काठमाडौं, १६ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोलि (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले दिएको आदेशअनुसार आफूले विश्वासको मतका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
हिजोमात्रै सर्वोच्च अदालतले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने आदेश जारी गरेको थियो। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले दिएको परमादेशमा विश्वासको मत नलिएमा अथवा न्यूनतम बहुमत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने उल्लेख गरिएको थियो।
सो आदेशपछि यादवले आज ढिलो गरी पत्रकार सम्मेलन बोलाउँदै प्रदेश प्रमुख कार्यालयमा विश्वासको मत प्रक्रियाका लागि आधिकारिक पत्र पठाइसकेको बताए। उनले संवैधानिक व्यवस्था अनुसारै प्रक्रिया अघि बढ्ने जिकिर गर्दै आफू सभाबाट विश्वासको मत लिन तयार रहेको स्पष्ट पारे।
यादव नेतृत्वको सरकार लामो समयदेखि बहुमत प्रमाणित गर्न दबाबमा थियो। प्रदेशसभाभित्र बदलिँदो राजनीतिक समीकरण, सत्तारूढ दलबीचको असहमति र विपक्षीको निरन्तर दबाबका कारण यादव सरकार अल्पमतमा रहेको आरोप लगिँदै आएको छ।
भोलिको मतदानले मधेस प्रदेशको सरकारको भविष्य निर्धारण गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया