जेठ ३०, २०८३ शनिबार June 13, 2026

देशले सबल नेतृत्व कहिले पाउने ? : श्यामप्रसाद मैनाली

छिटोछिटो पेसा बदल्दै स्टन्टबाजीका आधारमा राजनीतिमा होमिएका व्यक्ति ठूलो विवादमा पटकपटक तानिँदै गएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

६ सालपश्चात् सत्तामा पटकपटक पुगेका तीन दलहरूले शासन सञ्चालन गर्ने अनौठो तरिका अवलम्बन गरेका छन् । उनीहरू देशभित्र रोजगारीका लागि अवसर प्रदान गर्ने सन्दर्भमा गम्भीर भएका छैनन् । युवाहरूलाई विदेश पलायन गराएर देशभित्र बच्चाहरू र वृद्धहरू मात्र बस्ने अवस्था बनाइराखेका छन् । देशभर संगठन भएका यी तीन ठूला दलहरूका कार्यकर्ताहरूको संख्या ठूलो छ । उनीहरूलाई मात्र देशमा सबै प्रकारका संरक्षण र सुविधा उपलब्ध गराइएको छ । यसले गर्दा देशमा देखिएका युवाहरू सबैलाई स्वार्थलोलुप झुण्डका रूपमा परिणत गरिदिएका छन् । यी झुण्डहरू युवाहरूको अवसरका लागि कहिले पनि आफ्नो एजेन्डा बनाएर नेताहरूलाई दबाब दिन असफल छन्, चाहँदैनन् । किनकि यी ठूला दलहरूका आफ्ना आफ्ना शीर्षस्थहरूको गुणगान गाउन र भजनमण्डलीका रूपमा आफूलाई परिणत गर्न चाहन्छन् । यसैमा उनीहरूको भलाइ छ । शीर्षस्थ नेतृत्व तह यिनै झुण्डहरूको प्रशंसामा आत्मरतिमा रमाएका छन् । यही झुण्डलाई समग्र देशको रूपमा सोचिराखेका छन् । यदि देशका सम्पूर्ण युवाहरू देशभित्र रहने अवस्था बन्दै गयो भने यसले हालका शैलीमा शासन गर्नेहरूलाई असहज अवस्था सिर्जना हुन्छ । यो अवस्था उनीहरूले राम्रो बुझेका छन् ।

त्यसैले उनीहरू युवा पलायन हुनुमा नै आफ्नो राजनीतिक भविष्य सुरक्षित देख्दछन् । विदेश पलायन भएकाहरूलाई मताधिकार प्रदान नगरिनुले पनि यस विषयलाई थप पुस्ट्याइँ मिल्छ । शासन सञ्चालन गर्ने दोस्रो तरिका हो । लोकतन्त्रको व्यापक दुरुपयोग यसको विश्लेषण र व्याख्या जति गरे पनि अपुरो हुन्छ । नेपालमा संविधानले गरेको व्याख्या व्यवस्था हेर्दा पूर्ण लोकतान्त्रिक शासन व्यवस्था स्थापित छ । तर, व्यवहारमा लोकतन्त्रको अनुभूति गर्न पाइएको छैन । यसको एउटै उदाहरण काफी छ । त्यो हो कानुनी समानता, नेपालमा यसैको अभाव छ । कानुनी असमानताको आडमा ठूलाठूला भ्रष्टाचारहरू भइराखेका छन् । संविधानले कानुनी समानताको प्रत्याभूति गरेको छ । तर ऐन, नियम र निर्देशनकै आधारमा ठूलाठूला अपराधमा उन्मुक्ति दिने प्रपञ्च अत्यन्त राम्ररी मिलाइएको छ ।

यस विश्वमा लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरी आएका देशहरूको अध्ययन गर्दा भ्रष्टाचारलगायतका अपराधमा राष्ट्रपति, प्रधानमन्त्री कोही पनि बचेका छैनन् । नेपाल मात्र प्रायः यस्तो देश बनेको छ जहाँ राजनीतिक तहबाट भएका भ्रष्टाचारहरूको छानबिन नियन्त्रण निकायले गर्न पाउँदैन । गर्ने हैसियत पनि राख्दैन । पाकिस्तानका प्रधानमन्त्रीलाई देशलाई प्राप्त भएको उपहार व्यक्तिगत प्रयोजनमा राखेको अभियोगमा जेल सजाय भइसकेको छ । फिलिपिन्सका मार्कसदेखि पेरूका अल्बर्टो फुजीमोरी, पाकिस्तानका इमरान खान आदिले दण्ड भोग्नुपरेको छ । स्वतन्त्रताको लडाइँमा नेल्सन मण्डेला र आङसाङ सूचीको योगदान विश्वको राजनीतिक इतिहासमा अंकित छ । उनीहरूले भोग्नुपरेको पीडा पनि उत्तिकै दर्दनाक छ । यस्ता थुप्रै उदाहरण विश्व राजनीतिमा देख्न सकिन्छ ।

नेपाल मात्र विचित्रको देश बनेको छ । उदाहरणका लागि २००७ सालको आन्दोलनले राणाहरूलाई सत्ताच्युत ग¥यो । यसपश्चात् देशमा प्रजातन्त्रको ढोका खुल्न पुग्यो । १५ सालमा जननिर्वाचित सरकारलाई १७ सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई विकासबाट विस्थापित गराई शिशु प्रजातन्त्रको गला घोट्ने काम गरे । लोकतन्त्रप्रेमी जनताका प्रतिनिधिहरूले ठूलो पीडाबोध गर्नुप¥यो । नेताहरू कोही विस्थापित भई विदेशमा रहन थाले । कोही देशको कारागारमा कडा पीडाका बीच बाँच्न विवश भए । केहीले राजा महेन्द्रलाई समर्थन गरी प्रजातन्त्रप्रति गद्दारी गर्न पुगे । जे होस्, १७ सालको परिवर्तनपश्चात् पनि देशका शासकहरूको अनुहार फेरिएको थियो । २०४६ सालमा पुनः जनआन्दोलन छेड्यो । यस आन्दोलनको सफलतापश्चात् देशमा प्रजातन्त्र पुनर्बहाली हुन पुग्यो । निरपेक्ष राजा संवैधानिक राजतन्त्रमा परिणत हुन पुगे । बहुदलवादी नेताहरूले देशको शासनसत्ता सञ्चालन गर्ने अवसर प्राप्त गरे ।

२०४६ सालदेखि ०६३ सालसम्म करिब १७ वर्ष देशमा ठूलो राजनीतिक उतारचढाव आयो । देश पूरै आतंककारी क्रियाकलापबाट त्रसित हुन पुग्यो । ६३ सालमा द्वन्द्वरत पक्ष र संसदीय कित्ताका राजनीतिक दलहरूका बीच सम्झौता भयो । यो सम्झौताले तिनै शासकहरूका विरुद्ध जंगल पसी आन्दोलन छेडेको माओवादी शक्तिले समझदारी गरी उनीहरूसँगै सत्ता साझेदारी गर्न पुगे । अर्थात् पुरानै शासकहरू सत्तामा देखिन थाले । २०६३ सालदेखि हालका दिनसम्म आइपुग्दा १७, १८ वर्षको अवधिमा यिनै संसद्वादीहरू र देशमा आमूल परिवर्तन ल्याउने नारासहित जंगल पसेको शक्तिले मिलीभगतमा पालैपालो शासन सञ्चालन गरिरहेका छन् । जनताले नयाँ परिवर्तनपश्चात् नयाँ अनुभूति गरेको भनेको यस आन्दोलनपश्चात् देश गणतन्त्रमय बन्यो । तर, न राजनीतिक स्थिरता प्राप्त गर्न सक्यो न त आर्थिक समृद्धिको दिशामा नै देश अघि बढ्न सक्यो । यसले गर्दा २०४६ सालको जनआन्दोलन ०६३ सालको जनआन्दोलनको उपादेयतामा एक प्रकारको प्रश्नचिह्न खडा भएको छ ।

अब अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा केही तथ्यहरू राखौं । विश्व राजनीतिक इतिहास अध्ययन गर्दा धेरै प्रकारका परिवर्तनहरू सम्भव भएका छन् । कतिपय आन्दोलनले युद्धले देशले अवलम्बन गरिएको राजनीतिक प्रणाली र शासकीय शैलीमा नै ठूलो भिन्नता देखिएको छ । कुनै जमाना थियो विश्वमा संयुक्त राज्य अमेरिका र सोभियत संघ दुई ठूलाठूला शक्तिसम्पन्न देशहरू थिए । सोभियत संघले विश्वका साम्यवादी देशहरूको नेतृत्व गरिराखेको थियो । लोकतन्त्रवादीहरूको नेतृत्व संयुक्त राज्य अमेरिकाले गथ्र्याे, यद्यपि गरिराखेको छ । १९९० को दशकमा जब सोभियत संघ विघटन भयो, साविक सोभियत संघका १५ भूभागले छुट्टै सार्वभौमसत्तासम्पन्न राष्ट्रको रूपमा आफ्नो पहिचान बनाई अघि बढे । प्रायः सबै देशहरू साम्यवादी मुलुक सोभियत संघबाट फुटेका थिए । यी देशहरू लोकतन्त्रवादी बने ।

ईयू र नाटोजस्ता संगठनहरूको नजिक बन्न पुगे । यस अर्थमा यी १५ देशमा लामो समयदेखि सञ्चालन भइराखेको साम्यवादी शासन प्रणालीबाट मुक्ति मिल्यो । सबै लोकतन्त्रमा आस्था र विश्वास राख्न थाले । रूस र पूर्वी युरोपको पोल्यान्डबाहेक अन्य सात देशले व्यवस्था र शासकहरू दुवै परिवर्तन गरे । शोभियत संघबाट फुटेका १५ देशमध्ये अधिकांश देशहरू युरोपियन युनियनको सदस्यता लिन पुगे । सोभियत संघ विघटन हुनुको पछाडि अमेरिकन कूटनीतिले ठूलो काम गरेको थियो । यसको श्रेय त्यस समयका संयुक्त राज्य अमेरिकाका राष्ट्रपति निक्सनका तत्कालीन विदेश मामिलासम्बन्धी सल्लाहकार हेनरी किसिन्जरलाई दिनुपर्ने हुन्छ । उनले चीनसँग कूटनीतिक वार्ता सफलतापूर्वक सम्पन्न गरी चीनलाई सोभियत संघका विरुद्ध घेराबन्दी गर्न गराउन सफल भए । साम्यवादी देशहरूका बीचमा नै ठूलो फाटो अथवा विभाजन ल्याउन हेनरी किसिन्जर सफल भएका हुन् । यसपछि संयुक्त राज्य अमेरिकाको शक्ति विश्वमा अझै बढी देखियो । चीनले व्यापारिक क्षेत्रमा ठूलो प्रगति गर्दै आर्थिक तरक्कीका आधारमा सयुंक्त राज्य अमेरिकालाई नै चुनौती दिने अवस्था सिर्जना भएपश्चात् साम्यवादी देशहरूको नेतृत्व चीन र रूसमध्ये कसले लिने हो ? प्रतिस्पर्धात्मक अवस्था छ । तर पनि लोकतान्त्रिक कित्ताको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरिरहेको छ । कूटनीतिक आन्दोलनले समग्र साम्यवादी आन्दोलनलाई पछि धकेल्न सफल भएको यो अनुपम उदाहरण विश्व राजनीतिमा स्पष्ट रूपमा देख्न सकिन्छ । जब सोभियत संघ सानासाना राज्यहरूमा परिणत हुन पुग्यो । त्यो कमजोर अवस्थामा रूसको नेतृत्वमा बोरिस एल्सिन स्थापित हुन पुगे । उनको समयमा रूसमा धेरै प्रकारका विकृति र विसंगतिहरू देखिए ।

देशले लामो समयदेखि राजनीतिज्ञ मात्रै प्राप्त गरेको छ । राजनेताको अनुहार देख्न पाएको छैन । ठूला राष्ट्रिय दलहरूले विभिन्न कालखण्डमा देशमा लोकतन्त्र प्रजातन्त्र र गणतन्त्र प्राप्त गर्ने सन्दर्भमा ठूलै योगदान गरेका हुन्, यसमा कुनै सन्देह छैन । तर, यी दलहरूका अधिकांश पात्रहरू देशप्रति कहिल्यै पनि इमानदार देखिएनन् । राजनेताले सदैव राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सर्वोपरि प्राथमिकतामा राख्छ

यो देश धेरै नै अस्तव्यस्त हुन पुग्यो । यही अस्तव्यस्तका बीच त्यहाँको शासकका रूपमा पुटिनको उदय भयो । करिब २५ वर्ष पुटिनले नै त्यहाँ एकतन्त्रीय तानाशाही शासन प्रणाली अवलम्बन गरिआएका छन् । एकल नेतृत्वमा रूस अघि बढिराखेको छ । बोरिस एल्सिनलाई विस्थापित गरेपछि पुटिनका पालामा त्यहाँको शासकीय शैलीमै ठूलो परिवर्तन भयो । जनताले परिवर्तनको अनुभूति गर्न सके । तर, पुटिनको शासन अत्यन्त ज्यादा तानाशाही थियो र छ । लोकतन्त्रको मानमर्दन गर्दै उनले रूसको तरक्की गर्दै अगाडि बढाउन सफल भएका छन् । विश्व राजनीतिक मानचित्रमा साम्यवादी शासन प्रणाली अवलम्बन गरिरहेका देशहरूको नेतृत्व अहिलेको अवस्थामा पुटिनले नै लिइरहेको स्थिति छ । तर, धेरै प्रकारले चीन अघि बढिराखेको अवस्था छ । यदि चीनले अवलम्बन गरी आएका देशहरूको नेतृत्व गरेको खण्डमा विश्वभर नै शासकीय प्रणालीमा अर्को उतारचढाव र परिवर्तन आउने स्पष्ट छ । यो सकारात्मक परिवर्तन व्यवस्था र शासकहरू दुवैमा परिवर्तन गर्दा मात्र सम्भव भएको हो । यदि शासकहरू अथवा पात्रहरू तिनै भएको खण्डमा व्यवस्था परिवर्तन हुँदैमा देशले प्रगति गर्न सक्दैन । त्यसको उदाहरण पनि नेपाललाई नै ज्वलन्त रूपमा लिन सकिन्छ । किनकि २०४६ सालको जनआन्दोलन पञ्चायती तानाशाही शासनविरुद्धको थियो ।

त्यो सफल भएको केही वर्षभित्रै महापञ्चहरूलाई नै देशको शासन सत्ता सुम्पने र लोकतन्त्रवादी नेताहरू र साम्यवादी नेताहरू दुवैले पञ्चहरूलाई आफ्नो नेता बनाउने अस्वस्थ प्रतिस्पर्धा तीव्र रूपमा गर्दै गए । राजनीतिलाई नजिकबाट अध्ययन गर्दा व्यवस्था परिवर्तन भएपश्चात् पुराना शासकहरूले राजनीतिमा सहभागी हुने साहस गर्न सक्दैनन् । तर, नेपालमा ३० वर्षे पञ्चायती शासनकालका शासकहरू पटकपटक अहिले पनि शासनसत्तामा पुगेका छन् । नेपाली जनताको अभिमत केही हदसम्म यिनीहरूले पाइराखेका छन् । नेपालको समस्या यही हो । व्यवस्था परिवर्तन हुन्छ । यसका पात्रहरूलाई निरन्तरता दिइन्छ । कारागारमा कडा सजाय दिनुपर्नेहरूले शासनको साँचो–ताला प्राप्त गर्न पुगेका छन् । यस अवस्थामा यस देशमा आर्थिक समुन्नतिलगायतका विकास निर्माणका कुराहरू तीव्र रूपमा अघि बढ्ने र सुशासन कायम हुने कोरा नाराहरूलाई हामीहरूले विश्वास मात्र होइन, समर्थन पनि गरिराखेको स्थिति छ । अनि यस देशको विकास कहाँबाट हुन्छ ?

देशले लामो समयदेखि राजनीतिज्ञ मात्रै प्राप्त गरेको छ । राजनेताको अनुहार देख्न पाएको छैन । ठूला राष्ट्रिय दलहरूले विभिन्न कालखण्डमा देशमा लोकतन्त्र प्रजातन्त्र र गणतन्त्र प्राप्त गर्ने सन्दर्भमा ठूलै योगदान गरेका हुन्, यसमा कुनै सन्देह छैन । तर, यी दलहरूका अधिकांश पात्रहरू देशप्रति कहिल्यै पनि इमानदार देखिएनन् । राजनेताले सदैव राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सर्वोपरि प्राथमिकतामा राख्छ । भावी पुस्ताका बारेमा चिन्तन मनन गर्छ । दीर्घकालीन सोचका आधारमा राष्ट्रको प्रगतिका लागि गुरुयोजना तयार बनाउँछ । तर, राजनीतिज्ञ भनेको त्यो हो जसले अर्को निर्वाचनमा कसरी विजयी भई सत्तामा निरन्तरता दिने ? भन्ने मात्रै एकल सोच राख्छ । नेपालमा यही दोस्रो दर्जाका नेताहरू मात्रै देखिए । राजनेताहरूलाई अघि बढाउने परिस्थिति नै देशले बनाउन सकेन । यस अवस्थामा पुराना प्रयोग भइसकेका शासकहरूको विकल्प जनताले चाहेका छन् । तर, राजनीतिक दृश्यमा भरोसा गर्नलायक यस्ता पात्रहरू स्पष्ट रूपमा आउन सकेका छैनन् नेपालमा अहिलेसम्म गत स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरूले विजयी हुने अवसर पाए ।

उनीहरूमा कमीकमजोरी र सफल पक्ष देखिएका छन् । तर, समग्रमा पुराना नेताहरूभन्दा उनीहरू जनताका नजरमा स्वीकार्य बन्दै गएको अवस्था छ । तर पनि उनीहरूले राजनीतिक दल बनाएका छैनन् । राजनीतिक दलबिना अघि बढेको स्वतन्त्र उम्मेदवारको हैसियत दलीय राजनीतिक प्रणालीमा उत्साहजनक हुँदो रहेनछ । संसद्मा देखिएका स्वतन्त्र सांसदले जनतालाई देशमा देखिएका विकृतिहरूको उजागर गर्दै सुसुचित गराउने कामसम्म गरेका छन् । सम्बन्धित प्रणालीमा गणितीय खेलमा उनको उपस्थिति महासागरमा एक थोपा पानी थप भएजस्तै हो । जहाँसम्म स्वतन्त्र मेयरहरूको कुरा छ । उनीहरूले कार्यकारी अधिकार प्रयोग गर्न पाउने भएकाले केही हदसम्म काम देखाउन सकेका छन् । तर पनि दलीय प्रणालीबाट विजयी भए आएका प्रतिनिधिहरूको घेराबन्दीमा अत्यन्त असहजताका साथ काम गर्नुपर्ने अवस्था छ । आफ्नो शासकीय शैलीभन्दा पृथक् प्रकारले प्रस्तुत भएका यी स्वतन्त्र प्रतिनिधिहरूलाई राजनीतिक दलका मठाधीशहरूले स्वीकार गर्न सकेका छैनन् । असहयोग गरिरहेका छन् । यिनीहरू पपुलर हुँदा पुराना दलहरूको साख गिर्दै जान्छ ।

यसबाट सुरक्षित कसरी राख्ने ? भन्ने रणनीति पुराना दलहरूले अवलम्बन गरिरहेका छन् । नयाँ राजनीतिक दल दर्ता गरेर चुनावी प्रतिस्पर्धामा होमिएकाहरूले राजनीतिमा अल्प अवधिमा नै ठूलो सफलता हासिल गरेका छन् । तर पनि यस्ता पात्रहरूमा राष्ट्रको नागरिकतालाई परित्याग गरी विदेशी भासिने विभिन्न प्रकारका अनैतिक र कानुनी व्यवस्था प्रतिकूलका कार्यहरू गर्दै गई विवादित बनेका छन् । छिटोछिटो पेसा बदल्दै स्टन्टबाजीका आधारमा राजनीतिमा होमिएका व्यक्ति ठूलो विवादमा पटकपटक तानिँदै गएका छन् । तथापि केही मतदाताहरूले अहिले पनि यही पात्रहरूलाई पात्रलाई विश्वास गरेको अवस्था देखिँदै छ । तर, अधिकांश मतदाताहरू दुविधामा परिराखेका छन् । यस अवस्थामा नेपाली मतदाताहरूले कसलाई रोज्ने ? कुन दललाई मतदान गर्ने ? दुविधाजनक अवस्था सिर्जना भएको छ । सबैभन्दा कठिनाइमा सचेत मतदाताहरू परेका छन् ।

पुराना दलहरूले आफ्नो दलीय सिद्धान्त आदर्श, मूल्य र मान्यतालाई पूर्ण रूपमा पालना गर्दै अघि बढ्न सक्नुपर्दछ । आफ्ना शासकीय शैलीहरूमा सुधार अत्यावश्यक छ । जनतालाई ढाँटेर राजनीति गर्न छाड्नुपर्छ । त्यसमा आक्रान्त भ्रष्टाचारको अवस्थालाई क्रान्तिकारी अभियानकै रूपमा नियन्त्रणमा ल्याउने सुधार गर्ने संकल्पसहित अघि बढ्नुपर्छ । आग्रह र पूर्वाग्रहका आधारमा राजनीति परित्याग गर्नुपर्छ । संवैधानिक आशय र मर्मअनुरूपको काम गर्नुपर्छ । संविधानप्रतिकूलका कानुनी व्यवस्थाहरू बनाउँदै मूल कानुनलाई नै कुल्चिने कुत्सित मनसायबाट पृथक् रहन सक्नुपर्छ । उदाहरणका लागि नेपालको संविधानले सुशासन र भ्रष्टाचारमुक्त शासनका साथै कानुनी समानताको प्रत्याभूति स्पष्ट रूपमा गरेको छ । तर, यही देशमा संवैधानिक मूल्यमान्यताविपरीत राजनीतिक तहबाट भएका भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई उन्मुक्ति दिने कानुन बनेको छ ।

देशको स्वतन्त्र न्यायालय मन्त्रीहरूलाई कारबाही गर्न नमिल्नेजस्ता निर्णय गर्न पुग्छ । सबैले अन्तरात्मादेखि सम्मान गर्न चाहने विशेषगरी लोकतन्त्रवादीहरूले ठूलो आदरभाव राख्ने स्वतन्त्र न्यायालय निष्पक्ष हुन नसकेको र यसका निर्णयहरूले समाजमा द्वन्द्वलाई कम गर्न सक्नुपर्नेमा थप द्वन्द्व सिर्जना भएको आलोचना सचेत वर्ग र सञ्चारजगत्ले गरिराखेका छन् । यो राजनीतिक विकृतिको रूपमा रहेका न्यायपालिकाका पात्रहरूको कमीकमजोरीका कारण यो अवस्था बनेको हो । यसमा सुधार हुनैपर्छ । यदि यसो हुन सकेमा नेपालमा पुनः यिनै पुराना दलहरूले नै शासन सञ्चालन गर्ने अवसर प्राप्त गर्नेछन् । तर, पात्रहरूमा परिवर्तन जरुरी छ । किनकि उनीहरूमा नेपाली जनताले सुधारका संकेतसम्म पनि देख्न सकेका छैनन् । यदि यसो नभएमा देशमा नेतृत्व बिहिन आन्दोलन भड्किने सम्भावना त्यत्तिकै प्रबल देखिएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
२०८३ जेठ ३०, शनिबार
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
२०८३ जेठ ३०, शनिबार
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार