिर २४, २०८१ सोमबार December 9, 2024

रुसले निजी इरानी उपग्रहहरू कक्षमा प्रक्षेपण गर्ने

मस्कोलाई युक्रेनमाथिको आक्रमणमा इरानी सैन्य हार्डवेयर र प्रविधि विशेषगरी स्व–विस्फोटक शाहेद ड्रोनहरू प्रयोग गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एक रुसी रकेटले मङ्गलबार बिहान दुईवटा निजी क्षेत्रद्वारा निर्मित इरानी उपग्रहहरूलाई कक्षमा प्रक्षेपण गर्ने मस्कोस्थित इरानी दूतावासवले बताएको छ । मस्को र तेहरानबीचको नजिकको अन्तरिक्ष सहयोगको रूपमा यसलाई स्वागत गरिएको छ ।

युक्रेनमाथिको रुसी सैन्य कारबाही र मध्यपूर्वमा भइरहेको द्वन्द्वका बीच यी दुई देशले सम्बन्ध र व्यापार बढाएका छन् । यसमा अन्तरिक्ष प्रक्षेपण उनीहरूको बढ्दो साझेदारीको एउटा पक्ष मात्र हो ।

“इरान–रुस वैज्ञानिक र प्राविधिक सहयोगको विकासको निरन्तरतामा दुईवटा इरानी उपग्रह – कोस्वार र होधहोद – पाँच सय किलोमिटरको कक्षमा प्रक्षेपण गरिनेछ”, मस्कोमा इरानका राजदूत काजेम जलालीले सोमबार सामाजिक सञ्जालमा भन्नुभयो ।

उहाँका अनुसार प्रक्षेपण तेहरान समयअनुसार ०२ः४८ (सोमबार २३ः१८ जीएमटी) मा रुसी सोयुज रकेट प्रयोग गरेर हुनेछ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार इमेजिङ र सञ्चार उपग्रहहरू इरानको ओमिद फजा कम्पनीद्वारा डिजाइन र निर्माण गरिएका हुन् र यसले कृषि, वातावरणीय अनुगमन र दूरदराजका क्षेत्रहरूमा सञ्चारलाई सहयोग गर्नेछ ।

रुसले पहिले पनि केही इरानी उपग्रहहरू प्रक्षेपण गरेको थियो तर जलालीका अनुसार यो निजी क्षेत्रको पहिलो पहल हो ।

“यी दुई उपग्रहको प्रक्षेपणसँगै इस्लामिक गणतन्त्र इरानको निजी क्षेत्रको अन्तरिक्ष क्षेत्रमा प्रवेशको दिशामा एउटा दृढ र निर्णायक पहिलो कदम चालिने आशा छ”, उहाँले भन्नुभयो ।

उही प्रविधि आणविक–सज्जित ब्यालिस्टिक मिसाइलहरू प्रक्षेपण गर्न पनि प्रयोग गर्न सकिने भन्ने डरले पश्चिमी देशहरूले इरानको नवोदित अन्तरिक्ष कार्यक्रमप्रति चिन्ता व्यक्त गरेका छन् ।

तेहरानले उसको अन्तरिक्ष कार्यक्रम शान्तिपूर्ण रहेको भन्दै यो संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावसँग मेल खाने बताएको छ । सुरक्षा परिषद्ले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई सीमित गर्ने लक्ष्य राख्छ ।

मस्कोलाई युक्रेनमाथिको आक्रमणमा इरानी सैन्य हार्डवेयर र प्रविधि विशेषगरी स्व–विस्फोटक शाहेद ड्रोनहरू प्रयोग गरेको आरोप लगाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया