मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

डिजिटल माध्यमबाट हुने भ्रामक प्रचारको तथ्यगत प्रतिवाद गर्न संयन्त्र निर्माण गरिने प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह चुनाव केन्द्रित १३ बुँदे निर्वाचन तयारीसम्बन्धी कार्ययोजना प्रस्ताव गरेको छ । एमालेले पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित केन्द्रीय तहदेखि टोल तहसम्मै संगठन परिचालन गर्ने योजना अघि सारिएको हो । काठमाडौंमा बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टी महासचिव शंकर पोखरेलले पेस गरेको प्रस्तावित कार्ययोजनामा निर्वाचनमा पार्टीका उम्मेदवारको विजय सुनिश्चित गर्ने र जनविश्वास पुनःस्थापित गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

प्रस्तावित कार्ययोजनामा स्थानीय निर्वाचनको मुख्य आधार मानिएका पालिका, वडा र टोल कमिटीको अवस्थाको समीक्षा गरी निष्क्रिय कमिटीलाई सक्रिय बनाइने उल्लेख छ । वडा र पालिका अधिवेशनको तालिका सार्वजनिक गरी कार्यकर्ताको भावनाअनुरूप योग्य र क्रियाशील नेतृत्व चयनका लागि सहजीकरण गर्ने प्रस्तावित कार्ययोजनामा उल्लेख छ । प्रत्येक वडामा मतदाता संख्या, पार्टी सदस्य, समर्थक, शुभेच्छुक, जनसंगठन र स्थानीय मुद्दाहरूको अद्यावधिक अभिलेख तयार पार्ने भनिएको छ ।

टोलस्तरमा सम्पर्क व्यक्ति तोकेर घरदैलो अभियानलाई तीव्र बनाउने कार्ययोजनामा समेटिएको छ । जनमत सर्वेक्षण तथा कार्यकर्ता र बौद्धिक क्षेत्रको राय-सुझाव संकलन गरी सोही आधारमा छुट्टाछुट्टै निर्वाचन रणनीति बनाउने प्रस्ताव गरिएको छ । उम्मेदवार छनोटमा पहुँच र गुटगत प्रभावलाई निरुत्साहित गर्ने कार्ययोजनामा दाबी गरिएको छ । निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरिने उल्लेख छ । कमिटीअन्तर्गत प्रचारप्रसार, डिजिटल प्रचार, मतदाता सम्पर्क, जनसंगठन परिचालन, आर्थिक तथा स्रोत व्यवस्थापन, कानुनी सहायता र अनुगमन लगायतका उपसमिति सक्रिय बनाउने उल्लेख छ । एमालेले स्थानीय जनताका दैनिक सरोकार र आवश्यकता समेटेर कार्यान्वयनयोग्य प्रतिबद्धतापत्र तयार पार्ने योजना पनि अघि सारेको छ । विपक्षी दलका कमजोरीमाथि तथ्यपूर्ण रूपमा आफ्ना नीति र विकासका उपलब्धि जनतासमक्ष पुर्‍याउने तथा डिजिटल प्लेटफर्मको अधिकतम् प्रयोग गर्ने कार्ययोजनामा उल्लेख छ । त्यस्तै, डिजिटल माध्यमबाट हुने भ्रामक प्रचारको तथ्यगत प्रतिवाद गर्न संयन्त्र निर्माण गरिने प्रस्ताव गरिएको छ ।

मूल ढोकाबाटै सिंहदरबार पस्छौँ : अध्यक्ष ओली

अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गर्नुभएको छ । बुधबार सुरु पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा पुगेको र अब फेरि पनि सरकारमा फर्कने दाबी गर्नुभएको हो । एमाले फेरि सरकारमा फर्किएर देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन । संघर्षको मैदानबाट, संघर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । सरकारको नेतृत्व कृपाले, जनताको कृपाले गएका हौँ । अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा, आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन । फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ ।’

एमालेमाथि सरकारी निर्मम हमला महँगो पर्ने चेतावनी

अध्यक्ष ओलीले सरकार एमालेप्रति निर्मम भएर दमनमा उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन नेता/कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सरकारले एमालेमाथि निर्मम हमला गरिरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारबाट एमालेमाथि निर्मम हमला भएको छ । देशभरी लखेटीलखेटीकन सडकबाट मात्रै होइन, सडकबाट भागेर घर-घरभित्र, पसलभित्र गएर लुक्दा पनि तानेर ल्याएर, कहिलेको प्रतिशोध साँधेको ? आइन्दा हाम्रो कार्यकर्ता पंक्तिलाई त्यस ढंगको व्यवहार गर्न खोजियो भने त्यसको मूल्य धेरै महँगो पर्नेछ । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनुपर्छ । सबै तयार हुनु । यो सरकारले कुन बेला के गर्छ भर छैन ।’

ओलीको दाबी,‘आइजिपीले म, प्रचण्ड र देउवालाई थुनिदिन्छु भनेका छन्’

पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्व-प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुनिदिने चेतावनी दिएको दाबी गर्नुभएको छ । यस्तो बोली होसमै बोलेको हो कि बेहोसमा हो ? भनेर प्रश्नसमेत गर्दै ओलीले भन्नुभयो, ‘आइजिपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आइजिपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ? हामी राणा शासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ । अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ, फलानालाई थुनिदिन्छु । ठट्टा मजाक गरेको हो ?’

सीमा विवादमा प्रधानमन्त्री बालेन्द्रको अभिव्यक्ति जानीजानी आएको जिकिर

अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले जानीजानी नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएको टिप्पणी गर्नुभएको छ । एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘संसद्मा प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिए । उनले जानीजानी बोलेको हो भन्ने देखिन्छ । संसद्को रेकर्डबाट हटाइएन । सभामुखले पनि रेकर्डबाट हटाउन के–के गर्नुभयो ? के को लागि कहिलेको लागि लागि रेकर्ड राख्न खोजेको हो ?’

देश आतंकको छायामुनि रहेको टिप्पणी

अध्यक्ष ओलीले ‘जेन-जी’ आन्दोलनका नाममा गत वर्ष भदौको तोडफोडलाई मान्यता दिनका लागि संवैधानिक बाटोबाट फागुन २१ गते निर्वाचनको मञ्चन गरिएको टिप्पणी गर्नुभएको छ । वर्तमान सरकार अहिले अधोगतितर्फ गइरहेको दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘गत वर्षजस्तो अनधिकृत, हिंसात्मक, आतंककारी, अलोकतान्त्रिक तरिकाबाट सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट, तोडफोडबाट लोकतन्त्र मास्ने, संविधान मास्ने र त्यसपछि ती क्रियाकलापहरूलाई मान्यता दिने खालका क्रियाकलापहरू, कामहरू नेपालको इतिहासमै भएका थिएनन् । त्यसलाई मान्यता दिनका लागि एउटा संवैधानिक बाटो निर्वाचनको मञ्चन पनि गरियो ।’ अहिले देश राजनीतिक रूपमा एउटा आतंकको छायामुनि रहेको टिप्पणी गर्दै ओलीले भन्नुभयो, ‘देश भय र त्रासको वातावरणमुनि, असंवैधानिक, गैरकानुनी क्रियाकलापहरूको पेलाइमा, स्वेच्छाचारी शासनको अन्तर्गत चलिरहेको छ । फाँसीवादतर्फ दमनकारी, प्रतिशोधी व्यवहार अगाडि बढिरहेको छ ।’

पार्टी शुद्धीकरण र सुदृढीकरणबारे यस्तो छ एमालेको प्रस्ताव

एमाले महासचिव पोखरेलले पछिल्लो समयमा पार्टी जीवनमा अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा गम्भीर विचलन देखिन थालेको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा महासचिव पोखरेलले शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे पेस गरेको कार्यपत्रमा विचलनले कार्यकर्ता पंक्तिमा गहिरो चिन्ता र चासो व्यक्त भएको बताउनुभएको हो । ‘पार्टीप्रतिको जनविश्वास जोगाउन, संगठनलाई सुदृढ बनाउन र कम्युनिष्ट आचरणलाई व्यवहारमा स्थापित गर्न पार्टी शुद्धीकरण अभियान आवश्यक छ भन्ने निष्कर्षसहित दशौँ महाधिवेशनपश्चात् एजेण्डा बनाएर नै छलफलसमेत गरिएको थियो । तर, त्यसलाई व्यवहारमा लैजान सकिएन । परिणामस्वरूप पार्टीमा समस्या बढ्दै जाने स्थिति उत्पन्न भएको छ’, पोखरेलले प्रस्तुत कार्यपत्रमा भनिएको छ ।

शुद्धीकरणको उद्देश्य कसैलाई निषेध गर्ने नभएको उल्लेख गर्नुभएका पोखरेलले एकै प्रकृतिको घटनामा दोहोरो मापदण्डको प्रयोग भएको देखिन नहुने स्पष्ट पार्दै भन्नुभएको छ, ‘यथार्थतामा पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वासलाई पुनर्स्थापित गर्नु नै शुद्धीकरणको उद्देश्य हो र हुनुपर्दछ । पार्टीभित्र देखिएका कमजोरी सच्याउँदै, जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै र सामूहिकतामा आधारित पार्टी संस्कृति विकास गर्दै अघि बढ्नु आजको आवश्यकता हो । यसका लागि पार्टीले निम्न विषयमा विशेष ध्यान दिनुपर्छ ।’ साथै,महासचिव पोखरेलले नेता कार्यकर्तामा जनमुखी जीवनशैली र आचरण, नैतिक र चारित्रिक सदाचार, आधारभूत वर्ग र समुदायमुखी सम्बन्ध, कमरेडली भावनासहितको पार्टी संस्कृति, अनुशासनहीनता, गुटबन्दी र अन्तर्घातको अन्त्य, आर्थिक पारदर्शिता र सम्पत्ति स्वघोषणा, अनुगमन र छानविन प्रणालीको विकास गर्नुपर्ने बताउनुभएको छ । ज्येष्ठ नागरिक सुविधाअन्तर्गत हालै कैदमुक्त हुनुभएका एमाले नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी हुनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान हुनुभएका रायमाझी ६५ वर्ष उमेर पूरा भएपछि २५ प्रतिशत कैद छुट पाउँदै गत २६ कात्तिकमा डिल्लीबजार कारागारबाट मुक्त हुनुभएको थियो ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया