श्रावण १०, २०८३ आइतबार July 26, 2026

एमालेलाई कसैले सहयोग गरेबापत मुद्दाबाट उन्मुक्ति पाउने भन्ने हुँदैन : एमाले उपमहासचिव, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘भारतले प्रधानमन्त्रीलाई नबोलाए सम्बन्ध चिसिन्छ भन्ने बुझाइबाट माथि उठ्नुपर्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक डोनाल्ड ट्रम्प निर्वाचित भइसकेपछि त्यसले विश्वव्यापी रूपमा कस्तो राजनीतिक र आर्थिक प्रभाव पार्ने देख्नुहुन्छ ?

ट्रम्प दोस्रो कार्यकालमा आइसकेपछि धेरै पूर्वानुमान छन् । आफ्नो टिममा एक जना मात्र चयन गरेको, सत्ता हस्तान्तरण हुन दुई महिना बाँकी रहेको अवस्थामा उनको कार्यकालको मूल्यांकन गर्न चुनावी मुद्दालाई आधार बनाउनुपर्ने हुन्छ । उनको अघिल्लो कार्यकालका घटनाक्रम र नीतिलाई नियाल्नुपर्ने हुन्छ । ट्रम्पको उदयपछि विश्वको राजनीतिमा नयाँ अवस्था सिर्जना हुने देख्छु । ट्रम्पको मुख्य जोड अमेरिकालाई महान् र विश्वको पहिलो बनाउनेछ । यसले अन्तर्राष्ट्रिय सरोकार राख्छ । अमेरिकाको आन्तरिक मामलामा गर्भपतन अधिकार, आप्रवासनका विषय छन् ।

त्यस्तै जलवायु परिवर्तनका मुद्दा छन् । मूलतः अमेरिका पहिलो हुने नीति लिइरहँदा यसकै आधारमा अनुमान गर्नुपर्ने हुन्छ । ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले संसारभरको शान्ति प्रक्रियाको जिम्मा लिँदा अनावश्यक भार पर्‍यो । अहिले फेरि उनी नै आइसकेपछि त्यो कसरी व्यक्त होला भन्न गाह्रो होला तर अमेरिका कतिपय देशमा जारी द्वन्द्वमा सहयोग गर्ने दायित्वबाट पछि हट्ने सम्भावना देख्छु । ट्रम्पको संरक्षणवादी नीतिले विश्व व्यापारमा प्रभाव पर्ने, व्यापार युद्ध चर्किने, उत्पादन र मूल्य शृंखलामा प्रभाव पर्ने देखिन्छ ।

अमेरिकाको अब बदलिने नीतिले विश्वका विशेष गरी एसिया र अन्य कतिपय ठाउँमा थप तनाव बढ्न सक्छ । कतिपय देशमा अमेरिकाको संलग्नता घट्दै जाने र युद्ध भइरहेका ठाउँमा शान्ति हुने सम्भावना पनि छ । द्वन्द्व भइरहेका मुलुकमा अमेरिकी सहयोग घट्ने देखिन्छ । अमेरिकाले २०१२ देखि नै एसियालाई केन्द्रमा राखेर प्रशान्त महासागर क्षेत्रलाई रणनीति केन्द्रीकृत गरेको अवस्था छ । त्यसले चीनसँगको सम्बन्धमा तिक्तता हुने देखिन्छ । त्यसको चाप दक्षिण एसिया र नेपालमा पर्नेछ ।

अमेरिकी सरकारको नेतृत्व फेरिँदा नेपालजस्ता देशमा दिइँदै आएको सहायतामा नीतिगत परिवर्तन हुने सम्भावना कति छ ?

नेपाललाई अमेरिकाले सहुलियतपूर्ण व्यापार सुविधा दिँदै आएको छ । त्यसमै धेरै ठूलो परिवर्तन होलाजस्तो लाग्दैन । नेपालमा अमेरिकाको व्यापारको आकार पनि सानो छ । दुईपक्षीय सम्बन्धमा तात्त्विक फरक पर्दैन । तर, हामी होसियार हुनुपर्ने भूराजनीतिक विषयमा हो । ट्रम्पको दोस्रो कार्यकालमा चीनसँग तनाव बढ्ने देख्छु । चीन–अमेरिका व्यापार तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालामा २०१७ मा ल्याएको इन्डो प्यासेफिक स्ट्राटेजी अघि बढाउन एसिया प्यासेफिकमा बढी ध्यान दिएको देखिन्छ । चीन र भारत सम्बन्धमा व्यापार, जलवायु, क्षेत्रीय भूराजनीतिक मुद्दामा ट्रम्पले लिने नीतिको चाप नेपालको विदेश नीतिमा पर्ने देखिन्छ ।

अमेरिका, चीन र भारतबीचको आर्थिक प्रतिस्पर्धाले नेपालमा सकारात्मक, नकारात्मक कस्तो प्रभाव पर्ला ?

हामीले कुशलतापूर्वक हाम्रा बाह्य सम्बन्धलाई अघि बढाउन सक्दा यो अवसर हुन सक्छ । किनभने चीन र भारतको प्रतिस्पर्धा हुँदा अमेरिका नेपालका लागि सहयोगी बन्न सक्छ । विगतमा हामीले नेपालको संविधानको विषयलाई लिएर भारतले असन्तुष्टि प्रकट गर्‍यो र त्यो नाकाबन्दी तहसम्म गयो । त्यतिबेला अमेरिका नेपालको संविधानको पक्षमा दृढतापूर्वक उभिँदा हामीलाई छिमेकका कतिपय दबाबलाई सहजतापूर्वक पार गर्न सजिलो भएको थियो ।

हामीले विश्वास दिलाउन सकियो भने दुई छिमेकी र अरू देशबाट लाभ लिन सक्छौं । भूराजनीतिक टकरावका कारण हाम्रो महत्त्व बढ्दै गएको छ । तर ठिक ढंगले बाह्य सम्बन्ध चलाउन सकिएन भने भूराजनीति प्रतिस्पर्धाको चपेटामा पर्ने जोखिम छ । यो जोखिम ट्रम्पको कार्यकालमा अलि बढी छ । किनभने अमेरिका र चीनको सम्बन्ध सहज हुने देख्दिनँ । भारत र अमेरिकाको साझेदारी अझ गहिरो हुने मेरो अनुमान छ । त्यसले स्वाभाविक रूपले नेपाल र यस क्षेत्रका अरू देशमा दबाब पर्छ ।

ट्रम्पको नीतिमा गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई फर्काउने भन्ने छ, त्यसले त्यहाँ गैरकानुनी रूपमा रहेका नेपालीलाई असर पार्ने देखिन्छ नि ?

अमेरिकामा नेपाली समुदायको उपस्थिति बढ्दै गएको छ । करिब पाँच लाख नेपाली भएको अनुमान छ । त्यसमध्ये केही गैरकानुनी रूपमा बसेका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटमा रिपब्लिकनको स्पष्ट बहुमत छ । तल्लो सदनमा पनि बहुमत आयो भने बलियो म्यान्डेट प्राप्त हुन्छ । अब गैरकानुनी रूपमा बसेका आप्रवासीलाई आआफ्नो देश फर्काउने ट्रम्पको नीति छ । यसले गैरकानुनी रूपमा अमेरिका बसेका नेपालीहरू त्यसको मारमा पर्ने देखिन्छ । अर्को, डीभी प्रणाली पनि रद्द हुन सक्ने र अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्न रोकिन सक्छ । नेपालबाट मानव तस्करीका रूपमा अमेरिका पठाउने कार्य रोकियो भने यो राम्रो हुनेछ ।

कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि हाम्रो छिमेक सम्बन्ध अपेक्षित रूपमा सन्तुलित हुन नसक्नुको कारण के हो ?

नेपालका लागि दुई शक्तिशाली छिमेकीसँग सन्तुलित सम्बन्ध हाम्रो राष्ट्रिय हितको रक्षा र स्वतन्त्र अस्तित्वका लागि ज्यादै महत्त्वपूर्ण कुरा हो । हाम्रो सम्बन्ध अपवादबाहेक इतिहासदेखि केही सन्तुलित छ । पछिल्लो समय खासगरी २०७८ असारपछि जस्तो कोर्समा नेपालको राजनीति गयो, त्यसले हाम्रो बाह्य सम्बन्ध खलबलिएको सत्य हो । नजानिँदो गरी नेपाललाई एकातिर ढल्काउने प्रयास त्यतिबेला भयो । सरकार बन्नुअघि नै हामी तपाईँका लागि ‘कम्फर्टेबल’ भइदिन्छौं भन्ने जस्ता अभिव्यक्ति आए । त्यो अवस्थामा नेपालको बाह्य सम्बन्ध अलिकति धरमराएको सत्य हो ।

पछिल्लो समय यो सरकार आइसकेपछि त्यो सम्बन्धलाई सुदृढ गर्न प्रयत्न गरिरहेको छ । गत महिना अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा हाम्रा प्रधानमन्त्री गएको अवसरमा भारतका प्रधानमन्त्रीसँग साइडलाइन भेटवार्ता भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशबीच सन्तुलित सम्बन्ध बढाउन काम गर्ने विश्वास गर्न सकिन्छ । अझै पनि नेपालमा एक खालको भूराजनीतिक दबाब छ नै । शक्तिराष्ट्रहरू आफ्नो एजेन्डामा नेपाल सहयोगी भइदेओस्, शक्तिशाली देशबीच हुने प्रतिस्पर्धामा आफ्नो कित्तामा उभिदेओस् भन्ने चाहन्छन् । नेपालमा हामी एक ढंगको अमेरिका, भारतको अन्तर्राष्ट्रिय शक्तिको वृद्धि, चीनको प्रतिस्पर्धाको बाछिटा झेल्न बाध्य छौं ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भइसकेपछि भारतसँग सम्बन्ध बिग्रिएको संकेतमा रूपमा दिल्ली भ्रमणको निम्ता नदिएको पनि भनिन्छ । अर्को, ओलीको आसन्न चीन भ्रमणले उत्तर–दक्षिण सम्बन्ध झन् खराब अवस्थामा पुर्‍याउने विश्लेषण गरिँदै छ नि ?

नेपालमा प्रधानमन्त्री भइसकेपछि एक खालको परम्परा नै भारत भ्रमणबाट सुरु हुनुपर्छ भन्ने छ । भारतले प्रधानमन्त्रीलाई बोलाएन भने सम्बन्ध ओझेलमा पर्छ, चिसिन्छ भन्ने बुझाइबाट माथि उठ्नुपर्छ भन्ने म ठान्छु । नेपाल स्वतन्त्र, सार्वभौम देश हो । उसले आफ्ना बाह्य सम्बन्धलाई स्वतन्त्र ढंगले अघि बढाउनुपर्छ । लुकाउनुपर्ने विषय होइन, भारतसँग हाम्रा समाधान गर्नुपर्ने सीमालगायत केही मुद्दा छन् ।

ती मुद्दालाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ । त्यसका लागि औपचारिक कूटनीतिक सम्बन्धलाई सक्रिय बनाऔं भनेर विगतदेखि नै आवाज उठाइरहेका छौं । सीमा समस्यालगायत मुद्दामा कूटनीतिक पहल पनि गरिराख्ने र अन्य क्षेत्रमा व्यापारिक जनस्तरमा सहकार्य पनि सँगसँगै अघि लैजाने हुनुपर्छ भन्ने नेपालको घोषित नीति हो । भारतको समस्या नेपालसँग मात्र होइन, अन्य छिमेकीसँग समस्यारहित सम्बन्ध छैन । माल्दिभ्ससँग पनि केही समस्या छ । हाल शेख हसिनाको बहिर्गमनपछि बनेको सरकारसँग भारतको सम्बन्ध बनिसकेको छैन । पाकिस्तानसँग तनाव कायमै छ ।

नेपालले प्रयत्न नगरेर भारतसँगका सम्बन्ध स्वाभाविक लयमा नफर्किएका हुन् कि ? समस्या भारतीय नेतृत्वमा छ कि ? समस्या के हो भनेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ । अहिले भारतले नेपालका दुई मुख्य दल मिलेर बनेको बलियो सरकारलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन । यो सरकारको विकल्प खोज्ने, नेपालको आन्तरिक मामिलामा चासो राख्नुपर्ने कुनै कारण देखिँदैन । एउटा बलियो, सबल र शान्त नेपाल हुनु नेपालीको मात्र होइन, भारत र चीनको हितमा पनि छ ।

यहाँ त नेपालका प्रधानमन्त्रीले भारतको भ्रमण नगर्दासम्म सरकारको आयुमाथि प्रश्न उठाइन्छ । के सरकार संकटमा परिसकेको हो र ?

नेपालको सरकारको वैधता यहींको संसद्को जनादेशअनुसार हुने हो । नेपाली जनताको स्वतन्त्र फैसलाले सरकार बन्छ । कुनै बेला नेपालको स्थिति अधीनस्थ राष्ट्रजस्तो ठानिने मनोविज्ञान थियो । लामो समयसम्म विशेष सम्बन्ध परिभाषा थियो । त्यो विशेष सम्बन्धभित्र कहीं न कहीं सुरक्षा घेरामा बाँधिएका, हाम्रा नीति कुनै अमूक छिमेकीसँग लय मिलाएर चल्नुपर्ने मनोविज्ञान लामो समय थियो । जुन नेपालको ऐतिहासिक स्वतन्त्रता, सार्वभौकिताका हिसाबले भन्ने हो भने गलत कुरा हो । भ्रमण हुनु, नहुनु एउटा कुरा होला, त्योभन्दा सरकारको प्रतिनिधिका रूपमा परराष्ट्रमन्त्रीले भारत भ्रमण गरी त्यहाँ प्रधानमन्त्रीसमक्ष नेपालको सन्देश पुर्‍याउनुभएको छ । न्युयोर्कमा भएको दुई प्रधानमन्त्रीको साइडलाइन बैठकमा दुईपक्षीय सम्बन्धलाई कसरी अघि बढाउने भनेर खुलस्त छलफल भएको छ ।

चीन भ्रमणको ‘साइड इफेक्ट’ पनि हुन सक्छ ?

हामीले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । शक्तिराष्ट्रको टकरावले नेपालमाथि बेलाबेला दबाब पर्छ । उनीहरूले नेपाललाई आफ्नो पक्षमा पार्ने प्रयास गर्छन् । हामी क्षेत्रीय होस् वा विश्वव्यापी प्रतिस्पर्धाको अंग बन्न सक्दैनौं । प्रधानमन्त्रीले चीन वा भारतको भ्रमण गर्दा नेपालको विकास र राष्ट्रिय हितलाई टेवा पुर्‍याउने हिसाबले काम गर्नुपर्छ । प्रधानमन्त्री पहिले चीन भ्रमणमा जाँदा भारतसँग सम्बन्ध खल्बलिन्छ वा भारत भ्रमण गर्दा चीनसँग सम्बन्ध बिग्रिन्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्छ । दुई छिमेकीमध्ये एकातिर ढोका खुला राखेर अर्कोतिरको ढोकामा ताला लगाउन सक्दैनौं । यो हाम्रा छिमेकीले बुझ्न जरुरी छ । नेपालको भूमि कुनै पनि मित्रविरुद्ध प्रयोग हुन दिँदैनौं ।

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा हस्ताक्षर भएर पनि काम अघि बढ्न सकेको छैन । प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि यो परियोजना अघि बढ्ने सम्भावना छ कि छैन ?

सन् २०१७ मा नेपाल र चीनबीच बीआरआई समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यतिबेला हाम्रो पार्टी प्रतिपक्षमा थियो । कांग्रेस–माओवादीको सरकारका बेला हस्ताक्षर भयो । २०१८ मा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र २०१९ मा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र चीनका राष्ट्रपछि सी चिनफिङको नेपालको राजकीय भ्रमण हुँदा बीआरईलाई थप बल पुर्‍याउने काम भयो । त्यतिबेला बीआरआईअन्तर्गत कुन कुन परियोजना अघि बढाउने भनेर सूचीकृत गर्ने काम भयो ।

कोभिड महामारी सुरु भएपछि बीआरआई पछि धकेलियो । अहिले नेपालमा बीआरआईका कुनै पनि परियोजना सञ्चालनमा छैनन् । आईएनजीओमार्फत दुईवटा ससाना कार्यक्रम चलेका छन् । बीआरआई परियोजना अघि बढाउन जरुरी छ । नेपाललाई विकासशील राष्ट्र बनाउन हुने सहयोगमा अनावश्यक राजनीति गर्नु गलत हो । हिजो एमसीसीमा गिजोल्ने कुरा पनि गलत थियो । अनुदान आए पनि हाम्रो हितमा छैन भने स्वीकार गर्नु हुँदैन । हाम्रो स्रोतले नभ्याउने क्षेत्रमा सहुलित ऋण पनि लिनुपर्छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनमा हस्ताक्षर हुन सक्छ भन्ने लाग्छ, त्यो गर्न जरुरी छ ।

सरकारको प्रमुख घटक कांग्रेसले अनुदान मात्रै लिने, ऋण नलिने भनेर संस्थागत धारणा नै बनाएको छ, यस्तो अवस्थामा बीआरआई कार्यान्वयनमा जाँदा कतै गठबन्धनमै खटपट आउने त होइन ?

पहिले त बीआरआई भनेकै ऋण हो भन्ने बुझाइ सच्याउनु जरुरी छ । बीआरआई त विकासको एउटा अवधारणा हो । पश्चिमा देशहरूले अघि सारेको विश्वव्यापीकरणले एउटा खास समूहलाई लाभान्वित गर्‍यो । विकासशील देशहरू पर्याप्त लाभान्वित हुन सकेनन् । विश्वव्यापीकरणको नयाँ अवधारणाअन्तर्गत समावेशी, हरित विकास र हरेक देशले आफ्नो योजना आफैं छनोट गरेर अघि बढ्ने नयाँ अवधारणा हो । यही विश्वासले १ सय ५० भन्दा बढी देश कुनै न कुनै रूपमा बीआरआईमा जोडिएका छन् । बीआरआई भनेकै ऋणको पासो हो भनेर अहिले पनि जुन भाष्य निर्माण गर्न खोजिँदै छ, त्यो कतैबाट पनि पुष्टि हुँदैन ।

ऋण आवश्यकताअनुसार लिने हो । हामीले विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, युरोपेली विकास बैंकबाट ऋण लिएका छौं । ऋणकै कुरा गर्दा भारतले भूकम्पपछि एक खर्ब सहयोग गर्ने प्रतिबद्धता दियो । सुरुमा हाम्रो बुझाइ सबै अनुदान भन्ने थियो । पछि २५ अर्ब अनुदान र अरू भारतीय एक्जिम बैंकबाट लिने भन्ने कुरा भयो ।

एक्जिम बैंकको ऋण पुनर्निर्माणमा लगाउन सकिन्छ कि भनेर कुरा गरियो । तर, पुनर्निर्माणमा स्थानीय श्रम, सामग्रीहरू जम्मा गरेर पुनर्निर्माण गरी नागरिकलाई सुरक्षित आवासमा फर्काउने थियो । तर, पचास प्रतिशत भारतीय सामग्री प्रयोग गर्नुपर्ने र भारतीय ठेकेदारलाई जिम्मा दिनुपर्ने सर्तले पुनर्निर्माणमा त्यो पैसा लगाउन सकिएन । सडकमा लगाउने कुरा भयो, त्यसमा पनि सडकमा प्रयोग हुने सामग्री अहिले ७५ प्रतिशत स्थानीय नै प्रयोग हुन्छ । त्यो सर्तर् पनि पूरा भएन । अहिले ट्रान्समिसन लाइनमा प्रयोग गर्न सकिन्छ कि भनेर कुराकानी हुँदै छ । विदेशी ऋणको सवालमा सबैतिर यस्ता समस्या छन् ।

चीनसँग ऋण लिने सवालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई उदाहरण दिने गरिएको छ । पछिल्लो पटक पोखराको ऋणलाई अनुदानमा बदल्ने चीन इच्छुक रहेको कुरा पनि आइरहेको छ नि ?

पहिलो कुरा बीआरआई र पोखरा विमानस्थलको सहुलियतपूर्ण ऋण फरक–फरक कुरा हुन् । बेलामौकामा चिनियाँ राजदूतले यो बीआरआई परियोजनाअन्तर्गत हो भनेकाले विवादित स्थिति बनेको छ । तर बीआरआई परियोजनाअन्तर्गत पोखरा विमानस्थल होइन । बीआरआई सन् २०१७ मा हस्ताक्षर गर्‍यौं तर पोखरा विमानस्थल सन् २०१४ मै सुरु भएर काम भइसकेको थियो । यसलाई अनावश्यक विवादमा नल्याएको भए हुन्थ्यो । पोखरा एयरपोर्टको ऋणलाई अनुदानमा बदल्न सकिन्छ कि भनेर छलफल भइरहेको छ । सरकारले पहल गरिरहेको छ ।

खासगरी प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका एजेन्डाका सवालमा सत्तारूढ कांग्रेससँग साझा धारणा बन्न सक्छ कि सक्दैन भन्ने अहम् प्रश्न छ । एउटा दल दक्षिणतिर र अर्को दल उत्तरतिर फर्केका छन्, प्रधानमन्त्रीको चीन भ्रमणपछि नै यी दुई दलमा खटपट आउँछ भन्ने बुझाइ छ नि ?

यो बुझाइ पनि गलत हो । कांग्रेसमै पनि टंकप्रसाद आचार्यले २०१३ मा चीन गएर असाध्यै महत्त्वपूर्ण सहमति गर्नुभयो । चीनसँग सीमा सम्झौतालगायतका महत्त्वपूर्ण सम्झौता गर्ने अगुवाइ बीपी कोइरालाले गर्नुभयो । यसैलाई सम्झेर चिनियाँ नेताहरूले बीपीलाई असाध्यै सम्मान पनि गर्छन् । त्यसैले कांग्रेसलाई भारतमुखी पार्टी हो भनेर लेबल लगाउनु त्रुटिपूर्ण छ । संस्थाका रूपमा कांग्रेसको दृष्टिकोण दुई छिमेकीबीच सन्तुलन कायम राखेर जानुपर्छ भन्ने छ । एमाले त त्यस कुरामा एकदमै प्रस्ट छ । संसारको दोस्रो ठूलो अर्थतन्त्र र पहिलो बन्ने लक्ष्यका साथ अघि बढेको चीन र पाँचौं ठूलो अर्थतन्त्र भएको र निकट भविष्यमै तेस्रो बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको भारतसँग सन्तुलित सम्बन्ध नराखी हामी कहिल्यै अघि बढ्न सक्दैनौं ।

प्रसंग बदलौं, यो सरकार गठन भएको चार महिना बित्न लागिसक्यो, तर सरकारको प्रभावकारिता देखिएन । कतै अल्झिएजस्तो, काममा प्राथमिकता नदिएजस्तो देखिन्छ नि ?

गएको चार महिनामा महत्त्वपूर्ण काम गरेको छ । शिथिल अर्थतन्त्रलाई लयमा ल्याउने, सबैभन्दा ठूलो कुरा निजी क्षेत्रलाई विश्वासमा लिने काम गरेको छ । अर्थतन्त्र संकट मुक्त भयो भन्दिनँ, चुनौती छ । कमसेकम निजी क्षेत्र आशावादी बनेको छ । त्यसको एउटा प्रतिबिम्ब सेयर बजारमा देख्न सकिन्छ । लामो समयदेखि अड्किएको शान्ति प्रक्रिया, खास गरेर संक्रमणकालीन न्यायसँग जोडिएका विधेयक सर्वसम्मत पारित भए । पीडितहरूले न्याय पाउने ढोका खोल्नु आफैंमा महत्त्वपूर्ण पक्ष हो । नेपालको बाह्य सम्बन्धलाई लयमा फर्काउने प्रयास भइरहेका छन् ।

सहकारीपीडितलाई न्याय र राहत दिने, यसमा जोडिएका दोषीमाथि छानबिन र कारबाहीको प्रक्रिया अघि बढेको छ । खास गरेर सरकारको राजस्व संकलन र त्यसमार्फत हुने विकास खर्चमा अत्यन्तै न्यूनता छ । विगतका कतिपय विचलनकारी नीतिका कारण राजस्व र आधिकारिक अर्थतन्त्रभन्दा पनि समानान्तर अर्थतन्त्रतिर मुलुक गयो । पैसाको च्यानल अरू विभिन्न ठाउँबाट प्रयोग भएको देखिन्छ । त्यतिबेला भ्रष्टाचार एकदमै धेरै बढेर गयो । राज्य आफैंले खर्च गर्ने क्षमता नहुँदाखेरि अर्थतन्त्रमा आउनुपर्ने गतिशीलता नआएको देखिन्छ । यसबीच योजना कार्यान्वयनमा धेरै बेथिति छ । संघीय सरकारसँग मात्रै अहिले झन्डै सत्र हजार योजना छन् । मुलुक संघीयतामा गइसकेपछि केन्द्रसँग एक लाखसम्मको बजेट भएको योजना धेरै छन् । स्रोतको यति धेरै दुरुपयोग र छर्ने काम भएको छ । यसले विकासमा समस्या देखिएको छ । प्रधानमन्त्रीको पहलका कारणले भन्दा पनि विगतमा कतिपय विरासतका कारणले अप्ठ्यारो परेको देख्छु ।

माओवादीसहितका विपक्षी पार्टीले यो सरकार बनेकै भ्रष्टाचारका काण्ड छोप्न र संलग्नलाई जोगाउन हो भन्ने आरोप लगाउँदै आएका छन् । सहकारीकै विषयमा पनि सत्तापक्षका नेताहरू जोडिने तर विपक्षी नेताहरू छानबिनमा पर्ने भाष्य बन्दै छ । यसलाई कसरी हेर्नुभएको छ ?

माओवादी अध्यक्ष प्रचण्डलाई ‘मसँग जादुयी नम्बर छ, यो प्रयोग गरेर पालैपालो दुइटा दललाई खेलाएर पाँच वर्षसम्म सत्ता टिकाइराख्छु’ भन्ने आत्मविश्वास र भ्रम थियो । प्रचण्ड अचानक यथार्थको धरातलमा आइपुग्दा अलि विक्षिप्त जस्तो देखिनुहुन्छ । त्यो विक्षिप्तता प्रचण्डले कहिले मुलुक बंगलादेश हुन्छ, कहिले श्रीलंका हुन्छ, कहिले आगो लाग्छ भन्नेजस्ता अत्यन्तै अशोभनीय र गैरजिम्मेवार अभिव्यक्ति दिँदै आउनुभएको छ ।

भविष्यमा कांग्रेस र एमाले एक्ला–एक्लै चुनाव लड्दा त्यसपछि हुन सक्ने राजनीतिक अस्तित्वको संकटको मनोविज्ञानबाट प्रचण्डलाई हेर्नुपर्ने हुन्छ । प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेले पनि ‘हामीले भ्रष्टाचारका फाइल खोल्न ठिक्क पार्दै थियौं, त्यसपछि नै मध्यरातमा दुइटा पार्टी मिलेर गठबन्धन परिवर्तन गरे’ भन्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । यो अभिव्यक्तिमा दुराभावना झल्किन्छ । कुनै पनि सरकारले भ्रष्टाचारको फाइल इच्छा लाग्दा खोल्ने, इच्छा लाग्दा बन्द गर्ने कुरा स्वेच्छारिता हुन्छ । मुलुकमा विधिको शासन छ भने भ्रष्टाचारको फाइल खोल्ने आधिकारिक निकाय अख्तियार, सीआईबी, सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण छन् । यी संस्थालाई निर्बाध काम गर्न दिने हो । फाइल खोल्दै थियौं, अचानक सत्ता परिवर्तन भयो भन्ने कुराले कहीँ न कतै उहाँको दिमागमा राजनीतिक प्रतिशोधले काम गरिरहेको थियो भन्ने देखिन्छ ।

सहकारीकै कुरा गर्दा, छानबिन समितिले सर्वसम्मत रिपार्ट दिएको हो । त्यसमा रास्वपाका शिशिर खनालको हस्ताक्षर छ । प्रतिवेदनमा रवि लामिछानेलाई दोषी देखाइएको छ र सम्बन्धित समितिले कारबाहीको सिफारिस गरेको छ । रविजी निर्दोष हुनुहुन्छ भने अनुसन्धानको प्रक्रियामा जोडिनका लागि यति सारै अत्तालिनुको कारण के ? अहिले जे–जे भनिएको छ, केवल विषयान्तर गर्नका लागि मात्रै हो । हिजो सुन काण्डमा कृष्णबहादुर महरालाई अलग गरेर मुद्दा दायर गर्नुभयो, पछि नयाँ ढंगले छानबिन भएपछि अघि बढ्यो ।

ललिता निवासमा निर्णय गर्ने प्रधानमन्त्रीहरूलाई मुद्दा चलाउनु पर्दैन भनेर निर्देशन दिनुभएकै हो । त्यसकारण दोहोरो मापदण्ड लिन हुन्न । जहाँसम्म वर्तमान सरकारको कुरा हो, दोषी जोसुकै होस्, अनुसन्धानको दायरामा आउँछन् र जुन औंलामा विष लागेको छ, त्यहीँ औला झर्छ । कसैलाई संरक्षण गर्दैन । सहकारीकै विषयमा इच्छाराज तामाङ, ढोरपाटनका मेयर थुनामा जानुभयो । तर, हामीले केही भनेनौं । भोलि धनराज वा अरू कोही दोषी देखिनुभयो वा कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री दोषी देखिनुभयो भने कतै पनि कसैले संरक्षण गर्दैन । भ्रष्टाचारमा पनि समानुपातिक कारबाही गर्नुपर्छ भन्ने हुन्न होला, माओवादी र रास्वपाका साथीहरूले बुझ्नुपर्छ ।

सहकारीका ठगहरू पक्राउ पर्ने तर पीडितको पैसा फिर्ता गराउने दिशामा भने सरकारको प्राथमिकता नपरेको हो कि भन्ने परेको छ नि ?

यसबीच सहकारीपीडितहरूको पैसा फिर्ता गर्न खोजिएको छ । केही दिनअघि मात्रै पचास हजार वा एक लाखभन्दा कम हुनेको सम्पूर्ण हिसाबकिताब र अरू कतिपयको आंशिक गरेर दस हजार जतिको बचत फिर्ता गरेको अवस्था छ । त्यो क्रम निरन्तर जारी रहन्छ ।

यो सरकार गठन हुँदा दुई दलबीच भएको सहमतिमा संविधान संशोधनको मुख्य एजेन्डा अघि सारिएको छ । तर यसबीचमा संविधान संशोधनका बारेमा छलफल र प्राथमिकता देखिएन । खालि सत्ता बनाउने आवरणका लागि मात्रै त्यो विषय उठाइएको हो ?

संविधान कार्यान्वयनको समग्र छलफल गर्ने र निष्कर्ष निकाल्ने बेला भयो र आवश्यकताअनुसार पुनरावलोकन गर्ने बेला भयो भन्ने बोधका साथ उठाइएको हो । कुनै राजनीतिक औजारका रूपमा होइन, आवश्यकताका आधारमा संविधान संशोधनको संकल्प गरिएको हो । संविधान स्वयंले समावेशी सातवटा आयोग, दलित र महिलाको समावेशी प्रतिनिधित्वको सन्दर्भमा हरेक दस–दस वर्षमा हुने मानव विकास सूचकांकका आधारमा पुनरावलोकन गर भन्छ । दस वर्ष आफैंमा लामो यात्रा हो । संविधानको कार्यान्वयनको यो बीचको सबल पक्ष, कमीकमजोरी र संविधानले परिलक्षित गरिएको समृद्धिको लक्ष्य हासिल गर्ने सन्दर्भमा कुन–कुन पक्ष साधक रहे समीक्षा गर्ने बेला भएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा राजनीतिक अस्थिरता डरलाग्दो रोगका रूपमा रह्यो ।

बहुदलीय व्यवस्थायता ३४/३५ वटा सरकार फेरिए । एकातिर दक्षिण छिमेकी छ, जसले लगातर तेस्रो पटक चुनाव जितेर बलियो र स्थिर सरकारमार्फत आर्थिक विकासको उचाइतर्फ अघि बढिरहेको छ । उत्तरतिर फरक राजनीतिक प्रणाली छ, तर राष्ट्रपति सी चिनफिङले विधान नै संशोधन गरेर तेस्रो कार्यकालतिर अगाडि बढिरहनुभएको छ । दुई छिमेकी विश्वशक्ति बन्ने दिशामा अगाडि बढ्दै छन्, बलियो र स्थिर सरकार छ । हामीकहाँ सरकार फेर्ने क्रम मात्रै चलिरहेको छ । यसका लागि कहीँकतै निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भने त्यसका लागि हामी तयार हुनुपर्छ भन्ने निष्कर्ष हो । राजनीतिक स्थिरताका लागि मुलुकको राजनीतिक प्रणाली एकातिर, दलको आचरण र नेतृत्वको भूमिका पनि उत्तिकै जिम्मेवार हुन्छ । प्रदेशको वर्तमान प्रतिनिधित्वको तौरतरिका पनि फेर्नुपर्नेछ ।

संविधान संशोधन गरेर साना दलको अस्तित्व समाप्त पार्न खोजिँदै छ भन्ने पनि सन्देश गइरहेको छ नि ?

त्यो उहाँहरूको मनोवैज्ञानिक भय हो । पार्टीहरू त्यतिबेला मात्रै सान्दर्भिक हुन्छन्, त्यतिबेला जनताबाट जनमत प्राप्त गर्छन् । इतिहासमा प्रजा परिषद् अत्यन्तै सम्मानजनक र ठूलो योगदान भएको पहिलो पार्टी हो । तर, समयअनुकूल बदलिन नसक्दा अस्तित्वविहीन भयो । समयअनुकूल बदलिन नसकिने हो भने कानुन र संविधानको कुनै धाराले अस्तित्व जोगाउन सक्दैन । एक प्रतिशत थ्रेसहोल्ड पनि कटाउन नसक्ने दल छन् । पहिलो कुरा त दलहरूले जनाधार बढाउनुपर्छ । राजनीतिक दल भनेको विचारधारामाथि आधारित भएर अघि बढ्ने हो ।

तपाईंको पार्टीका महासचिवले त तीन प्रतिशतको थ्रेसहोल्डलाई बढाएर दस प्रतिशत पुर्‍याउनुपर्छ भन्ने अभिव्यक्तिले त दुईदलीय प्रणालीमा लैजान खोजेको आशंकालाई बल पुर्‍याउँछ नि ?

अहिले त्यस्तो हुने सम्भावना देख्दिनँ । संस्थागत ढंगले कुनै निर्णय भएको छैन । थ्रेसहोल्ड नबढाए पनि राष्ट्रिय पार्टी भन्ने कतिपय दल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये २० वटामा पनि उम्मेदवार नदिने, एउटा प्रदेशभन्दा बाहेक अन्त उपस्थिति नहुने, एउटा समुदायको भन्दा अरूको प्रतिनिधित्व नगर्ने खालका छन् । त्यस्ता दललाई राष्ट्रिय मान्ने कि नमान्ने ?

सरकारको नेतृत्व गरिरहेको एमालेले राजस्व, सम्पत्ति शुद्धीकरण, किर्ते जस्ता मुद्दामा अनुसन्धान भइरहेको व्यापारीबाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि दान लिएपछि, त्यसमा कतै स्वार्थ देखिँदैन र ?

यो विषय अदालतमा मुद्दा परेर विचाराधीन अवस्था छ । समग्र पक्ष हेरेर केही कुरा बताउँला । तर, राजनीतिक दलहरूले कस्तो व्यक्तिबाट सहयोग लिने, कस्तो व्यक्तिबाट नलिने भन्नेबारेमा प्रस्ट मापदण्ड छैन । राजनीतिक दलसम्बन्धी ऐनमा पच्चीस हजारभन्दा बढी सहयोग प्राप्त गर्दा बैंकिङ प्रणालीमार्फत गरिनुपर्छ र स्वार्थ बाझिने गरी लिनु हुन्न भन्नेबाहेक प्रस्ट मापदण्ड छैन । मापदण्ड बनेको दिन हामी एकदमै खुसी हुनेछौं । संविधान बनाउने ठाउँमा उद्योगपति, व्यापारीलाई ल्यायौं । अहिले पनि संसद्मा क वर्गका ठेकेदारको उल्लेख्य उपस्थिति छ । जसले बारम्बार सार्वजनिक खरिद ऐनलगायतका विषयमा, लेखा समितिबाट हुने गरेका छानबिनमा, अर्थ समितिमा आर्थिक नीतिमा प्रभाव पार्ने काम गरिरहेको छ । एकातिर उहाँहरू पनि देशको नागरिक हो, भावनाको प्रतिनिधित्व हुनैपर्छ । उहाँहरूको स्वार्थ र मुलुकको नीतिलाई कसरी अलग पार्ने हो भन्नेबारे बहस हुन जरुरी छ ।

एमालेलाई कसैले सहयोग गरेबापत मुद्दाबाट उन्मुक्ति पाउने भन्ने हुँदैन । त्यसो भए, केपी ओली नेतृत्वकै सरकारका बेला ललिता निवासको मुद्दा उठ्दै उठ्थेन । अख्तियारले फाइल बन्द गरिसकेको छ । विशेष अदालतले टुंगाइदिएको विषय थियो । एक जना वकिलले सारै पीडाका साथ मुद्दा लडिरहनुभएको थियो र उहाँ सरकारको सम्पर्कमा आइसकेपछि अनियमितता उजागार भएको हो । ललिता निवासलाई सरकारीकरण गर्ने कार्य एमालेकै सरकारले गरेको हो । स्वार्थ बाझिने भए त्यतिबेलै बाझिन्थ्यो होला । तर, कस्तो सहयोग लिने, कस्तो नलिने भन्नेबारेमा एउटा मापदण्ड अदालतले बनाइदिए सहज हुन्थ्यो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार