असार २३, २०८२ सोमबार July 7, 2025

आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी : धर्मेन्द्र झा

प्रत्येक टोलीका मार्की खेलाडीले एक पटकका लागि रु २० लाख पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सुरु हुन केही घण्टा मात्र बाँकी छ । विश्वव्यापी रुपमा चर्चा बटुलेको एनपिएलको आयोजना हुँदै गर्दा निश्चय पनि नेपाली क्रिकेटका पहिलो र दोस्रो पुस्ताका खेलाडी र क्रिकेट व्यवस्थापकहरुले खुसी मान्दै सन्तोषको श्वास लिएको हुनुपर्छ । नेपाली क्रिकेटका सम्बन्धमा उनीहरुले देखेको सपना एनपिएल मार्फत पूरा हुने देखिएको छ । यसको महत्व खेलमा मात्र सीमित छैन बरु नेपाली पर्यटन, नेपाली समाज र समग्रमा नेपाली अर्थतन्त्रका बारेमा विश्वले

नया ढङ्गले सोच्न बाध्यात्मक अवस्थाको समेत निर्माण गरेको छ । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्नुभएको उद्गार महत्त्वपूर्ण छन् ।

प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्दै एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्ने धारणा राख्नुभएको थियो । एनपिएलबाट लुकेर बसेका युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो । एनपिएल क्रिकेटको मात्र नभएर नेपाली खेलकुदको कोशेढुङ्गा बन्ने उहाँको बुझाइ छ । यसले नेपाली खेलाडीका लागी व्यावसायिक ढोका समेत खोलेको छ ।

सरकारले एनपिएललाई सक्दो सहयोग र प्रोत्साहन गर्ने घोषणा गरेको छ । यसबाट के बुझिन्छ भने राज्यले नेपाली खेलकुदलाई विगतमा जे जसरी लिएको थियो त्यसमा परिवर्तन आएको छ । अर्थात् अब नेपाली खेलकुदलाई सरकारको पूर्ण समर्थन र साथ रहने देखिन्छ । सरकार खेलाडीको साथमा छ । र उनीहरुसँगै होस्टेमा हैँसे गर्न चाहन्छ । सरकारको साथ पाउने कुराले क्रिकेट खेलाडी र यसका लगानीकर्ता हौसिएका छन् । एनपिएलमा साझेदार रहेका सरकारी तथा नीजि क्षेत्र उत्साहित छन् । एनपिएलमा नीजि क्षेत्रले गच्छेअनुसारको साथ दिएको छ । अगामी दिनमा पनि उनीहरु क्रिकेटलाई मात्र होइन् समग्र नेपाली खेलकुदको विकासमा मद्दत गर्न तयार छन् ।

क्रिकेट अबको पुस्ताको सपना र गौरवको विषय हो । एनपिएलका माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थपिएको छ । एनपिएलले नेपाली खेलाडीका लागि व्यावसायिक ढोका खोलेको छ । हिजोसम्म खेलाडीले घरको लगानीमा खेल्दै आएका थिए । पारिश्रमिक पाउने त टाढाको कुरा उनीहरुलाई खेल सामग्रीको अभावले पनि सधैँ पिरोल्ने गरेको थियो । क्रिकेट खेल्न ब्याट अभाव हुँदा उनीहरु गाउँघरमा दाउराको ब्याट बनाएर खेल्ने गर्दथे । बल किन्ने पैसो नहुँदा मोजाको डल्लो बनाएर खेलेको इतिहास हाम्रै अघिल्तिर छ । क्रिकेटको पहिलो र दोस्रो पुस्ता यो अवस्थासँग परिचित छ । हिजोको अवस्थामा अहिले निकै परिवर्तन आएको छ । एनपिएलले नेपालको क्रिकेट खेलाडीका आर्थिक अवस्थामा सुधार ल्याउने पक्कापक्की छ । सुरुआतमै एनपिएलमा सहभागी खेलाडीले राम्रो पारिश्रमिक पाउनुले पनि यो कुराले पुष्टि गर्दछ । प्रत्येक टोलीका मार्की खेलाडीले एक पटकका लागि रु २० लाख पाउने भएका छन् । तीन वर्षका लागि उनीहरुले रु ६० लाख पाउने निश्चित भएको छ । एनपिएलले खेलाडीका लागि विदेशमा बढीभन्दा बढी पारिश्रमिकमा विदेशी लिग खेल्ने वातावरण बनाउने अवसर मिल्ने छ । एनपिएलको प्रदर्शनबाट नेपाली क्रिकेट खेलाडीलाई विदेशी लिग खेल्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

एनपिएल नेपालको क्रिकेटलाई विश्वमा चिनाउने माध्यम बनेको छ । यसले नाम मात्रका लागि होइन साँच्चिकै विश्वको ध्यान तान्ने छ । एनपिएलका कारण नेपालको खेल पर्यटनलाई मद्दत पुग्ने छ । सारा विश्वले नेपालको क्रिकेटबारे जान्ने बुझ्ने अवसर प्रदान प्राप्त गर्नेछन् । एनपिएलको सफल आयोजनाले नेपाली भूमि अरु देशका झैँ ठुल्ठुला लिग तथा प्रतियोगिता खेल्ने भूमि बन्ने छ । अरु देशले पनि नेपालमा प्रतियोगिता आयोजना गराउन सक्नेछन् ।

एनपिएलको ट्रफीमा सगरमाथा आधारशिविर कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको छ । पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट उक्त ढुंगा ल्याउनुभएको हो । प्राकृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन ट्रफीमा उक्त ढुंगा राखिएको आयोजकको भनाइ छ । निश्चितरुपमा ट्रफीका माध्यमबाट पनि यसको विश्वभर सकारात्मक सन्देश जाने छ । सारा विश्व जलवायु परिवर्तनको चपेटामा छ । यसबाट नेपाल झन् धेरै प्रभावित बनेको छ । सगरमाथा आधारशिविरको ढुंगा एनपिएलको ट्रफीमा राखिनुले अझ खास महत्त्व राख्ने छ । यसले खेलका माध्यमबाट जलवायु परिवर्तनबाट परेको असरबारे नेपाल कति चिन्तित र संवेदनशील छ भन्ने सन्देश दिन पुगको छ । यसले हिउँ पग्लिएर काला चट्टान हुँदै गरेको अवस्थालाई विश्वसामु उजागर गर्ने छ ।

एनपिएलले विदेशी खेलाडीसितको सम्बन्ध बढाएको छ । उनीहरुसित यहाँका खेलाडी राम्रोसँग घुलमिल गर्न पाउने छन् । एकसाथ खेल्दा विश्वमै चिनिएका ती खेलाडीको खेल नजिकबाट नियाल्ने र बुझ्ने मौका मिल्ने छ । यसपटक एनपिएलले सारा विश्वको ध्यान आकर्षित गरेको छ । एनपिएलमा विश्वभरबाट आएका ४० विदेशी खेलाडीको सहभागिता अझ विशेष बनेको छ । यसबाट नेपालको क्रिकेटबारे विश्वभर सकारात्मक सन्देश गएको छ । एनपिएलमा सहभागी आठवटै क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलो संस्करणका लागि एउटा टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनाएको छ ।

एनपिएलले विश्वका अरु देशका ठूला ठूला लिग प्रतियोगिता खेल्ने अवसर सृजना गर्ने छ । एनपिएलमा गरेको प्रदर्शनकै कारण नेपाली खेलाडी विदेशका चल्तिका लिगमा स्थान बनाउन सक्ने अवस्था देखिएको छ । आइपिएलपछिको दोस्रो ठूलो लिगका रुपमा एनपिएललाई हेरिएको छ । त्यसैले विश्वको ध्यान यतातर्फ गएको छ ।

सरकारी तथा नीजि क्षेत्रले पहिलोपटक नेपाली खेलकुदमा यतिधेरै लगानी गरेको छ । राज्यले नेपालको खेलकुदमा पर्याप्त लगानी गर्न सकेको छैन । एनपिएलका माध्यमबाट सरकारी तथा नीजि क्षेत्रको यतिधेरै ध्यान पहिलो पटक गएको छ । खासमा क्रिकेट खेलाडी मात्र होइन, सारा नेपाली खेलाडी घरको लगानीको भरमा खेलमा समर्पित भएको अवस्था छ । घरपरिवारको साथले मात्र उनीहरु विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यसका लागि उनीहरुलाई सरकारी तथा नीजि क्षेत्रको पर्याप्त साथको आवश्यकता छ । खेलकुद स्वयम् खेलाडी र उनीहरुका अभिभावकका भरमा छाड्ने हो भने केवल सहभागितामा मात्र सीमित बन्ने छ ।

केही वर्षअघिसम्म नेपालका खेलकुद प्रतियोगिता प्रत्यक्षरुपमा हेर्न असम्भव जस्तै थियो । यसका लागि प्रतियोगिता स्थल सम्मै पुग्नुबाहेक अन्य विकल्प थिएन । नेपाली खेलकुदका समर्थक तथा प्रशंसकले विश्वको जुनसुकै कुनाबाट पनि एनपिएल प्रत्यक्षरुपमा हेर्न सक्नेछन् । चर्चित स्पोर्टस् टेलिभिजन ‘स्टार स्पोर्टस्’ले प्रतियोगिताका सबै ३२ खेलको प्रत्यक्ष प्रसारण गर्दैछ । नेपालमा पहिलोपटक आजदेखि सुरु हुनगइरहेको नेपाल प्रिमियर लिग भारतीय घरेलु क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) कै ढाँचामा सुरु हुन लागेको छ । एनपिएल नेपाली क्रिकेटका लागि चुनौती र अवसर दुवै हो । नेपालमा विगतमा पनि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, नेपाल टी २० लिगलगायतका फ्रेन्चाइज प्रतियोगिता आयोजना गरिएका थिए । तर पहिलो संस्करणको एनपिएलभने हालसम्मकै ठूलो प्रतियोगिता हो । खेलाडीहरूका लागि एनपिएलले विशेष महत्त्व राखेको छ । खेलाडी आर्थिक रुपमा पनि बलिया भएका छन् । उनीहरु कम्तीमा रु दुई लाखदेखि बढीमा रु २० लाखसम्ममा अनुबन्धित भएका छन् ।

फ्रेन्चाइज टोलीले रु सात करोडदेखि रु नौ करोडसम्म खर्च गरेका छन् । टोलीका मालिकहरूले यसलाई नेपाली क्रिकेट विकासको सुरुआती लगानीका रूपमा लिएका छन् । उनीहरुले आगामी दिनमा समेत लगानीलाई निरन्तरता दिने सोच बनाएका छन् । क्यानले यसपटकको एनपिएललाई लगानी वर्षको रूपमा लिएको छ । एनपिएलका माध्यमबाट कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति भएको छ । डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ । दर्शकका लागि अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ ।

विदेशी खेलाडी अनुबन्धले एनपिएललाई अझ खास बनाएको छ । उनीहरुको सहभागिताले नेपाली क्रिकेटको विकासमा थप मद्दत पुगेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने जस्तै एनपिएलले ठूलो उचाइ लिने विश्वास गरिएको छ । एसोसिएट देशमा गरिएको यो लिगलाई विश्वभर विशेष रुपमा हेरिएको छ । केही एसोसिएट देशले यस्ता लिगहरु आयोजना गर्दै आए पनि सफल हुन सकिरहेका छैनन् । यस्तोमा नेपालको एनपिएल पनि चुनौतीपूर्ण बनेको छ । एनपिएलले आगामी दिनमा गति लिनेमा क्यान अध्यक्ष चन्द विश्वस्त हुनुहुन्छ । एनपिएलमा सबै प्रदेशको प्रतिनिधित्वले अझ धेरै महत्व राखेको छ ।

एनपिएललाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गरेको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो ‘इभेन्ट’का लागि क्यानले सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको हो । क्यान र सिद्धार्थ बैंकबीच पाँच वर्षका लागि सम्झौता भएको छ । सम्झौताअनुरुप एनपिएलका लागि यस वर्ष उसले रु २० करोड प्रायोजन गरेको छ । यो नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो । सिद्धार्थ बैंकको प्रायोजनपछि अरु नीजि क्षेत्रको पनि क्रिकेटतर्फ ध्यान गएको छ । क्रिकेटले पाएको सहयोग विस्तारै अन्य खेलले पनि पाउने सम्भावना बढेर गएको छ । यो नेपाली खेलकुदका लागि सबैभन्दा सुखद पक्ष हो । यसबाट नेपालका खेलाडी, प्रशिक्षक, विभिन्न खेलसँग आवद्ध संघसंस्था र खेलप्रेमी उत्साहित भएका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार