काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेको विषयमा जाँचबुझ आयोगले बयान लिएको छ।
भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुधबार सिंहदरबारस्थित कार्यालयमा लामिछानेसँग करिब ६ घण्टा बयान लिएको हो।
आयोगले लामिछानेलाई नक्खु कारागारबाट सिंहदरबार झिकाएर बयान लिएको बताइएको छ।
जेनजी आन्दोलनको क्रममा रास्वपाका कार्यकर्ताले नक्खु कारागारबाट लामिछानेलाई बाहिर निकालेपछि अन्य कारागारबाट पनि कैदीबन्दी फरार भएका थिए। फरार कैदीबन्दीहरूले आफूहरूलाई जेलमै राखेर लामिछानेलाई बाहिर निकालिएको भन्दै सुरक्षाकर्मीसँग विवाद गरेका थिए।
लामिछाने भने रास्वपाका कार्यकर्ताले तयार गरेको कागजातमा जेलरको हस्ताक्षर गराएर बाहिरिएका थिए। जेलर सत्यराज जोशीले यसअघि आयोगलाई दिएको बयानमा आफूलाई लामिछाने बाहिरिसकेपछि दबाबमा कागजातमा हस्ताक्षर गर्न बाध्य पारिएको बताएका थिए।
तर लामिछाने र उनका समर्थकहरूले भने आन्दोलनकारीले कारागारमा आगजनी गर्ने चेतावनी दिएपछि प्रशासनले नै सुरक्षाको कारण देखाई उनलाई आफन्तको जिम्मा लगाएको दाबी गर्दै आएका छन्।
आयोगले लामिछानेसँग सोधपुछका क्रममा उनले जेलबाट निस्किँदा तयार गरिएको पत्र, निर्णय प्रक्रिया र कारागारबाट बाहिरिने अवस्थाबारे विस्तृत जानकारी मागेको बताइएको छ।
लामिछाने जेलबाट घर फर्किएपछि व्यापक विवाद भएको थियो। त्यसपछि कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई पुनः कारागार फर्किन सूचना जारी गरेको थियो, जसपछि लामिछाने स्वयं फर्किएका थिए।
उनी हाल विभिन्न सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्। अन्य सहकारीका मुद्दामा धरौटीमा रिहा भए पनि बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा भने उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो।
रुपन्देही कारागारमा रहेका लामिछानेलाई पछि उनको मागअनुसार नक्खु कारागारमा सारिएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया