जेठ ३०, २०८३ शनिबार June 13, 2026

कचिंगलमा कांग्रेस : किशोर नेपाल

देशमा भएका हरेक परिवर्तनको मियो बनेको कांग्रेस यस्तो संवेदनशील विषयमा विचारशील हुनुपर्ने हो । तर, कांग्रेस आन्तरिक ‘रगडा’ मा फँसेको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरूको सक्रियता बढिरहेको अहिलेको समय निकै चञ्चल देखिन्छ । बृहत् जनआन्दोलनको राप र तापका कारण अपदस्थ भएका राजाले ‘प्रजातन्त्रले जनताको विश्वास जित्न नसकेको’ गीत गाउन थालेका छन् ।

राजाको प्रत्यक्ष शासनका बेला जनता कति निरीह बनाइएका थिए भन्ने यथार्थ राजनीतिक दलका नेताहरूले बिर्सिएका छन् । वर्तमान सरकारका निर्माता कांग्रेस र एमाले र अन्य कुनै पनि साना–ठूला राजनीतिक दलले पूर्वराजाको प्रतिवाद गर्नुपर्ने आवश्यकता देखेनन् । जनतासँग कबुल गरेको सुशासन दिन विफल भएका राजनीतिक दलका नेताहरूले गणतन्त्रलाई नेतातन्त्रमा परिणत गरेका छन् । जनता हदैसम्मको राजनीतिक संवेदनहीनताको अवस्थाबाट गुज्रिइरहेका छन् ।

कम्तीमा पनि, लोकतान्त्रिक परिवर्तनका लागि अनवरत संघर्ष गर्ने ऐतिहासिक पार्टी कांग्रेसले आफ्ना प्रवक्ताद्वारा पूर्वराजाको बयानबाजीको खण्डन गराउन सक्दथ्यो । संघीय गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलहरूले अहिले देशमा फैलाउन खोजिएको लोकतन्त्रविरोधी बयानबाजी र गतिविधिहरूका विरुद्ध एकताको प्रदर्शन गर्नुपर्दथ्यो । तर, पार्टीहरू लोकतन्त्रका प्रति गम्भीर हुन सकेनन् । देशमा भएका हरेक परिवर्तनको मियो बनेको कांग्रेस यस्तो संवेदनशील विषयमा विचारशील हुनुपर्ने हो ।

तर, कांग्रेस आन्तरिक ‘रगडा’ मा फँसेको छ । पार्टीका प्रबुद्ध नेताहरू सभापति शेरबहादुर देउवाको जकडमा परेका छन् । उनीहरूले सभापति देउवाका संकेत र इशारा बुझेका छन् । तर, उनीहरू न त सभापति देउवासँग स्पष्ट असहमति जनाउन सक्छन्, न उहाँको मौनताको अर्थ नै लगाउन सक्छन् ।

पछिल्लो समयमा कांग्रेसका नेता र कार्यकर्ताहरू सभापति देउवाका प्रसंगहीन कुरा सुनेर मनमनै भुतभुताउन बाध्य भएका छन् । डा. शेखर कोइराला एक जनालाई छाडेर पार्टीको शीर्षस्थानमा रहेका कुनै पनि सांसदले र कुनै पनि नेताले चिया टेबुलमा समेत सभापति देउवासँग असहमतिको स्पष्ट आवाज उठाएको सुनिएको छैन ।

डा.शेखरको यो अभिव्यक्ति निकै मार्मिक छ : कांग्रेस सत्तामा छ तर सरकारमा छैन । कांग्रेस–एमाले गठबन्धन बनेपछि कांग्रेसका महत्त्वपूर्ण नेताहरूको आत्मविश्वास शिथिल भएको छ । उनीहरू भित्रको जोस, जाँगर र जागरण हराएको छ । स्पष्ट शब्दमा केही बोलौं, सभापतिको नकारात्मक वा सकारात्मक प्रतिक्रिया के आउने हो ? नबोलौं, कहिलेसम्म आफ्नो आत्माको आवाज दबाएर कस्तो राजनीति गर्ने हो !

२०४६ को आन्दोलनपछि नेतृत्वको शीर्षस्थानमा रहेका दर्जनौं व्यक्तिहरू भौतिक रूपले स्थापित भए, तर, ती सबै भुइँफुट्टा सावित भए, सुदृढ लोकतन्त्र र देशका लागि उनीहरूको राजनीतिक योगदान खासै केही देखिएन

प्रकटमा देशका ठूला पार्टी कांग्रेस र एमाले सत्ता सम्बन्धमा गाँसिएका छन् । कांग्रेस सभापति देउवाको संरक्षणमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ । तर, यो संरक्षणको कुनै अर्थ छैन । किनभने, वर्तमान सरकारको संरक्षण सभापति देउवाले गर्नुभएको छ ।

पार्टीका इमानदार कार्यकर्ताहरू यसबाट सन्तुष्ट छैनन् । कांग्रेस पार्टीमा लोकतन्त्र सक्रिय छैन । सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीको आपसी सल्लाहमा बनेको यो समीकरण प्रभावकारी हुन सकेको छैन ।

कांग्रेसको नेतृत्व तहमा रहेका र वैचारिक हिसाबले तर्क गर्न सक्ने भनेर चिनिएका नेताहरू सभापति देउवाको स्वेच्छाचारी निर्णयका विरुद्ध प्रतिक्रियात्मक भाषा बोल्न तयार देखिँदैनन् । आफ्नो निहित स्वार्थको रक्षाका लागि सभापति देउवा जुनसुकै हदमा जान सक्नुहुन्छ । सरल स्वभावका सभापति देउवामा उमेरसँगै दम्भ बढेको छ ।

पछिल्लो समयमा उहाँको व्यक्तित्व पार्टीको ‘सर्वमान्य’ नेता बन्ने बाटोमा लागेको छैन । उहाँ अहिले २०८२ को मंसिरभित्र गर्नुपर्ने पार्टीको महाधिवेशन २०८४ को चुनावपछि गराउने प्रपञ्चमा लाग्नुभएको छ । तर, महाधिवेशनको मार्गदर्शनबिना कांग्रेस चुनावमा जान सक्ने अवस्था नै छैन ।

सभापति देउवाका काइते चाटुकारहरूले उहाँलाई कांग्रेसको सुनौलो भविष्यको जतिसुकै सुन्दर तस्बिर देखाए पनि देशका सातै प्रदेशमा कांग्रेसको अवस्था अस्तव्यस्त छ । मधेशमा कांग्रेस कन्तबिजोग अवस्थामा छ । लुम्बिनी होस् वा गण्डकी, कर्णाली होस् वा बागमती, कांग्रेसका लागि कतै पनि सहज अवस्था छैन ।

ओलीपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुनेछ र चुनाव पनि उहाँकै नेतृत्वको सरकारले गराउनेछ भन्ने भविष्यसूचक भाष्य तयार राखिएको छ । यही भाष्यका आधारमा अहिलेसम्म सभापति देउवाका कटु आलोचकका रूपमा प्रस्तुत भएका कांग्रेसका केही क्रान्तिकारी युवा नेताहरू सभापति देउवासँग प्रत्यक्ष–परोक्ष जोडिइसकेका छन् । सैद्धान्तिक राजनीति स्खलित भएको अहिलेको समयमा सभापति देउवालाई चिढाएर आफ्नो ‘टिकट’ कटाउने अवस्थाको सिर्जना गर्नु पक्कै पनि राजनीतिक बुद्धिमानी होइन ।

देश संघीय गणतन्त्रको युगमा प्रवेश गरेपछि धेरै मानिसहरूले राजनीतिलाई सेवा होइन, पेसाका रूपमा अपनाएका छन् । यस्ता कतिपय व्यक्तिहरू सुविधा र सहुलियतका लागि कांग्रेस, एमाले, राप्रपा, जसपालगायतको राजनीतिसँग जोडिएका होलान् ।

तर, २०१७ सालदेखि आजसम्म घामपानी, हावाहुरी र आँधीबेहरी केही नभनी अनवरत विद्रोहको प्रतीकका रूपमा रहेर नेतृत्व तहमा पुगेका कतिपय जुझारु नेताहरू समेत सभापति देउवाका असंगत व्यवहारका विरुद्ध विमति जनाउन चाहँदैनन् । कोही पनि आफ्नो भविष्य असुरक्षित बनाउन चाहँदैन । यो अस्वाभाविक पनि होइन । सभापति देउवाले आफ्नाविरुद्ध विमतिको भाषा बोल्ने धेरैको राजनीति धराशायी बनाइसक्नुभएको छ । अझ, पछिल्लो समयमा उहाँको राजनीति विभिन्न अराजनीतिक र आपराधिक स्वार्थहरूसँग अल्मलिएको स्पष्ट देखिन्छ ।

नेपालमा राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक स्वतन्त्रताका लागि पहाड, मधेश, चुरे र काँठ–कछाडमा जागरण ल्याउन क्रान्तिको योजनाबद्ध संयोजन र संघर्ष गर्ने र समाजवादको सुखद सपना बाँड्ने संगठित शक्ति नेपाली कांग्रेस नै हो । यसमा कसैको विमति छैन । तर, पटक पटक क्रान्ति र जनआन्दोलनको सफल संयोजन गर्ने यो पार्टीले जनताको पक्षमा सत्ताको उचित प्रयोग गर्न सकेन । हो, यसका केही नेताहरूले आफ्ना लागि विलासको मौका पक्कै जुटाए । २०४६ को आन्दोलनपछि नेतृत्वको शीर्षस्थानमा रहेका दर्जनौं व्यक्तिहरू भौतिक रूपले स्थापित भए । तर, ती सबै भुइँफुट्टा सावित भए । सुदृढ लोकतन्त्र र देशका लागि उनीहरूको राजनीतिक योगदान खासै केही देखिएन ।

संघीय गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलहरूले अहिले देशमा फैलाउन खोजिएको लोकतन्त्रविरोधी बयानबाजी र गतिविधिहरूका विरुद्ध एकताको प्रदर्शन गर्नुपर्दथ्यो ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसका केही सुकिला–मुकिला नेताहरू अवाञ्छित सत्ताको खेलमा रमाउँदै पार्टीको छवि धमिल्याउन सक्रिय रहेका छन् । यहाँ यी तथ्यहरू बिर्सिनु हुँदैन– लोकतान्त्रिक समाजवादको आदर्श बोकेको यो पार्टीले २०१५ सालको महानिर्वाचनमा दुई तिहाइभन्दा बढी मत ल्याए पनि आफ्ना प्रगतिशील आर्थिक र राजनीतिक कार्यक्रमहरूलाई पूर्णता दिने मौका नै पाएन । २०४७ मा प्रजातन्त्रको पुनरोदयपछि पनि नेपाली कांग्रेस सत्ता स्वार्थका लागि आन्तरिक कलहमा फस्यो । यो पार्टीले आफ्ना आदर्शहरूको अवलम्बन गर्न सकेन ।

माओवादी विद्रोहको संकेत २०४८ को चुनाव परिणामले नै दिइसकेको थियो । ऐतिहासिक परिवर्तनपछिको संसद्मा कृष्णबहादुर महरालगायतका ‘कडा’ वामपन्थीहरूको उपस्थिति हिंसात्मक विद्रोहको पहिलो संकेत थियो । सुरुमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यो संकेतलाई ‘इग्नोर’ गरिदिनुभयो । उहाँ २०४७ को आन्दोलनपछि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रले सबै समस्याको समाधान गर्ने कुरामा ढुक्क हुनुभएको देखिन्थ्यो ।

तर, फेरि पनि, राजनीति लिकबाट बाहिर आयो । एमालेको नौमहिने सरकारको विसर्जन, संसद् विघटन र संसद् पुनःस्थापनाका लागि सर्वोच्चको आदेश, पुनःस्थापित संसद्मा संसदीय नेताका रूपमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको चयन, परिवर्तनको यो एउटा अनौठो चक्र थियो ।

नेपाली कांग्रेसका सभापति हुनुभन्दा पहिले नै देउवाले दक्षतापूर्वक ‘सबै पञ्च’ लाई समेटेर सरकार गठन गर्नुभएको थियो । यो सत्ताको कुरा थियो, खुसीको कुरा पक्कै थिएन । तर, देउवाका लागि राजनीतिका कूडा–कर्कट बुझ्ने एक अवसर पक्कै थियो यो । सभापति देउवा राजनीतिक गठजोडका यस्ता खेलहरूमा आफैं पारंगत भइसक्नुभएको छ ।

२०५२ देखि २०७८ सालसम्म उहाँ पाँच पटक प्रधानमन्त्री हुनुभएको छ । तर, उहाँले सर्वाधिक ‘जस’ कमाउनुभएको विषय भारतसँगको महाकाली सन्धि हो । तर, महाकाली आयोजनाको वर्तमान ‘स्टेटस’ के छ ? त्यसबारे देउवा केही बोल्न चाहनुहोला जस्तो लाग्दैन ।

यतिबेला सभापति देउवाको राजनीति दिग्भ्रमित हुन थालेको देखिन्छ । हिजो उहाँको हकमा जति सजिलो ढंगले मानिसहरू प्रशंसाका गीत गाउँथे, त्यो भावनाको सर्वथा अभाव छ अहिले । नेपाली कांग्रेसको सभापति पदसँग लोकतन्त्र जोडिएको छैन । देउवा आफैं त्यो ठाउँमा स्थापित हुनुभएको छ । तर, कांग्रेसीहरू आफ्नै सभापतिलाई पार्टीका उत्प्रेरकको आसनमा राख्न हिचकिचाउँछन् ।

सत्ताको खेल अत्यधिक मन पराउने देउवाको राजनीतिक हैसियत खुम्चिँदै गएको छ । सभापति देउवा निरन्तर सत्ताको ‘फिराक’ मा हुनुहुन्छ । उहाँका लागि राजनीति र सत्ता पर्यायवाची बनेका छन् । तर, उहाँको यो ‘फिराक’ उहाँकै लागि आत्मघाती हुने निश्चित छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
२०८३ जेठ ३०, शनिबार
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
२०८३ जेठ ३०, शनिबार
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार