काठमाण्डौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।
अमेरिकालाई विदेशी आतङ्ककारी र अन्य राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउन यसै महिनाको सुरुदेखि राष्ट्रपति ट्रम्पले विभिन्न देशका नागरिकको प्रवेशमा प्रतिबन्ध लगाउन थाल्नुभएको हो। यसअघि उहाँले १२ देशका नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार, अबको दुई महिनाभित्र भुटानसहित ३६ देशलाई पूर्ण वा आंशिक रूपमा अमेरिका प्रवेशमा निलम्बनको लागि सिफारिस गर्ने तयारी भइरहेको छ।
अमेरिकाले यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेका देशहरूमा एसियाका चार देशहरू भुटान, किर्गिजस्तान, सिरिया र कम्बोडिया समावेश छन्।
त्यसैगरी, वासिङ्टन पोस्टले उल्लेख गरेअनुसार, अफ्रिकाका २५ देशका नागरिकलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। यी अफ्रिकी देशहरूमा अंगोला, बुर्किना फासो, बेनिन, काबो भर्दे, क्यामरुन, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, जिबौटी, इथियोपिया, इजिप्ट, ग्याबोन, गाम्बिया, घाना, आइभोरी कोस्ट, लाइबेरिया, मलावी, मौरिटेनिया, नाइजर, नाइजेरिया, साओ टोमे एण्ड प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगान्डा, जाम्बिया र जिम्बाब्वे रहेका छन्।
यसका अतिरिक्त, अमेरिकाले क्यारेबियन क्षेत्रका एन्टिगुवा एण्ड बर्बुडा, डोमिनिका, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसियाका नागरिकमाथि पनि यात्रा प्रतिबन्धको तयारी गरिरहेको छ। ओसिनिया क्षेत्रका टोङ्गा, भानुआतु र तुभालुमा पनि यात्रा प्रतिबन्धको तयारी भइरहेको बताइएको छ।
यो कदमले विश्वभरका लाखौं मानिसहरूलाई असर पार्ने र अन्तर्राष्ट्रिय समुदायमा यसको व्यापक प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया