काठमाडौं। स्थानीय तह उपनिर्वाचन आगामी १६ मंसिरमा हुँदै छ । आइतबार उम्मेदवारी दर्ता उत्साहजनक एवं शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा ठूला तीन दलले दलबलका साथ उम्मेदवारी दर्ता गराए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र केही साना दललाई उम्मेदवार पाउनै धौधौ परेको देखिएको छ ।
सत्तारूढ एवं संसद्का सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रायः सबै ठाउँमा उम्मेदवारी दर्ता ग¥यो । केही ठाउँमा कांग्रेस र एमालेबीचमा अघोषित रूपमा गठबन्धन पनि गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पनि प्रतिपक्षी दलहरूसँग केही ठाउँमा गठबन्धन गरेको छ ।
निर्वाचन आयोगका अनुसार रिक्त ४४ पदमा हुने उपनिर्वाचनका लागि ४ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, रास्वपा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लगायतका दललाई उम्मेदवार पाउनै धौधौ परेको देखिएको छ ।
संसद्को चौथो ठूलो दल रास्वपा पहिलोपटक स्थानीय तहको निर्वाचनमा सहभागी हुँदै छ । दुई पूर्वप्रधानमन्त्री रहेको दल एकीकृत समाजवादीले केही ठाउँमा माओवादी केन्द्रसँग गठबन्धन गरेको छ ।
देशैभरी स्थानीय तहमा रिक्त रहेका ४४ पदमध्ये रास्वपाले २७ स्थानमा र एकीकृत समाजवादीले २० स्थानमा मात्रै उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीले कोशी प्रदेशअन्तर्गत मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा दिलबहादुर विश्वकर्मा, सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्षमा डोमी उराव, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा निर्मला चौधरीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, मधेस प्रदेशअन्तर्गत रौतहटको ईशनाथ नगरपालिका–७ को वडाध्यक्षमा सदरे आलम, गढीमाई नगरपालिका–८ को वडाध्यक्षमा बजरंगीप्रसाद यादव, धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा गोपाली साहलाई उम्मेदवार बनाइएको छ ।
यस्तै, एकीकृत समाजवादीले बाग्मती प्रदेशअन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रविना खड्का, नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्षमा मानबहादुर लामा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्षमा बलराम बल, काठमाडौंको काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा मीनबहादुर मानन्धर, कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा रीता खड्कालाई उम्मेदवार बनाएको छ ।
यसैगरी, एकीकृत समाजवादीबाट कर्णाली प्रदेशअन्तर्गत दैलेखको महाबु गाउँपालिका अध्यक्षमा जगत हमाल, दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा जगत शाही, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा जमुना शाही, कुसे गाउँपालिका–७ को वडाध्यक्षमा वीरबहादुर सिंह, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सौभाग्य शाही, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा धनबहादुर घर्ती, रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षका लागि हंशराज पुरीले उम्मेदवारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको स्वामी कार्तिकखापर गाउँपालिकाको उपाध्यक्षका लागि जवा शाही, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि जीतेन्द्र चन्दलाई एकीकृत समाजवादीले उम्मेदवार बनाएको छ ।
त्यस्तै, रास्वपाले देशका विभिन्न निर्वाचन क्षेत्रमध्ये २७ वटा स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीका अनुसार रास्वपाले कोशी प्रदेशअन्तर्गत मोरङको ग्रामथान नगरपालिकाको अध्यक्षमा नवीनकुमार खवासलाई उम्मेदवार बनाएको छ । त्यस्तै, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्षमा सञ्जीव खड्का, सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्षमा शशीकुमार साहु, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा विष्णुप्रसाद कोइराला, ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ को वडाध्यक्षका लागि देवीप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।
कांग्रेस-एमाले मिल्दा पनि माओवादीलाई हराउन फलामको चिउरा
यता, स्थानीय तह उपनिर्वाचनमा पूर्वी रुकुमको पुथा उत्तरगंगामा कांग्रेस र एमालेले चुनावी तालमेल गरेका छन् । पुथा उत्तरगंगाको उपाध्यक्षमा एमालेकी उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सहयोग गर्ने भएको हो । चुनावी तालमेल विगतमा पनि हुँदै आएको भए पनि यहाँ रोचक के छ भने केशकुमारी कांग्रेसको निर्वाचन चिह्न रूखमा लड्दै छिन् ।
त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष चयनका लागि एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई कांग्रेसले समर्थन गरेको छ । कांग्रेसले वडा नं. २ मा रोकालाई समर्थन गर्ने भएको छ । पुथा उत्तरगंगा माओवादीको गढ मानिन्छ । कांग्रेस र एमाले नमिली सो क्षेत्रमा माओवादीलाई हराउन नसकिने निष्कर्षसहित तालमेल भएको बताइएको छ ।
माओवादीले नरपुरा बुढा पुनलाई उममेदवार बनाएको छ । आसन्न स्थानीय तह उपनिर्वाचनमा सो पालिकामा उपाध्यक्षका लागि नेकपा (एकीकृत समाजवादी)बाट सुनिता बुढा, स्वतन्त्रबाट मोहनभक्त बुढा र कोपिला पुन बुढाले उम्मेदवारी दिएका छन् ।
गत स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भूपेन्द्रा बुढा र वडा नं. २ का वडाध्यक्ष जसबहादुर श्रीपालीको सडक दुर्घटनामा मृत्यु भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । भूपेन्द्रा र जसबहादुर दुवै माओवादी केन्द्रबाट निर्वाचित थिए । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा पनि सो पालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र नै निर्वाचित भएको थियो ।
स्थानीय तह उपनिर्वाचनमा कांग्रेस र एमाले मिल्दा पनि पुथा उत्तरगंगामा भने माओवादीको पल्लाभारी हुने देखिएको छ । गत स्थानीय तह निर्वाचनमा पुथा उत्तरगंगाका १४ वडामध्ये नौवटा वडामा माओवादीको प्यानल नै निर्वाचित भएको थियो । दुईवटा वडामा भने अध्यक्षसहित तीन–तीन जना निर्वाचित भएका थिए ।
यस्तो छ गत स्थानीय तह निर्वाचनको मत परिणाम
गत स्थानीय तह निर्वाचन २०७९ मा पुथा उत्तरगंगामा माओवादी केन्द्रका पुनीराज घर्ती निर्वाचित भएका थिए । माओवादीका घर्ती ३ हजार ९ सय १३ मतले निर्वाचित हुँदा कांग्रेसका तेजेन्द्र खामले २ हजार १ सय १३ र एमालेका बागलाल बुढाले १ हजार ८ सय ५२ मत प्राप्त गरेका थिए । कांग्रेस र एमाले दुवैको मत जोड्दा पनि माओवादीका घर्तीले प्राप्त गरेको मत ५२ ले मात्रै घटी हो ।
त्यस्तै, उपाध्यक्षमा माओवादीकी भूपेन्द्राले ४ हजार ४९ मत ल्याएर निर्वाचित भएकी थिइन् । कांग्रेसकी कलाकुमारी मल्लले २ हजार १० र एमालेकी धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत पाएकी थिइन् । भुपेन्द्राले पाएको मत कांग्रेस र एमालेका उम्मेदवारले पाएको मत जोड्दा पनि माओवादी २ सय २७ मतले अगाडि छ ।
प्रतिनिधिसभाका सबैभन्दा ठूला दुई दल मिलेर संघीय सरकार बनाएसँगै जनतामा कांग्रेस र एमालेप्रति वितृष्णा बढ्दै गएको छ । गठबन्धन संस्कृति जनताले मन नपराएको र गठबन्धनमा निर्वाचन लड्दा साना दलका नेताहरू पनि निर्वाचित भएर संसद्मा आई च्याँखे दाउ थापेको कांग्रेस र एमालेले आरोप लगाउँदै आएका थिए ।
एमाले महासचिव शंकर पोखरेलले त दुई दलीय व्यवस्थाको वकालत गर्दै आएका थिए । तर, स्थानीय तह निर्वाचनमा नै उनीहरूले गठबन्धनको रणनीति अपनाएको जनताले मन नपराउने धेरैको अनुमान छ । यस आधारमा दुई ठूला दल मिल्दा पनि पुथा उत्तरगंगामा कांग्रेस र एमालेलाई माओवादीको पल्लाभारी हुने देखिएको छ । राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया