काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा भेटवार्ता भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले भदौ २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सिंहदरबार परिसरका संरचनाको अवलोकन गर्न सिंहदरबार पुगेकी थिइन् । अवलोकनपछि उनी प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेटघाटका लागि पुगेकी हुन् ।
भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक स्थिरता, प्रदेश तथा संघीय तहबीचको समन्वय, विकास निर्माणका प्राथमिकता, सुरक्षा व्यवस्थापन तथा हालैका राजनीतिक घटनाक्रमबारे व्यापक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले सरकार जनअपेक्षाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा सबै राजनीतिक पक्ष एवं पूर्व उच्च पदाधिकारीहरूको सहयोग र सुझावले सरकारले अघि बढ्ने मार्गमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले पनि मुलुकमा स्थायित्व, सुशासन र विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वर्तमान राजनीतिक परिवेशमा सबै पक्षबीच सहकार्य र संवाद अपरिहार्य रहेको धारणा राख्नुभएको थियो ।
दुवैबीचको भेटलाई समसामयिक राजनीतिक अवस्थाबारे उच्चस्तरीय संवादका रूपमा हेर्न सकिने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया