काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका अध्यक्ष दुर्गा प्रसाईँसँग छलफल सुरु गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रसाईँ नेतृत्वको टोलीलाई बोलाएर सरकार–आन्दोलनकारीबीच औपचारिक वार्ता गरिएको हो।
सरकारले यसअघि नै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरी महाअभियानसँग संवाद गर्दै आएको छ। सोही समितिको पहलमा सरकार र प्रसाईँ पक्षबीच निरन्तर वार्ताको प्रयास जारी रहेको बताइएको छ।
यसअघि पनि मंसिर २२ गते सरकार र महाअभियानबीच छलफल भएको थियो। तर मागहरूमा सहमति नजुटेपछि प्रसाईँ नेतृत्वको समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। आन्दोलनको सम्भावनाले राजनीतिक तथा चुनावी वातावरण प्रभावित हुन सक्ने आँकलनपछि प्रधानमन्त्री कार्कीले वार्ताबाटै निकास खोज्ने पहललाई तीव्रता दिएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न संवाद र सहमतिलाई प्राथमिकता दिएको बताइन्छ। छलफलमा महाअभियानले अघि सारेका माग, आन्दोलन फिर्ता लिने सम्भावना तथा सरकारको तर्फबाट दिन सकिने समाधानका विकल्पबारे विचार–विमर्श भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया