कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

अब जनताको अवस्था परिवर्तनका निम्ति जागरुक हुनुपर्छ : शक्तिबहादुर बस्नेत

जनतालाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्ने हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभाका सदस्य शक्तिबहादुर बस्नतले जनताको अवस्था परिवर्तनका लागि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिएका छन् ।

जाजरकोटबाट निर्वाचित सांसद बस्नेतले व्यवस्था परिवर्तन भइसकेको प्रसङ्ग उल्लेख गर्दै सरकार र राजनीतिक दल जनताको आवश्यकता पूरा गर्नतर्फ केन्द्रित हुनुपर्ने बताए । सांसद बस्नेतसँग राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तरवार्ताको सम्पादित अंश :

राजनीतिक दलको लामो सङ्घर्षबाट हामीले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ, देशको व्यवस्था परिवर्तन भएको छ, अब जनताको अवस्था अझै सुधार गर्न के गर्न सकिन्छ ?

हामीले राजनीतिक व्यवस्था बद्लेका छौँ । राजनीतिक दृष्टिले लोकतन्त्रलाई उन्नत बनाएका छौँ । तर, लोकतन्त्रलाई आर्थिक र सामाजिक जीवनमा विस्तारित गर्ने कुरामा मेहनत गर्नुपर्ने छ । त्यसको निम्ति आवश्यक आर्थिक नीति बदल्नुपर्ने छ । हाम्रो व्यवस्थाले लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मूख राज्य व्यवस्थामा समावेशी व्यवस्था भन्छ । व्यवस्थाले विपन्न नागरिकलाई प्राथमिकता दिने कुरा गर्छ ।

तर, हाम्रो आर्थिक नीतिहरु त्यसलाई सहयोग गर्ने खालका बन्न सकेका छैनन् । पञ्चायतकालमा बजारमुखी अर्थतन्त्रका कुरा अगाडि सारिएको थियो । तर अहिलेको हाम्रो राजनीतिक व्यवस्थाले सहकारी क्षेत्रको सहभागितासहितको मिश्रित अर्थतन्त्रको कुरा गरेको छ । अहिलेको व्यवस्थाले हाम्रो आर्थिक सिद्धान्त र आर्थिक नीतिलाई बनाउनुपर्ने कुरा गर्छ । राजनीतिक व्यवस्था नयाँ छ, तर आर्थिक नीति पुरानै छ । अहिलेको राजनीतिक व्यवस्था माओवादीको एजेन्डा थियो ।

तर, कार्यान्वयन गर्ने जिम्मेवारी अरूकै हातमा प¥यो । नीति र नेतृत्वबीचमा खाडल छ । जसले व्यवस्था ल्यायो, उसले नेतृत्व गर्न पाएन । नीति र नेतृत्वको दूरीले कार्यान्वयनको क्षेत्रमा समस्या भएको छ । अर्को कुरा, राजनीतिक व्यवस्था परिवर्तन गर्न हामी सबै जागरुक भयौँ । तर अवस्था परिवर्तनमा जागरुक हुन सकेनौँ । त्यसैले अब जनताको अवस्था परिवर्तनको निम्ति जागरुक हुनुपर्छ ।

तपाईँ जाजरकोटबाट निर्वाचित प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ, निर्वाचनको समयमा जनता समक्ष राख्नु भएको प्रतिबद्धता कति पुरा गर्नुभयो ?

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आएपछि जाजरकोट जिल्ल्लामा धेरै कुरामा सुधार भएको छ । २०६३ सालभन्दा अगाडि जाजरकोट देशको मानव विकास सूचाङ्कमा सबैभन्दा पछाडि परेका नौ जिल्लामध्ये एक थियो । कोहीपनि कार्यालय प्रमुख भएर जाजरकोट जान नमान्ने परिस्थिति थियो । त्यति बेला नायब सब्बाुले कार्यालय प्रमुख भएर काम गर्नुपर्ने अवस्था थियो । तर अहिले उपसचिव कार्यालय प्रमुख भएर बसेको अवस्था छ । पछिल्लो समयमा सरकारी तहबाट हुने काममा सुधार हुँदै गएको छ । हामीले जाजरकोटमा पूर्वाधार विकासमा क्रान्ति गरेका छौँ ।

अहिले सडक पूर्वाधारको दृष्टिले सबै वडामा बाटो पुगेको छ । जिल्लाका सबै सडक कालोपत्र गर्ने क्रममा छौँ । जाजरकोट जिल्लाको सदरमुकामसमेतमा माइक्रो हाइड्रोबाट बिजुली व्यवस्थापन गर्नुपर्ने स्थिति थियो । जिल्लाभरी विद्युतीकरणको प्रक्रिया अगाडि बढेको छ । दुई वटा सबस्टेशनको काम सम्पन्न भएको छ । बाँकी दुई वटा सबस्टेशनको काम भइरहेको छ । त्यसले विद्युत् आपूर्तिमा थप सहज बनाउने विश्वास लिएका छौँ । अब हाम्रो ध्यान आर्थिक, सामाजिक विकासमा हुन्छ ।

अहिलेको संसदीय अभ्यासलाई कसरी लिनुभएको छ ?

संसद््लाई बिजनेश सरकारले दिने हो । संसद््लाई बिजनेस दिने, संसद्लाई सक्रिय बनाइराख्ने काम सरकारको हो । सरकारले संसद्लाई सक्रिय बनाउनेभन्दा पनि सरकारले संसद्मा दर्ता भएका विधेयकलाई फिर्ता लिएर अध्यादेशमार्फत कानुन निर्माण गर्ने गरेको छ । त्यसकारण संसद्लाई सक्रिय बनाइ राख्नका लागि सांसदलाई सरकारले दिनुपर्ने बिजनेसप्रति सरकार त्यति गम्भीर भएको जस्तो देखिँदैन । म अहिले भौतिक पूर्वाधार समितिमा छु । विद्युत्सम्वन्धी विधेयक धेरै पहिले नै प्रस्तुत भएको हो । समितिमा छलफल भएर टुङ्गोपनि लागेको छ । तर अन्तिम छलफलको निम्ति समितिले सम्बन्धित मन्त्रीलाई आमन्त्रण गर्न महिनौँदेखि कोशिस गरिरहेको छ । तर मन्त्रीले व्यस्तता भन्दै पन्छाइ रहनुभएको छ । झट्ट हेर्दा समिति सक्रिय नभएको जस्तो देखिन्छ ।

सरकारले समितिप्रतिको जवाफदेहिता वा जिम्मेवारी बोध गरिरहेको छैन । त्यसले गर्दा कतिपय कामकारबाही प्रभावित भइरहेका छन् । तरपनि यस पटक संसद्ले क्यालेण्डर तयार गरेर काम गरिरहेको छ । सांसदपनि सम्बन्धित विषयमा अध्ययन गरेर, तयारी गरेर संसद्मा बोल्ने कुराको विकास हुँदै गएको छ । एउटा परम्पराको विकास हुन थालेको छ । संसद्मा जनसरोकारका विषयमा आकस्मिक, शून्य वा विशेष समयमा छलफल बह्स हुने गरेको छ । समग्रमा सरकार सदनलाई बिजनेस दिने सवालमा गम्भीर देखिएजस्तो लाग्दैन । किनभने संसदीय समितिमा सत्तारुढ दलको बहुमत छ ।

सांसदको हैसियतले आफ्ना कुरा राख्नेभन्दा पनि सत्तारुढ दलको निर्देशनको आधारमा कतिपय सांसद चल्नुभएको छ । विद्यालय शिक्षा विधेयक, निजामतिसम्बन्धी विधेयक र सङ्घीय प्रहरीसँग सम्वन्धित विधेयकपनि सरकारकै कारण ढिला हुँदै गएको छ । अर्को कुरा सरकारले नीति तथा कार्यक्रमलाई औपचारिकता मात्रै बनाउने कोशिस गरिरहेको छ । योभन्दा अघिल्लो सरकारले कम्तिमा बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम केही महिना अगाडिदेखि छलफल गर्नुपर्छ भनेको थियो । तर अहिले हतारहतारमा हप्ता दिनमै छलफल सक्नुपर्ने छ । बहुमतको आधारमा सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ ।

वित्तिय उत्तरदायित्व र कार्यविधिसम्बन्धी जुन ऐन निर्माण भयो । सरकारको नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल र यथार्थमा बजेट निर्माणसम्बन्धी छलफल केवल औपचारिकताका लागि मात्रै गरेको छ । राष्ट्रिय जनसरोकारको विषय बनाउने र ती राष्ट्रिय जनभावनालाई संसद्को छलफलबाट अझ परिस्कृत गर्ने तर्फ संसद्को भूमिका देखिँदैन । त्यसलाई मुर्त गर्ने कुरामा संसद्को जुन भूमिका हुनुपर्ने हो, त्यो हुनसकेको छैन । भूमिकाका लागि सरकारले जुन वातावरण तयार गर्नुपर्ने थियो, त्यो हुन सकेको छैन ।

संविधान जारी भएको १० वर्ष हुन लाग्यो, यो अवधिमा संविधान कार्यान्वयनको अवस्थालाई तपाईँले कसरी हेर्नुभएको छ ?

सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन अहिलेसम पनि बन्न सकेको छैन । कानुन नबन्दा प्रहरी समायोजन हुन सकेको छैन । विद्यालय शिक्षासम्बन्धी कानुन बन्न नसक्दा समस्या भइरहेको छ । यी कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा प्रत्यक्ष प्रभाव परेको छ । दश वर्षमा संविधानको जति कार्यान्वयन हुनुपर्ने हो, त्यति हुन सकेको छैन । संविधानमा जनताको गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीलगायत सहभागिता र समानतासँग सम्वन्धित विषय नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेको छ । संवैधानिक व्यवस्था कार्यान्वयन गर्नका लागि जति प्रयास हुनुपर्ने थियो, त्यति हुन सकेको छैन ।

दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकार गठनका क्रममा संविधान संशोधन गर्ने विषयमा सहमति गरेका छन, संशोधनको चर्चापनि चलिरहेको छ, यो विषयलाई तपाईले कसरी विश्लेषण गर्नुहुन्छ ?

दश वर्षमा संविधानको समीक्षा गर्ने भनेकै छ । समय र परिस्थितिअनुसार संविधानलाई परिमार्जन गर्दै लैजानुपर्छ । यो स्वाभाविक पनि हो । तर, संविधान संशोधन कसरी गर्ने भन्नेबारेमा प्रष्ट हुन सकेको छैन । संवैधानिक व्यवस्थाबारे कतिपय प्रयोगमै आएको छैन । प्रयोगमा आएपछि ठिक वा बेठिकको आधारमा संशोधन गर्ने हो । हामीले राजनीतिक रूपमा सङ्घीयता ल्यायौँ । प्रशासनिक सङ्घीयता र वित्तिय सङ्घीयताको बारेमा हाम्रो ध्यानै पुगेको छैन । जस्तै स्रोतको व्यवस्थापन र परिचालन हुन सकिरहेको छैन । अहिले प्रदेश र स्थानीय सरकार सङ्घीय सरकारको निगाहमा चलिरहेको छ ।

वित्तिय सङ्घीयताको पाटोमा थप छलफल गरेर जानुपर्ने छ । मेरो विचारमा राजनीतिक स्थिरताको निम्ति निर्वाचन प्रणाली र शासकीय स्वरुपमा संविधान संशोधन गर्नुपर्ने छ । शासकीय स्वरुपलाई प्रत्यक्ष कार्यकारीको व्यवस्था गरौँ, भनेका छौँ । त्यसैगरी निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजाऔँ भनेका छौँ । त्यो भयो भने व्यवस्थापिका पनि प्रभावकारी हुन्छ । त्यसो गर्दा नीति निर्माण व्यवस्थापिकाप्रति केन्द्रित भएर काम गर्ने स्थिति हुन्छ । अहिले भइरहेको महङ्गो चुनावपनि हुँदैन । अर्को कुरा जनताले पाइरहेको अधिकार कटौती गर्नेगरी संशोधन गर्नु हुँदैन । जनतालाई थप अधिकार सम्पन्न बनाउन संशोधन गर्ने हो ।

अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ, यो अहिलेको सङ्घीयतालाई अझै सुध्रिण र बलियो बनाउनका लागि के गर्न सकिन्छ होला?

सबैभन्दा पहिला सङ्घीयताको महत्व र आवश्यकतालाई सही ढङ्गबाट आत्मसात गर्नुप¥यो । सङ्घीयतालाई सुधार गर्नुको विकल्प हामीसँग छैन । हामीकहाँ सङ्घीयता नै चाहिँदैन भन्ने पूर्वाग्रह पालेर बस्नेपनि छन् । परिस्थिति अनुसार सङ्घीयतालाई बाध्यात्मक ढङ्गले स्वीकार गरेको एउटा पंक्ति पनि छ । जसले ठिक र बेठिकको आधारमा होइन, पूर्वाग्रहको आधारमा सङ्घीयताबारे टिका÷टिप्पणी गरिरहेको छ । भौगोलिक विविधता भएको, समान विकासको अवस्था रहेको छ ।

सामाजिक÷सांस्कृतिक विविधताको आधारमा नेपालमा सङ्घीयताको बोध गरिएको हो । सङ्घीयता सन्तुलित र समावेशी विकासका लागि हो । लोकतन्त्रलाई जनताको घरआँगनमै पु¥याउन, सामाजिक न्यायको निम्ति सङ्घीयता चाहिएको हो । अर्को कुरा, प्रहरी वा कर्मचारी समायोजनसम्बन्धी कानुन बन्न सकेको छैन, त्यसलाई बनाउनुपर्ने छ । विद्यालय शिक्षा विधेयक पनि सङ्घीयतासँगै जोडिएको छ । सङ्घीयता कार्यान्वयनमा प्रत्यक्ष प्रभाव राख्ने कानुन जतिसक्दो चाँडो बनाउनुपर्ने आवश्यकता छ ।

तपाई आफैँ पटक पटक सङ्घीय सरकारको मन्त्री भएर काम गरिसक्नु भएको छ, अहिलेको शासन सञ्चालनप्रति तपाईको विश्लेषण के छ ?

वर्तमान सरकार जनताको आवश्यकतामा केन्द्रित हुन सकेको छैन । संसद्को पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने प्रक्रिया संसारमा दुर्लभै हुन्छ । यो विशेष परिस्थितिमा मात्रै हुने गरेको छ । तर यो सरकार बनिसकेपछि जनताले त्यति सुशासनको अनुभूति गर्न पाएका छैनन कि जस्तो लाग्छ । सरकारले यो चाहीँ नयाँ काम ग¥यो है, भनेर भन्न सक्ने अवस्था छैन । ठाउँ पाउन सकिएको छैन । सरकारले एकातिर मुलुकको आर्थिक विकासको कुरा गरिरहेको छ । अर्कोतिर सम्पत्ति शद्धिकरणको हिसाबले नेपाल ‘ग्रे लिस्ट’मा परेको छ ।

तर, सरकारले नेपाल ग्रे लिष्टमा पर्नुको दोष अरुलाई दिइरहेको छ । नेपाल राष्ट्र बंैकको गर्भनर सेवा निवृत्त हुनुभन्दा एक महिना अगाडि नियुक्त गर्नुपर्ने हो । तर महिनौँदेखि नियुक्त हुन सकेको छैन । यसले सरकारको सुशासन र आर्थिक विकासको नारालाई खिल्लि उडाएको जस्तो लाछ । यसबाट पनि प्रष्ट हुन्छ कि, सरकार राज्यका विभिन्न निकायमा आफ्नो दलको प्रतिनिधित्व कसरी गराउने भन्नेमै केन्द्रित छ ।

अन्त्यमा, आजभोली तपाईँ केमा व्यस्त हुनुहुन्छ ?

संसद्को बर्खे अधिवेशन सुरु भएको छ । यो बजेट अधिवेशन पनि भएकाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको तयारीसँग सम्बन्धित विषय छन् । सँगसँगै निर्वाचन क्षेत्रका प्राथमिकता र सरोकारका विषयलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गराउने कामपनि भइरहेको छ । यो बीचमा संसद्को खालि समयलाई सदुपयोग गर्दै आफू निर्वाचित क्षेत्रमा पुगेर जनताको समस्या बुझ्ने र समाधानको निम्ति पहल गर्ने काम भएको छ ।

अर्को, हाम्रो पार्टी अहिले अभियानमा छ । मैले युवा, विद्यार्थी, खेलकुद, भूतपूर्व सैनिक सङ्गठनलगायतको संयोजनको काम गरिरहेको छु । कतिपय प्राकृतिक स्रोतसँग सम्बन्धित विभागको संयोजन पनि गरिरहेको छु । त्यसअन्तर्गत अहिले वाइसिएल र खेलकुद क्षेत्रको राष्ट्रिय सम्मेलनको तयारी भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
२०८२ कार्तिक १४, शुक्रबार
दीपक आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ आजदेखि प्रदर्शनमा
२०८२ कार्तिक १४, शुक्रबार