काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएसँगै वाणिज्य बैंकहरूको मुद्दती निक्षेप घट्न थालेको छ । बैंकमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । ब्याजदरमा आएको गिरावटपछि निक्षेपकर्ताले मुद्दती खातामा राखेको रकमसमेत बचत खातामा सार्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको मुद्दती निक्षेप १५.३ प्रतिशतले घटेको छ । जबकि सोही अवधिमा चल्ती निक्षेप २९.९ प्रतिशत र बचत निक्षेप ४५.६ प्रतिशतले बढेको छ । यसले बैंकमा पैसा राख्ने निक्षेपकर्ताको प्राथमिकता मुद्दतीबाट बचततर्फ सरेको देखाउँछ ।
अघिल्लो आर्थिक वर्षमा मुद्दती निक्षेप दुई प्रतिशतले मात्र घटेको थियो । त्यसबेला चल्ती र बचत निक्षेप क्रमशः ३८.९ प्रतिशत र ३६.५ प्रतिशतले बढेका थिए । पछिल्लो वर्ष मुद्दती निक्षेपमा आएको ठूलो गिरावटले बैंकहरूको निक्षेप संरचनामै परिवर्तन आएको संकेत गरेको छ ।
निरन्तर बढिरहेको रेमिट्यान्स आप्रवाह र कमजोर कर्जा मागका कारण बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त छ । बैंकहरूसँग निक्षेप संकलनका लागि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नरहेपछि मुद्दती निक्षेपमा आकर्षक ब्याजदर दिनुपर्ने बाध्यता पनि कम भएको छ ।
सर्वसाधारणबाट संकलन गरिएको निक्षेपमा बैंकले ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । तर, कर्जा प्रवाह कमजोर हुँदा संकलित रकम परिचालन गर्न नसकिएपछि बैंकका लागि महँगो ब्याजदरमा दीर्घकालीन निक्षेप जुटाउनु थप आर्थिक भार बन्ने गरेको छ । त्यसैले बैंकहरूले मुद्दती र बचत निक्षेपको ब्याजदरबीचको अन्तर घटाएका छन् । ब्याजदर उस्तै वा थोरै मात्र फरक भएपछि निक्षेपकर्ताले रकम मुद्दतीमा बाँधेर राख्नुभन्दा आवश्यक परेको समयमा झिक्न मिल्ने बचत खातालाई प्राथमिकता दिएका हुन् ।
हुन सकेन कर्जा विस्तार
राष्ट्र बैंकको तथ्यांकले बैंकहरूमा निक्षेप बढे पनि त्यसअनुसार कर्जा विस्तार हुन नसकेको देखाउँछ । गत आवमा वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन १४.६ प्रतिशत अर्थात् नौ खर्ब ५६ अर्ब २९ करोड रुपैयाँले बढेर ७४ खर्ब ८८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १३.७ प्रतिशत अर्थात् सात खर्ब ८४ अर्ब ८७ करोड रुपैयाँले बढेको थियो । तर, सोही अवधिमा बैंकहरूको कर्जा तथा लगानी भने ४.२ प्रतिशत अर्थात् दुई खर्ब ६३ अर्ब १९ करोड रुपैयाँले मात्रै बढेको छ । २०८३ असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा तथा लगानी ६५ खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष कर्जा तथा लगानी ७.२ प्रतिशत अर्थात् चार खर्ब २४ अर्ब ६१ करोड रुपैयाँले बढेको थियो ।
यसले बैंकिङ प्रणालीमा निक्षेप संकलनको गति तीव्र भए पनि कर्जा परिचालनको गति सुस्त रहेको देखाउँछ । गत आवमा निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशत अर्थात् तीन खर्ब १७ अर्ब ९७ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष निजी क्षेत्रमा प्रवाहित कर्जा ८.६ प्रतिशत अर्थात् तीन खर्ब ८६ अर्ब तीन करोड रुपैयाँले बढेको थियो । कर्जा विस्तारमा आएको यो सुस्तताले बैंकहरूमा लगानीयोग्य रकम थुप्रिने अवस्था थप बलियो बनाएको छ ।
२०८३ असार मसान्तमा वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १३.९ प्रतिशत अर्थात् ११ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँले बढेर ९२ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति तथा दायित्व १२ प्रतिशतले बढेको थियो ।
बैंकहरूले निजी क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्न नसकिरहँदा प्राथमिकता प्राप्त क्षेत्रमा भने कुल कर्जाको ३८.१४ प्रतिशत रकम परिचालन गरेका छन् । राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा कृषि क्षेत्रमा १३.१२ प्रतिशत र गैरकृषि क्षेत्रमा २५.०२ प्रतिशत कर्जा प्रवाह भएको छ । प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाहित कुल कर्जा १९ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकले घटाए सरकारी ऋणपत्रको लगानी
यसैबीच, वाणिज्य बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीसमेत घटाएका छन् । गत आवमा यस्तो लगानी ९.२ प्रतिशत अर्थात् ९५ अर्ब १७ करोड रुपैयाँले घटेर नौ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सरकारी ऋणपत्रमा बैंकहरूको लगानी १५ अर्ब ५८ करोड रुपैयाँले बढेको थियो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको सरकारी ऋणपत्रमा गरिएको लगानीसहितको कुल तरल सम्पत्ति १८ खर्ब एक अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो कुल निक्षेपको २४.०६ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो अनुपात २६.७ प्रतिशत थियो ।
तरल सम्पत्तिको संरचनामा भने केही परिवर्तन देखिएको छ । समीक्षा अवधिमा बैंकहरूको तरल कोष २०.९ प्रतिशतले बढेको छ । विदेशी बैंकमा रहेको मौज्दात ६२.३ प्रतिशत अर्थात् एक खर्ब ६१ अर्ब ३३ करोड रुपैयाँले बढेर चार खर्ब २० अर्ब २१ करोड रुपैयाँ पुगेको छ । तर, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात भने १.३ प्रतिशत अर्थात् चार अर्ब ८१ करोड रुपैयाँले घटेर तीन खर्ब ५९ अर्ब तीन करोड रुपैयाँ कायम भएको छ ।
समग्र तथ्यांकले बैंकिङ प्रणालीमा निक्षेपको विस्तार तीव्र रहे पनि कर्जा माग कमजोर हुँदा बैंकहरूको लगानी क्षमता पूर्णरूपमा उपयोग हुन नसकेको देखाएको छ । यही अवस्थाले निक्षेपको ब्याजदर घटाउने दबाब सिर्जना गर्नुका साथै मुद्दती निक्षेपबाट बचत खातातर्फ रकम सर्ने प्रवृत्तिलाई बढावा दिएको छ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया