चैत्र १२, २०८१ मंगलबार March 25, 2025

सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु

गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोर्ट सुडान । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरानी गर्ने एक वकिल समूहले मंगलबार बताएको छ ।

अधिकार उल्लघंनको अभिलेखीकरण गर्ने इमर्जेन्सी लयर्सका अनुसार नियमित सेनासँग झन्डै दुई वर्षदेखि युद्धमा फसेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले ‘ह्वाइट नाइल राज्यको अल–कदारिस र अल–खेलवात गाउँहरूमा कुनै सैन्य उपस्थिति नभएका क्षेत्रहरूमा निहत्था नागरिकहरूमाथि आक्रमण गरेको’ थियो ।

आरएसएफले शनिबारदेखि आक्रमणका क्रममा ‘हत्या, अपहरण, जबरजस्ती बेपत्ता र सम्पत्ति लुटपाट’ गरेको छ, जसमा सयौँ घाइते वा बेपत्ता भएका छन् ।

वकिल समूहका अनुसार नाइल नदी पार गरेर भाग्ने प्रयास गर्दा केही बासिन्दालाई गोली हानिएको थियो । गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताएका छन् ।

सन् २०२३ अप्रिलदेखि सुडान सेना प्रमुख अब्देल फत्ताह अल–बुरहान र उनका पूर्व सहायक आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोका सेनाहरू बीच निर्मम सघर्षमा फसेको छ ।

दुवै पक्षमाथि दुर्व्यवहार र युद्ध अपराधको आरोप लगाइएको छ ।

युद्धले दशौँ हजारको ज्यान लिएको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र इन्टरनेसनल रेस्क्यु कमिटीले ‘अहिलेसम्म अभिलेखित सबैभन्दा ठूलो मानवीय संकट“ भनेको स्थिति सिर्जना गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया