बैसाख १५, २०८३ मंगलबार April 28, 2026

सामाजिक सञ्जालमा अल्झिएको समाज : किशोर नेपाल

राजनीतिक स्थिरताको अभावमा देशको विकास हुन सकेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गणतन्त्र स्थापनाको दुई दशक बित्दा नबित्दै नेपाली राजनीतिको चरित्र र स्वभावमा आमूल परिवर्तन आएको छ । यो ‘सेवा’ होइन, ‘धन्दा’ बनेको छ । हिजोसम्म ‘राजनीतिलाई पेसाका रूपमा होइन, धर्म र सामाजिक सेवाका रूपमा हेर्छौं’ भन्नेहरू सम्पत्ति थुपार्ने लोभबाट बाहिर आउन सकेका छैनन् ।

देशका ठूला वा साना सबै नेता अनेकन् धन्दा र धाँधलीमा जोडिएका तथ्यहरू छताछुल्ल भएका छन् । संविधानको निर्माणसँगै स्थापित भएका प्रभावशाली नेताहरू कोरोना महामारी, भुइँचालो र नाकाबन्दीजस्ता ठूला विपत्ति बेहोरेर पनि देशको सुशासनको पक्षमा गतिशील हुन सकेका छैनन् । यस्तो नेतृत्वसँग जनताले के आशा गर्ने ?

अहिलेको अवस्थामा देशमा कुनै सचेत नेतृत्वको प्रादुर्भाव होला र देशले गति लेला भन्ने आधार देखिएको छैन । जनताले संघीय गणतन्त्रको स्थापनाका लागि आफ्नो रगत, पसिना बहाएर राजनीतिक शक्तिलाई साथ त दिए । तर, राजनीतिक शक्तिहरू जनताको पक्षमा उभिन सकेनन् । संघीय गणतन्त्रका लागि नेपाली जनताको संघर्षको सम्मान नयाँ वा पुराना कुनै पार्टीका कुनै नेताले पनि गर्न सकेनन् । नेताहरू आफ्नै अहंकारमा रमाए । देश अलोकतान्त्रिक राजनीतिको व्यूहमा फस्यो ।

पत्रकार लिंकन स्टेफेन्सले आफ्नो पुस्तक ‘रिभोल्ट इज नट रिफर्म’ मा लेखेका छन्, ‘भ्रष्ट पद्धतिलाई परिवर्तन गर्न आक्रोशको एक झोक्का मात्र पर्याप्त हुँदैन ।’ स्टेफेन्सको पुस्तक पढेपछि यो स्तम्भकारलाई लाग्यो, आर्थिक र सामाजिक जीवनमा हाम्रो देशले आक्रोशका अरू कति झोक्का र कति थप्पड झेल्नपर्ने हो ? २००७ सालमा राणातन्त्रको समाप्तिपछि नेपाल निरन्तर राजनीतिक संक्रमणमा रहेको छ ।

राजनीतिक स्थिरताको अभावमा देशको विकास हुन सकेको छैन । तर, राजनीतिक स्थिरताका लागि आवश्यक आर्थिक विकास फिटिक्क भएको छैन । देशका प्राकृतिक स्रोतहरू राजनीतिक दादागिरीको कब्जामा छ । विकासका नाममा जे भएका छन्, ती सबै अनुत्पादक अवस्थामा छन् । देशको राजनीतिक व्यवस्थामा यत्रो परिवर्तनपछि पनि अब आक्रोशका कति झोक्का आयो भने हाम्रो दशा र दिशा सुखद परिवर्तनतिर मोडिएला ? यसको जवाफ स्टेफेन्सले पनि दिन सकेका छैनन् ।

यस्तो अवस्थामा नेपाली समाजमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव हलक्क बढेको छ भने यो अस्वाभाविक होइन । सामाजिक सञ्जालको प्रभाव कुनै एउटा सहर वा कुनै एउटा बजारमा मात्र सीमित रहेको छैन । सामाजिक सञ्जालको प्रयोग देशका सानातिना सबै गाउँ र सहरसम्म पुगेको छ । मोबाइल, टेलिफोनले आवाज दबाइएका जनतालाई स्वच्छन्दताको हदैसम्म गएर स्वतन्त्रताको उपभोग गर्न हौस्याएको छ ।

सञ्चार क्षेत्रको विकास र विस्तारसँगै सामाजिक सञ्जालका प्रयोगकर्ता हलक्क बढेका छन् । सामाजिक सञ्जालमार्फत नेपाली समाजले शासनका विविध पक्षसँग आफूलाई जोड्न थालेका छन् । सञ्चार प्रविधिको विकास र विस्तारले देशबाट टाढा बसेका मानिसलाई नजिक ल्याइदिएको छ । खाडी क्षेत्रको कुनै सहरमा कार्यरत युवक ‘लन्च’ खाँदै आफ्नी पत्नी वा प्रियतमासँग मोबाइल फोनमा वार्ता गरेर आफ्नो न्यास्रो मेटाउँछ । काम सकिएपछि समय मिलाएर त्यही फोनमा ज्योति मगर वा अरू कुनै लोकप्रिय कलाकारको कार्यक्रम हेर्छ, मन रसिलो पार्छ र निदाउँछ ।

यो त अहिले देखिएको मानवीय स्वभावको एउटा सरल पाटोमात्रै हो । भनिन्छ, सामाजिक सञ्जाल व्यावसायिक होइन । आवाजहीन मानिसका मनका वेग र उद्वेगलाई आवाज दिने माध्यम हो । तर, पछिल्लो समयमा ‘व्यावसायिक’ हिसाबले नै सामाजिक सञ्जालको विस्तार भएको छ । सामाजिक सञ्जालका आविष्कारक र सञ्चालकहरूले यसलाई नाफा कमाउने यन्त्रका रूपमा विकसित गर्दै लगेका छन् । सामाजिक सञ्जाल पूर्णतः व्यावसायिक बनेको छ । सञ्जालको व्यवसायीकरणले विश्वका सबै समाजको दिशा र दशामा आमूल परिवर्तन ल्याएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल एकअर्काका दुस्मन पक्कै होइनन्, तर दुवैकाबीच कोरिएको एउटा लक्ष्मणरेखाले दुवैको अलग महत्त्व भने स्थापित गरेको छ

सामाजिक सञ्जालको शक्तिको परीक्षण ट्युनिसियाबाट सुरु भएको थियो । सन् २०१० को अन्त्यदेखि २०१२ सम्म भएको ‘अरब स्प्रिङ’ आन्दोलनको विस्तारमा सामाजिक सञ्जालको ठूलो देन थियो । ट्युनिसियाको सडकमा फुटपाथे व्यापारी मोहम्मद वाउजिजीले सरकारको अत्याचार र भ्रष्टाचार सहन नसकेर आत्मदाह गरेपछि त्यहाँ जनताको आक्रोश डढेलोजस्तै सल्कियो । सरकारका विरुद्ध जनताले स्वतःस्फूर्त आन्दोलन गरे । ट्युनिसियाबाट सुरु भएको अरब स्प्रिङको डढेलो लिबिया, इजिप्ट, यमन, सिरिया र बहराइनसम्म फैलियो । यो जनक्रान्तिसँगै कर्नेल गद्दाफी, होस्नी मुबारक, अब्दुल्ला सलेहजस्ता तानाशाह शासकहरूको अन्त्य भयो ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले राजाहरूको तानाशाही शासनमा उन्नत भएका चोरतन्त्र, राजनीतिक भ्रष्टाचार, गरिबी, विभेद र बेरोजगारीका विरुद्ध जनताको आन्दोलनलाई यसैमार्फत गति प्रदान गरेका छन् । जनताको मनमा लोकतन्त्र र सुशासनप्रति आस्था जगाएका छन् ।

सञ्चारको गतिशील स्वभावको विस्तारसँगै पत्रपत्रिका, रेडियो, टेलिभिजनजस्ता ‘मूलधार’ का भनिने सञ्चारमाध्यमको बजार खुम्चिन थालेका छन् । संसारभरि नै मूलधारका सञ्चारमाध्यम ‘मल्टी’ मिडियाको प्रयोगद्वारा सामाजिक सञ्जालले खुम्च्याउन थालेको आफ्नो बजारको प्रभाव बढाउने प्रयत्नमा लागेका छन् । नेपालको अवस्था पनि अन्यत्रको भन्दा फरक छैन । तर, प्रविधि जतिसुकै नयाँ भए पनि र नयाँ शैलीको प्रयोगको सम्भावना रहे पनि मूलधारका सञ्चारमाध्यमहरू पेसागत अनुशासनको हदभन्दा बाहिर जान सक्दैनन् । सञ्चारमाध्यम र सामाजिक सञ्जाल एकअर्काका दुस्मन पक्कै होइनन् । तर, दुवैका बीच कोरिएको एउटा लक्ष्मणरेखाले दुवैको अलग महत्त्व स्थापित गरेको छ । त्यो रेखालाई सञ्चारमाध्यमले उल्लंघन गर्न मिल्दैन भने सामाजिक सञ्जाल कुनै प्रकारको घेरा वा बन्धनमा बाँधिन सक्दैन ।

नेपालमा सामाजिक सञ्जालको प्रयोग सर्वप्रिय छ । हुनेखानेदेखि गरिखाने वर्गका व्यक्तिहरू कुनै न कुनै रूपमा सामाजिक सञ्जालसँग जोडिएका छन् । वैदेशिक रोजगारीमा जानेहरूका लागि सामाजिक सञ्जाल अपरिहार्य बनेको छ । आफ्नो देश र परिवारसँग जोडिइरहन सामाजिक सञ्जाल अत्यन्त सहयोगी बनेको छ । फेसबुक नेपालीले सबभन्दा बढी प्रयोग गर्ने माध्यम बनेको छ भने पछिल्लो समयमा टिकटकले नेपाली बजारमा आफ्नो ठाउँ बनाउँदै छ । केही वर्षअघिसम्म फेसबुकसमेत सबै नेपालीको पहुँचमा थिएन । तर, प्रविधिको विस्तारसँगै अहिले यो सबैको हातहातमा देखिन्छ । सामाजिक सञ्जालको प्रयोगबाट व्यावसायिक र अन्य प्रकारका लाभ लिन सक्ने नेपाली जनताको संख्या त्यति धेरै छैन ।

पछिल्लो समयमा नेपालका राजनीतिक नेता र तिनका कार्यकर्ताले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गरेको पाइन्छ । कतिपय राजनीतिक दलका नेता र कार्यकर्ताले सामाजिक सञ्जालको माध्यमबाटै आफ्नो परिचय स्थापित गर्न खोजेको पनि देखिएको छ । यसलाई सामाजिक सञ्जालको दुरुपयोग भन्न सकिँदैन । तर, यस्तो प्रयोग सञ्जालको ‘अपचलन’ पक्कै हो । सामाजिक सञ्जालको प्रयोगद्वारा कसैको मानहानि गर्नु र कसैको बेइज्जती गर्नु राम्रो कुरा पक्कै होइन । यसलाई रोक्न त्यति सहज छैन । हाम्रा शासक र प्रशासकहरू पुरानै ढर्रामा शासन र प्रशासन चलाउँछन् । नेताहरू जति माथिल्लो तहमा पुग्छन्, त्यति नै माथिल्लो तहमा कुण्ठित हुन्छन् । सामाजिक सञ्जालमा जनताले चुनेका प्रतिनिधिको अभिव्यक्ति देखेर सामान्य मानिसको मन कुँडिन्छ । उनीहरू जे भनिरहेका हुन्छन्, त्यसले सामान्य मानिसलाई उद्विग्न बनाउँछ ।

सामाजिक सञ्जालमा चर्चित नेताहरूको अभिव्यक्ति हेर्दा वा पढ्दा आफ्नै देशका प्रति उनीहरूमा रहेको एक प्रकारको अवमानको भाव भेटिन्छ । नेपालको कथित राजनीतिक वर्गले आफ्नो बानी व्यहोरामा सुधार ल्याउला भन्ने आशा गर्ने ठाउँ नै रहँदैन । उनीहरूको वाणी र व्यवहारले नेपालको राजनीतिक नेतृत्वमा कुनै उत्तम पुरुष आउला र सुधार गर्ला भन्ने आशा राख्नै सकिँदैन ।

ऐतिहासिक हिसाबले संसारको धेरै पुरानो देशमध्येको एक भनेर स्थापित भएको छ नेपाल । तर, देशको यो विशिष्ट परिचयको सम्मान हुन सकेको छैन । सामाजिक सञ्जालमा हिजोआज छचल्किने गरेका अभिव्यक्तिहरूलाई हेर्दा अधिकांश पढे–लेखेका र विशिष्ट भनिने व्यक्तिहरू आत्ममोहमा मग्न देखिन्छन् । यीमध्ये अधिकांश व्यक्ति देशको अविकासको मूल कारक राजनीतिक दललाई मान्छन् । तर, अहिलेको समयमा राजनीतिक दलहरूबिनाको लोकतन्त्रको कल्पना कसैले गर्दैन । लोकतन्त्रमा राजनीतिक दलहरूले जनताको मर्यादा राख्न सकेनन् भने शासन चल्न सक्दैन । जनताले कुनै एउटा राजनीतिक दललाई एक पटक जिताउनुको अर्थ आफ्नो सार्वभौम अधिकार सधैंका लागि जिम्मा लगाउनु होइन ।

‘सामाजिक सञ्जाल’ नेपाली समाजका लागि पक्कै पनि ‘नेसेसरी इभिल’ होइन । न त यो सञ्चारमाध्यमको विकल्पमा आएको अवधारणा नै हो । सञ्चारमाध्यम र सामाजिक सञ्जाल एकअर्काका सहयोगी र सहयात्री बनेर समाजमा परिवर्तन ल्याउन सक्छन् । त्यसका लागि

सामाजिक सञ्जाललाई व्यावसायिक हिसाबले सञ्चालन गर्ने कामलाई देशका जिम्मेवार नागरिकले निरुत्साहित गर्नुपर्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार