मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रपति पुटिनद्वारा रुसी आणविक बलको अभ्यासको निर्देशन, ट्रम्पसँगको शिखर सम्मेलन स्थगित

सम्भावित युद्धको अवस्थामा यिनै तीनजना शीर्ष अधिकारी आणविक हतियार प्रक्षेपणका लागि जिम्मेवार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
मस्को, ६ कात्तिक (रासस\एपी) : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका रणनीतिक आणविक शक्तिहरूको व्यापक सैन्य अभ्यास सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यस अभ्यासमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) र क्रुज मिसाइल प्रक्षेपणहरू समेत समावेश गरिएको बताइएको छ ।
क्रेमलिनका अनुसार रूसको ‘आणविक त्रिकोण’ — स्थल, समुद्र र हावाबाट मिसाइल प्रहार गर्न सक्ने क्षमता — समावेश गरिएको उक्त युद्धाभ्यासका क्रममा उत्तर पश्चिमी रूसको प्लेसेत्स्क प्रक्षेपण केन्द्रबाट यर्स आइसिबिएम प्रक्षेपण गरिएको थियो । त्यस्तै, बेरेन्ट्स सागरमा तैनाथ पनडुब्बीबाट सिनेभा आइसिबिएम प्रक्षेपण गरिएको र टियु–९५ रणनीतिक बमवर्षकहरूले लामो दूरीका क्रुज मिसाइलहरू प्रहार गरेको बताइएको छ ।
क्रेमलिनले विज्ञप्तिमा भनेको छ, “यो अभ्यासले सैन्य कमान्ड संरचनाको दक्षता र प्रतिक्रियात्मक क्षमताको परीक्षण गरेको छ ।”
सेनाको जनरल स्टाफ प्रमुख, जनरल भ्यालेरी गेरासिमोभले भिडियो लिङ्कमार्फत राष्ट्रपति पुटिनलाई प्रतिवेदन दिँदै अभ्यासको मुख्य उद्देश्य ‘आणविक हतियार प्रयोगका लागि अनुमति प्रक्रियाको अभ्यास’ रहेको बताउनुभयो ।
अभ्यासका क्रममा राष्ट्रपति पुटिन गोलो सेतो टेबलमा एक्लै बस्नुभएको थियो । उहाँको अगाडि ठूला पर्दाहरूमा गेरासिमोभ र रक्षामन्त्री आन्द्रेई बेलोसोभ देखिनुभएको थियो । सम्भावित युद्धको अवस्थामा यिनै तीनजना शीर्ष अधिकारी आणविक हतियार प्रक्षेपणका लागि जिम्मेवार हुने बताइएको छ ।
राष्ट्रपति पुटिनले युद्धाभ्यासहरू पहिले नै निर्धारित कार्यक्रमअनुसार गरिएको भन्दै त्यसको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलन स्थगित हुने घटनासँग कुनै प्रत्यक्ष सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो । तर यो अभ्यास ट्रम्पले बुडापेस्टमा पुटिनसँगको आफ्नो नियोजित छोटो बैठक ‘समयको बर्बादी’ हुनसक्ने भन्दै स्थगित गरेको केही घण्टापछि भएको थियो ।
अमेरिकी पक्षले गत हप्ता उक्त बैठकको घोषणा गरेको थियो, तर सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रूसी विदेशमन्त्री सर्गेई लाभरोभबीच भएको टेलिफोन वार्तापछि बैठक स्थगित गर्ने निर्णय गरिएको हो ।
लाभरोभले मङ्गलबारको टिप्पणीमा रूसले युक्रेनमा तत्काल युद्धविरामको विरोध गर्ने बताउँदै लामो अवधिको स्थायी शान्ति वार्ता अघि परिस्थितिको स्पष्ट मूल्याङ्कन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
यसैबीच, राष्ट्रपति ट्रम्पले पनि युक्रेनसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा – विशेष गरी रुसद्वारा कब्जा गरिएका भूमि फिर्ता गर्नुपर्ने विषयमा – गत वर्षदेखि नै आफ्नो धारणा परिवर्तन गर्दै आएको बताइएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पुटिन–ट्रम्प शिखर सम्मेलनलाई ‘गम्भीर तयारी आवश्यक हुने उच्चस्तरीय संवाद’ का रूपमा वर्णन गर्दै भन्नुभयो, “राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिन दुवै अत्यन्त कार्यकुशल नेताहरू हुनुहुन्छ । कसैले पनि आफ्नो समय बर्बाद गर्न चाहँदैन । प्रभावकारी परिणामका लागि तयारी अनिवार्य हुन्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया