काठमाण्डौंः पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३२० जनाको ज्यान गएको छ ।
सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ मात्र १८० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । मृतकमध्ये महिलासहित धेरै बालबालिका रहेको जनाइएको छ ।
उद्धार कार्य भइरहेको अवस्थामा खराब मौसमका कारण प्रान्तीय सरकारको हेलिकोप्टर दुर्घटनामा दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
सरकारले बुनर, बजौर, मानसेहरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ । स्थानीय बासिन्दाहरूले घटनालाई ‘प्रलय’ सरह भयावह भएको भन्दै पीडित परिवारलाई तत्काल राहत र उद्धारको माग गरेका छन् ।
पाकिस्तानको मौसम विभागले आगामी दिनहरूमा झनै भारी वर्षा हुने चेतावनी दिंदै जोखिमयुक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ । सरकारले शनिबारलाई शोकको दिन घोषणा गरेको छ । यस दिन राष्ट्रिय झण्डा आधा झुकाइने र मृतकलाई राज्य सम्मानसहित अन्त्येष्टि गरिनेछ ।
विशेषज्ञहरूले जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसमका घटना बढ्दै गएको चेतावनी दिएका छन् । यस वर्षको असामान्य मनसुनले अहिलेसम्म ५०० जनाभन्दा बढीको ज्यान लिइसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया