मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

राजनीतिमा प्रवृत्तिगत परिवर्तनको खोजी : किशोर नेपाल

संविधान संशोधनभन्दा पनि अहिलेसम्म संविधान कार्यान्वयन कसरी भएको छ, पुनरावलोकन नगरेसम्म जतिसुकै पटक संशोधन गरे पनि परिणाम आउने छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संयुक्त सरकार बनेपछि राजनीतिको स्वभाव अलिकति अनौठो तरिकाले बदलिन थालेको देखिन्छ । २०४६ सालको परिवर्तनका यी दुवै सहयात्रीबीचको आपसी सम्बन्ध त्यसपछिको समयमा खासै सुध्रिएको देखिएन ।

२०५२ सालमा शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर सरकार गठन गर्नुभएपछि पञ्चेश्वर आयोजना निर्माणका लागि भारतीय सहयोग जुटाउन पहल गर्नुभएको थियो । त्यो आयोजनाको समर्थनमा हालका प्रधानमन्त्री केपी ओली निकै दह्रो हिसाबले उभिनुभएको थियो । त्यसपछिको समयमा कांग्रेस–एमालेबीचको राजनीतिक सम्बन्ध ‘नागबेली’ पाराले चलेको छ ।

कांग्रेस र एमालेबीचको सम्बन्ध कहिले तातो, कहिले मन तातो र अधिकांश समयमा चिसो रहँदै आएको छ । अहिले आएर यी दुवै पार्टी संविधान सुधारका कार्यसूची बोकेर एकै ठाउँमा उभिएका छन् । राजनीतिका विश्लेषकहरूले ‘चलनचल्ती’ अनुसार यसलाई राम्रै ठहर्‍याएका छन् ।

कांग्रेस–एमालेबीचको यो ‘महामिलन’ पछि वामपन्थी दलहरू बीचको कार्यगत एकताको प्रस्ताव अन्योलमा परेको छ । संस्थागत हिसाबले कांग्रेससँग आबद्ध व्यक्तिहरू, यसका समर्थक र शुभचिन्तक, यसका राजनीतिक प्रतिद्वन्द्वी र विरोधीहरू नयाँ परिस्थितिलाई चाखलाग्दो ढंगले हेरिरहेका छन् । खास गरेर, कांग्रेसका नेता तथा ‘विचारक’ हरूको ध्यान संविधानमा सुधार वा परिवर्तनमा भन्दा पनि अर्को वर्ष हुने नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनतिर केन्द्रित देखिएको छ ।

पन्ध्रौं महाधिवेशनले कांग्रेस सभापति शेरबहादुर देउवाको उत्तराधिकारीको चयन गर्नेछ । त्योभन्दा पहिले, कुनै अनिष्ट परेन भने देउवा नेपालको प्रधानमन्त्री हुनुहुने निश्चित छ । नेपालका राजनीतिक दलहरू सबैका आ–आफ्ना विधि र विधान छन् । तर, लोकतान्त्रिक संस्कारका हिसाबले कुनै पनि राजनीतिक दलहरू परिपक्व र विधिसम्मत ढंगले सञ्चालनमा आएका छैनन् । जो दलको सभापति पदमा निर्वाचित हुन्छ, ऊ नै पार्टीको सर्वेसर्वा हुन्छ भन्ने मान्यताले जरो गाडिसकेको छ ।

यो सत्य हो, २०६२ सालको आन्दोलनअघि पनि राजनीतिक दल, चाहे ती कांग्रेस हुन् अथवा कुनै पनि धारका कम्युनिस्ट हुन् अथवा अरू कुनै विचारधाराका हुन्, पार्टीका सभापति र पदाधिकारीहरू हुन्– तिनको आचरण अहिलेको भन्दा खासै फरक थिएन । दशक लामो संसदीय कालमा सबै पक्षका नेताहरू दलको नीति, नियम र राजनीतिक मर्यादा कायम राख्न चुकेका थिए । तैपनि, ती नेताहरू विधि र विधानबाट बाहिर जान अलिकति संकोच महसुस गर्दथे । अलिकति हिचकिचाउँथे । अहिले त्यस्तो अवस्था छैन ।

देश संघीय गणतन्त्रको चरणमा प्रवेश गरेपछि देशको राजनीतिमा ‘हुनु नपर्ने’ अनेकन दुष्प्रयोगहरू भएका छन् । जनयुद्धको दुर्गम बाटो त्यागेर बृहत् शान्ति सम्झौतामार्फत सत्ताको शिखरमा उक्लिएका माओवादीहरू संविधानसभाको पहिलो निर्वाचनपछि शिखरबाट धरातलको यथार्थमा अत्यन्त तीव्रताका साथ ओर्लिन थालेका हुन् । उनीहरूले जुन दुनियाँको परिवर्तन गर्न चाहेका थिए, त्यो उनीहरूले सोचेको जस्तो दुनियाँ थिएन । जनताका नजरमा उनीहरू पनि एकअर्को कांग्रेस वा एकअर्को एमालेभन्दा किञ्चित फरक देखिन सकेनन् ।

दोस्रो जनआन्दोलनपछि खास गरेर मधेश भूमिमा जनआकांक्षाको जुन उभार र आन्दोलन देखापर्‍यो, त्यसलाई थेग्न सक्ने राजनीतिक सामर्थ्य कुनै पनि राजनीतिक दलमा देखिन सकेन । मधेशमा अंकुरित भएका दलहरू राजनीतिक महत्त्वाकांक्षाको भारले अतिशय थिचिएका थिए । उनीहरूले सपनाको सुन्दर सहर त देखेका थिए । तर, त्यहाँ पुग्ने बाटोको पहिचान गर्न उनीहरू चुके । २०६२ देखियताको झन्डै दुई दशक लामो समय सत्ताको तानातानी र आपाधापीमा नै बित्यो ।

परिवर्तनको दुई दशक बितिसक्दा पनि देशमा अस्तित्वशील रहेका राजनीतिक दलहरूले विकासका पगडण्डी समात्न सकेको देख्न पाइएको छैन । नेताहरू आफ्नै दलीय सम्प्रभुता खडा गर्ने चालमा लागेका छन् । दर्जनौं संस्कृति, धर्म, समुदाय, जात र जातिले भरिएको देश जम्मा सात प्रदेशमा बाँडिएको छ ।

ती सात प्रदेशका कुन कुन भेगमा जनताले काम गरेर खान पाउने अवस्थाको कसरी सिर्जना गर्न सकिन्छ ? त्यसको खाकासम्म पनि कोरिन सकेको छैन । देशमा रोजगारी बढाउने र वैदेशिक रोजगारीको प्रकोप कम गर्नेमा कुनै पनि दलका नेता कल्पनाशील देखिएका छैनन् । हिजो जे जस्तो जसरी चलेको थियो आज पनि त्यो त्यसरी नै चलेको छ । परिवर्तनका किरणहरू दरिद्रताका काला बादलले छोपिएका छन् ।

निर्वाचनमा जनताबाट चुनिएर आएका संघीय सरकारका सञ्चालकहरू प्रदेशका समस्यासँग अलिकति पनि अवगत छैनन् । संघीय सरकारको केन्द्रीय सचिवालयका सञ्चालक रहेका कर्मचारीतन्त्रले नेताहरूलाई कहिले दायाँ घुमाउँछ, कहिले बायाँ । कतिपय संघीय नेताहरूले प्रदेशलाई अतिरिक्त भारका रूपमा लिएको पाइन्छ ।

एक प्रदेशको अर्को प्रदेशसँग सहयोग र सामञ्जस्यको सम्बन्ध छैन । प्रदेशका विविध मौलिक उत्पादनको समन्वय गर्ने र व्यवसाय बढाउनेमा भन्दा किर्ते र जालसाजीको कामलाई प्रोत्साहित गर्न लागेका छन्, कर्मचारीतन्त्रले ‘घुमाएको’ राजनीतिक नेतृत्व । यो अवस्थाबाट देशलाई मुक्त गर्न चाहिने प्रारूपको परिकल्पना नै गर्न सकेका छैनन् नेताहरूले ।

कांग्रेस–एमाले मिलनले माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्कै पनि झस्किनुभएको छ । कुनै अर्थ भए पनि र नभए पनि अहिलेको परिस्थितिमा कांग्रेस र एमाले मिल्नुका अर्थहरू धेरै लगाउन थालिएको छ । सामाजिक सञ्जालमार्फत वितरित नेतावर्गको आत्मपरक अभिव्यक्तिले अहिलेको राजनीतिमा कुनै असर पार्दैन । प्रचण्डलाई केपी ओलीको स्वभावको जानकारी नभएको होइन ।

प्रचण्डमा ओलीलाई मिलाउने खुबी पनि छ । तर, ओलीको स्वभाव प्रचण्डसँग मिल्नै सक्दैन । यद्यपि, प्रचण्ड र ओली दुवैको व्यक्तित्वमा रहेको ‘अदृश्य’ अहंकार, राजनीतिमा षड्यन्त्र सूत्रको अतिशय प्रयोग र विकासका प्रश्नहरूमा अराजनीतिक व्यवहारले पछिल्लो समय प्रचण्डको ‘चमकदार’ व्यक्तित्वबाट चमक हराउन थालेको छ । ‘अन्यमन्यस्कता’ प्रचण्डको राजनीतिक व्यक्तित्वमा देखिने एउटा अन्तरद्वन्द्व हो ।

खुला समाजमा प्रवेश गरेपछिको उहाँको राजनीतिको अधिकांश समय ‘यो कि त्यो ?’, ‘यता कि त्यता ?’ मा नै बितेको देखिन्छ । त्यसैले पनि, कांग्रेस–एमाले गठबन्धन उहाँको राजनीतिक स्वास्थ्यको अनुकूल देखिँदैन ।

देशको खस्किँदो आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको गम्भीर मूल्यांकनपछि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलीजुली सरकार निर्माणका लागि सहमत भएका होइनन् । धेरैमा, यी दुई पार्टीबीचको सहमति संविधानमा आफ्नो राजनीति अनुकूल स्वार्थको रक्षाका लागि मात्रै हो ।

अहिलेको सहमतिअनुसार अघिल्लो चरणमा एमालेले सरकारको नेतृत्व गर्ने र अन्तिम चरणमा कांग्रेस नेतृत्वको सरकारले चुनाव गराउने निर्णय भएको जानकारी आएको थियो । तर, संविधानको संशोधनभन्दा पनि अहिलेसम्म संविधान कार्यान्वयन कसरी भएको छ ? कहाँकहाँ चुकेको छ संविधान ? यसको पुनरावलोकन नगरेसम्म संविधान जतिसुकै पटक संशोधन गरे पनि परिणाम आउने छैन ।

अहिलेको आवश्यकता संविधानको गतिशील कार्यान्वयन भएको छ कि छैन ? त्यसको खोजी हो । सामान्य मानिसको सामान्य नजरले सरसर्ती हेर्दा पनि संविधानको सक्रिय कार्यान्वयन कतै भएको देखिँदैन । शासन सञ्चालनको पक्ष र विपक्षमा रहेका राजनीतिक नेताहरूले आफ्नो नेतृत्वको अपचलन नगर्ने हो भने देशको विकास असम्भव छैन ।

कांग्रेस–एमालेले सहमतिको सरकार बनाएपछि जनताको मनमा अबको राजनीतिक परिस्थिति अलिकति सङ्लिने हो कि भन्ने आशा पक्कै जागेको छ । पहिलो चरणमा सरकारको नेतृत्व गरिरहेको एमालेभित्र शासन सत्ताको कसमकस तीव्र गतिमा चलेको छ । एमालेभित्रबाट नेतृत्व परिवर्तनसम्मका आवाज सुनिन थालेका छन् । अर्कातिर, आधिकारिक हिसाबले कांग्रेसको पन्ध्रौं महाधिवेशन सम्पन्न गर्ने तिथि आउन एक वर्ष बाँकी नै छ । तर, सभापति देउवाले जुन तत्परताका साथ उमेश श्रेष्ठलाई कोषाध्यक्षमा नियुक्त गर्नुभएको छ, त्यसले सभापति देउवाको वर्तमान मनस्थितिको झल्को दिन्छ ।

सभापति देउवाको उत्तराधिकारीका रूपमा आफूलाई प्रस्तुत गर्ने होडमा नयाँ–पुराना नेताहरू सक्रिय हुन थालेका छन् । नयाँ पुस्ताको प्रतिनिधि पात्र भनिने चर्चित युवा नेता तथा निर्वाचित महामन्त्री गगन थापादेखि अर्का निर्वाचित महामन्त्री विश्वप्रकाश शर्मासम्म सबै कांग्रेस सभापतिको उम्मेदवारका रूपमा चर्चामा छन् । विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच दिवाभोजको शृंखला पनि सुरु भइसकेको छ । पार्टीका उपाध्यक्ष पूर्णबहादुर खड्का आफ्नै हिसाब–किताबमा लाग्नुभएको बुझिन्छ । अर्कोतिर, डा. शेखर कोइरालाले सभापति पदमा आफू प्रत्याशी रहने स्पष्ट संकेत दिइसक्नुभएको छ ।

यो त स्पष्ट नै छ, सभापति देउवा प्रधानमन्त्री नहुँदासम्म कांग्रेस अधिवेशन हुने कुनै सम्भावना छैन । प्रधानमन्त्रीका रूपमा देउवालाई सहयोगी सभापतिको खाँचो पर्छ । सभापति देउवालाई यो कुराको राम्रो ज्ञान छ, कांग्रेस सभापति स्वयं प्रधानमन्त्री भएको अवस्थामा शासन–सञ्चालन आफूअनुकूल हुन्छ । आखिर राजनीतिक दलको अधिवेशन हो, विशेष परिस्थितिमा त्यो केही समयपछि सर्न पनि सक्छ ।

कांग्रेस, एमाले, माओवादी र मधेशवादी सबै दलका नेताहरूले साँच्चै संविधान संशोधन गर्ने अभिलाषा राखेका छन् भने उनीहरूले सत्ता र सुविधाको लोभ त्यागेर अहिलेदेखि नै भविष्यको मार्गरेखा कोर्ने प्रयत्नमा लाग्नुपर्छ । नेपाली जनताका बीचमा गएर अहिलेसम्म हुन नसकेका कामहरूको विवेचना र अब गर्नैपर्ने कामहरूको खाका तयार गर्न सक्रिय हुनुपर्छ । तर, कुनै पनि राजनीतिक दलले आफ्ना पार्टीका कार्यकर्ताका लागि सम्यक योजना निर्माणको पहल गर्न सकेका छैनन् ।

राजनीतिक नेतृत्वको सिँढी चढ्न चाहने, नयाँ वा पुराना, नेताहरूले यो कुरा बुझ्नुपर्छ, सामाजिक सञ्जालमा आफ्नो तस्बिर टाँसेर जनतालाई होइन, आफैंलाई मुग्ध तुल्याउन सकिन्छ । जनता नेताहरूसँग प्रत्यक्ष संवादको खोजीमा छन् । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार