गणतन्त्र स्थापनाको दुई दशक बित्दा नबित्दै नेपाली राजनीतिको चरित्र र स्वभावमा आमूल परिवर्तन आएको छ । यो ‘सेवा’ होइन, ‘धन्दा’ बनेको छ । हिजोसम्म ‘राजनीतिलाई पेसाका रूपमा होइन, धर्म र सामाजिक सेवाका रूपमा हेर्छौं’ भन्नेहरू सम्पत्ति थुपार्ने लोभबाट बाहिर आउन सकेका छैनन् ।
देशका ठूला वा साना सबै नेता अनेकन् धन्दा र धाँधलीमा जोडिएका तथ्यहरू छताछुल्ल भएका छन् । संविधानको निर्माणसँगै स्थापित भएका प्रभावशाली नेताहरू कोरोना महामारी, भुइँचालो र नाकाबन्दीजस्ता ठूला विपत्ति बेहोरेर पनि देशको सुशासनको पक्षमा गतिशील हुन सकेका छैनन् । यस्तो नेतृत्वसँग जनताले के आशा गर्ने ?
अहिलेको अवस्थामा देशमा कुनै सचेत नेतृत्वको प्रादुर्भाव होला र देशले गति लेला भन्ने आधार देखिएको छैन । जनताले संघीय गणतन्त्रको स्थापनाका लागि आफ्नो रगत, पसिना बहाएर राजनीतिक शक्तिलाई साथ त दिए । तर, राजनीतिक शक्तिहरू जनताको पक्षमा उभिन सकेनन् । संघीय गणतन्त्रका लागि नेपाली जनताको संघर्षको सम्मान नयाँ वा पुराना कुनै पार्टीका कुनै नेताले पनि गर्न सकेनन् । नेताहरू आफ्नै अहंकारमा रमाए । देश अलोकतान्त्रिक राजनीतिको व्यूहमा फस्यो ।
पत्रकार लिंकन स्टेफेन्सले आफ्नो पुस्तक ‘रिभोल्ट इज नट रिफर्म’ मा लेखेका छन्, ‘भ्रष्ट पद्धतिलाई परिवर्तन गर्न आक्रोशको एक झोक्का मात्र पर्याप्त हुँदैन ।’ स्टेफेन्सको पुस्तक पढेपछि यो स्तम्भकारलाई लाग्यो, आर्थिक र सामाजिक जीवनमा हाम्रो देशले आक्रोशका अरू कति झोक्का र कति थप्पड झेल्नपर्ने हो ? २००७ सालमा राणातन्त्रको समाप्तिपछि नेपाल निरन्तर राजनीतिक संक्रमणमा रहेको छ ।
राजनीतिक स्थिरताको अभावमा देशको विकास हुन सकेको छैन । तर, राजनीतिक स्थिरताका लागि आवश्यक आर्थिक विकास फिटिक्क भएको छैन । देशका प्राकृतिक स्रोतहरू राजनीतिक दादागिरीको कब्जामा छ । विकासका नाममा जे भएका छन्, ती सबै अनुत्पादक अवस्थामा छन् । देशको राजनीतिक व्यवस्थामा यत्रो परिवर्तनपछि पनि अब आक्रोशका कति झोक्का आयो भने हाम्रो दशा र दिशा सुखद परिवर्तनतिर मोडिएला ? यसको जवाफ स्टेफेन्सले पनि दिन सकेका छैनन् ।
यस्तो अवस्थामा नेपाली समाजमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव हलक्क बढेको छ भने यो अस्वाभाविक होइन । सामाजिक सञ्जालको प्रभाव कुनै एउटा सहर वा कुनै एउटा बजारमा मात्र सीमित रहेको छैन । सामाजिक सञ्जालको प्रयोग देशका सानातिना सबै गाउँ र सहरसम्म पुगेको छ । मोबाइल, टेलिफोनले आवाज दबाइएका जनतालाई स्वच्छन्दताको हदैसम्म गएर स्वतन्त्रताको उपभोग गर्न हौस्याएको छ ।
सञ्चार क्षेत्रको विकास र विस्तारसँगै सामाजिक सञ्जालका प्रयोगकर्ता हलक्क बढेका छन् । सामाजिक सञ्जालमार्फत नेपाली समाजले शासनका विविध पक्षसँग आफूलाई जोड्न थालेका छन् । सञ्चार प्रविधिको विकास र विस्तारले देशबाट टाढा बसेका मानिसलाई नजिक ल्याइदिएको छ । खाडी क्षेत्रको कुनै सहरमा कार्यरत युवक ‘लन्च’ खाँदै आफ्नी पत्नी वा प्रियतमासँग मोबाइल फोनमा वार्ता गरेर आफ्नो न्यास्रो मेटाउँछ । काम सकिएपछि समय मिलाएर त्यही फोनमा ज्योति मगर वा अरू कुनै लोकप्रिय कलाकारको कार्यक्रम हेर्छ, मन रसिलो पार्छ र निदाउँछ ।
यो त अहिले देखिएको मानवीय स्वभावको एउटा सरल पाटोमात्रै हो । भनिन्छ, सामाजिक सञ्जाल व्यावसायिक होइन । आवाजहीन मानिसका मनका वेग र उद्वेगलाई आवाज दिने माध्यम हो । तर, पछिल्लो समयमा ‘व्यावसायिक’ हिसाबले नै सामाजिक सञ्जालको विस्तार भएको छ । सामाजिक सञ्जालका आविष्कारक र सञ्चालकहरूले यसलाई नाफा कमाउने यन्त्रका रूपमा विकसित गर्दै लगेका छन् । सामाजिक सञ्जाल पूर्णतः व्यावसायिक बनेको छ । सञ्जालको व्यवसायीकरणले विश्वका सबै समाजको दिशा र दशामा आमूल परिवर्तन ल्याएको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जाल एकअर्काका दुस्मन पक्कै होइनन्, तर दुवैकाबीच कोरिएको एउटा लक्ष्मणरेखाले दुवैको अलग महत्त्व भने स्थापित गरेको छ
सामाजिक सञ्जालको शक्तिको परीक्षण ट्युनिसियाबाट सुरु भएको थियो । सन् २०१० को अन्त्यदेखि २०१२ सम्म भएको ‘अरब स्प्रिङ’ आन्दोलनको विस्तारमा सामाजिक सञ्जालको ठूलो देन थियो । ट्युनिसियाको सडकमा फुटपाथे व्यापारी मोहम्मद वाउजिजीले सरकारको अत्याचार र भ्रष्टाचार सहन नसकेर आत्मदाह गरेपछि त्यहाँ जनताको आक्रोश डढेलोजस्तै सल्कियो । सरकारका विरुद्ध जनताले स्वतःस्फूर्त आन्दोलन गरे । ट्युनिसियाबाट सुरु भएको अरब स्प्रिङको डढेलो लिबिया, इजिप्ट, यमन, सिरिया र बहराइनसम्म फैलियो । यो जनक्रान्तिसँगै कर्नेल गद्दाफी, होस्नी मुबारक, अब्दुल्ला सलेहजस्ता तानाशाह शासकहरूको अन्त्य भयो ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले राजाहरूको तानाशाही शासनमा उन्नत भएका चोरतन्त्र, राजनीतिक भ्रष्टाचार, गरिबी, विभेद र बेरोजगारीका विरुद्ध जनताको आन्दोलनलाई यसैमार्फत गति प्रदान गरेका छन् । जनताको मनमा लोकतन्त्र र सुशासनप्रति आस्था जगाएका छन् ।
सञ्चारको गतिशील स्वभावको विस्तारसँगै पत्रपत्रिका, रेडियो, टेलिभिजनजस्ता ‘मूलधार’ का भनिने सञ्चारमाध्यमको बजार खुम्चिन थालेका छन् । संसारभरि नै मूलधारका सञ्चारमाध्यम ‘मल्टी’ मिडियाको प्रयोगद्वारा सामाजिक सञ्जालले खुम्च्याउन थालेको आफ्नो बजारको प्रभाव बढाउने प्रयत्नमा लागेका छन् । नेपालको अवस्था पनि अन्यत्रको भन्दा फरक छैन । तर, प्रविधि जतिसुकै नयाँ भए पनि र नयाँ शैलीको प्रयोगको सम्भावना रहे पनि मूलधारका सञ्चारमाध्यमहरू पेसागत अनुशासनको हदभन्दा बाहिर जान सक्दैनन् । सञ्चारमाध्यम र सामाजिक सञ्जाल एकअर्काका दुस्मन पक्कै होइनन् । तर, दुवैका बीच कोरिएको एउटा लक्ष्मणरेखाले दुवैको अलग महत्त्व स्थापित गरेको छ । त्यो रेखालाई सञ्चारमाध्यमले उल्लंघन गर्न मिल्दैन भने सामाजिक सञ्जाल कुनै प्रकारको घेरा वा बन्धनमा बाँधिन सक्दैन ।
नेपालमा सामाजिक सञ्जालको प्रयोग सर्वप्रिय छ । हुनेखानेदेखि गरिखाने वर्गका व्यक्तिहरू कुनै न कुनै रूपमा सामाजिक सञ्जालसँग जोडिएका छन् । वैदेशिक रोजगारीमा जानेहरूका लागि सामाजिक सञ्जाल अपरिहार्य बनेको छ । आफ्नो देश र परिवारसँग जोडिइरहन सामाजिक सञ्जाल अत्यन्त सहयोगी बनेको छ । फेसबुक नेपालीले सबभन्दा बढी प्रयोग गर्ने माध्यम बनेको छ भने पछिल्लो समयमा टिकटकले नेपाली बजारमा आफ्नो ठाउँ बनाउँदै छ । केही वर्षअघिसम्म फेसबुकसमेत सबै नेपालीको पहुँचमा थिएन । तर, प्रविधिको विस्तारसँगै अहिले यो सबैको हातहातमा देखिन्छ । सामाजिक सञ्जालको प्रयोगबाट व्यावसायिक र अन्य प्रकारका लाभ लिन सक्ने नेपाली जनताको संख्या त्यति धेरै छैन ।
पछिल्लो समयमा नेपालका राजनीतिक नेता र तिनका कार्यकर्ताले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गरेको पाइन्छ । कतिपय राजनीतिक दलका नेता र कार्यकर्ताले सामाजिक सञ्जालको माध्यमबाटै आफ्नो परिचय स्थापित गर्न खोजेको पनि देखिएको छ । यसलाई सामाजिक सञ्जालको दुरुपयोग भन्न सकिँदैन । तर, यस्तो प्रयोग सञ्जालको ‘अपचलन’ पक्कै हो । सामाजिक सञ्जालको प्रयोगद्वारा कसैको मानहानि गर्नु र कसैको बेइज्जती गर्नु राम्रो कुरा पक्कै होइन । यसलाई रोक्न त्यति सहज छैन । हाम्रा शासक र प्रशासकहरू पुरानै ढर्रामा शासन र प्रशासन चलाउँछन् । नेताहरू जति माथिल्लो तहमा पुग्छन्, त्यति नै माथिल्लो तहमा कुण्ठित हुन्छन् । सामाजिक सञ्जालमा जनताले चुनेका प्रतिनिधिको अभिव्यक्ति देखेर सामान्य मानिसको मन कुँडिन्छ । उनीहरू जे भनिरहेका हुन्छन्, त्यसले सामान्य मानिसलाई उद्विग्न बनाउँछ ।
सामाजिक सञ्जालमा चर्चित नेताहरूको अभिव्यक्ति हेर्दा वा पढ्दा आफ्नै देशका प्रति उनीहरूमा रहेको एक प्रकारको अवमानको भाव भेटिन्छ । नेपालको कथित राजनीतिक वर्गले आफ्नो बानी व्यहोरामा सुधार ल्याउला भन्ने आशा गर्ने ठाउँ नै रहँदैन । उनीहरूको वाणी र व्यवहारले नेपालको राजनीतिक नेतृत्वमा कुनै उत्तम पुरुष आउला र सुधार गर्ला भन्ने आशा राख्नै सकिँदैन ।
ऐतिहासिक हिसाबले संसारको धेरै पुरानो देशमध्येको एक भनेर स्थापित भएको छ नेपाल । तर, देशको यो विशिष्ट परिचयको सम्मान हुन सकेको छैन । सामाजिक सञ्जालमा हिजोआज छचल्किने गरेका अभिव्यक्तिहरूलाई हेर्दा अधिकांश पढे–लेखेका र विशिष्ट भनिने व्यक्तिहरू आत्ममोहमा मग्न देखिन्छन् । यीमध्ये अधिकांश व्यक्ति देशको अविकासको मूल कारक राजनीतिक दललाई मान्छन् । तर, अहिलेको समयमा राजनीतिक दलहरूबिनाको लोकतन्त्रको कल्पना कसैले गर्दैन । लोकतन्त्रमा राजनीतिक दलहरूले जनताको मर्यादा राख्न सकेनन् भने शासन चल्न सक्दैन । जनताले कुनै एउटा राजनीतिक दललाई एक पटक जिताउनुको अर्थ आफ्नो सार्वभौम अधिकार सधैंका लागि जिम्मा लगाउनु होइन ।
‘सामाजिक सञ्जाल’ नेपाली समाजका लागि पक्कै पनि ‘नेसेसरी इभिल’ होइन । न त यो सञ्चारमाध्यमको विकल्पमा आएको अवधारणा नै हो । सञ्चारमाध्यम र सामाजिक सञ्जाल एकअर्काका सहयोगी र सहयात्री बनेर समाजमा परिवर्तन ल्याउन सक्छन् । त्यसका लागि
सामाजिक सञ्जाललाई व्यावसायिक हिसाबले सञ्चालन गर्ने कामलाई देशका जिम्मेवार नागरिकले निरुत्साहित गर्नुपर्छ । कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया