कार्तिक २५, २०८३ बुधबार November 11, 2026

रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग

योग्यता पुगेका क्रमशः विशिष्ट श्रेणीका मुख्य रजिष्ट्रार, रजिष्ट्रारलाई तत्काल नियुक्ति गरी असल अभ्यासको सुरुआत गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । न्यायपालिका अधिकृत समाजले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ ।

समाजका कार्यवाहक अध्यक्ष निराजन पाण्डेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीशमा योग्यता पुगेका क्रमशः विशिष्ट श्रेणीका मुख्य रजिष्ट्रार, रजिष्ट्रारलाई तत्काल नियुक्ति गरी असल अभ्यासको सुरुआत गर्न माग गरिएको छ ।

‘उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका न्याय सेवा, न्याय समूहका विशिष्ट र प्रथम श्रेणीका अधिकृतहरूबाट रिक्त रहेको उच्च अदालतको न्यायाधीश पदमा प्राथमिकता दिई नियुक्ति गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘न्याय सेवा, न्याय समूहका अधिकृतहरूलाई राजपत्रांकित द्वितीय तहमा र राजपत्रांकित द्वितीय तहका कर्मचारीलाई जिल्ला न्यायाधीश र राजपत्रांकित प्रथम श्रेणीमा जाने बाटो फराकिलो हुनेगरी कर्मचारीको वृत्ति सहज र प्रभावकारी बनाउन सकिन्छ, न्यायिक नेतृत्वबाट विशेष चासो प्रदान गरी तत्काल ‘इसर्भे’ गरियोस् ।’

पछिल्ला दिनहरूमा समग्र न्यायपालिकाप्रति नै सार्वजनिक रूपमा भइरहेको प्रहार र अनर्गल प्रचारसमेतका आक्रमणको प्रतिरोध उत्प्रेरित कर्मचारीबाट मात्र सम्भव हुने भएकाले अदालतका कर्मचारी स्वयंलाई उत्प्रेरित गर्नुको अलावा निरुत्साहित र अपमानित महसुस हुने प्रकृतिका कार्यले स्थितिलाई अझै जटिल बनाउन सक्ने हुँदा यसप्रति ध्यान पुर्याउन अनुरोध गरिएको छ ।

समाजले न्यायपालिकाको पुर्नसंरचना गरी सर्वोच्च अदालतमा न्यायाधीशको अधिकतम अवधिको किटान, न्याय परिषद्को पुर्नसंरचना, विशिष्टिकृत अदालतहरूको स्थापना र सहभागिता साथै अदालत सञ्चालनमा नवीनतम अभ्यासमा जोड दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया