काठमाडौँ । युक्रेनको राजधानी किएभमा रुसले गरेको रातभरि आक्रमणमा मुख्य सरकारी भवन क्षतिग्रस्त भएको छ। युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले मन्त्रिपरिषद् भवनमा पहिलोपटक आक्रमण भएको पुष्टि गर्दै छाना र माथिल्लो तलाहरूमा ठूलो क्षति पुगेको बताइन्।
किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार घटनामा एक युवती र एक वर्षमुनिको बच्चासहित दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। उद्धारकर्ताहरूले तेस्रो शव खोजिरहेका छन्।
युक्रेनको वायुसेनाले रुसले रातभरि ८०५ वटा ड्रोन र १३ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएको छ। तीमध्ये ७५१ वटा ड्रोनलाई खसालिएको बताइएको छ।
बीबीसी संवाददाता सारा रेन्सफोर्डले राजधानीको केन्द्रमा प्रहार हुनु दुर्लभ भएको उल्लेख गर्दै क्षेप्यास्त्र र ड्रोनहरूले केन्द्र क्षेत्रमा लक्ष्य गरेको बताइन्। उनका अनुसार विस्फोटपछि आकाशमा ठूलो धुवाँ देखिएको थियो।
यसैबीच, रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा पनि तीनवटा पूर्वाधार केन्द्रमा आक्रमण गरेको छ।
फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले “इच्छुकहरूको गठबन्धन” (Coalition of the Willing) सदस्यहरूसँग प्यारिस शिखर सम्मेलन गरेर युक्रेनको सुरक्षाबारे छलफल गरेको केही समयमै आक्रमण भएको हो। माक्रोँले कुनै पनि सेना अग्रपंक्तिमा नरहने र रुससँग युद्ध गर्ने उद्देश्य नरहेको स्पष्ट पारेका थिए। तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा परिचालित कुनै पनि विदेशी सेनालाई “जायज निशाना” ठहर गर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री स्विरिडेन्कोले सामाजिक सञ्जालमा लेख्दै भनिन्, “देशभरि शत्रुले नागरिकलाई हरेक दिन आतङ्कित बनाइरहेको छ।”रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया