कार्तिक २५, २०८३ बुधबार November 11, 2026

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छ: मन्त्री खरेल

ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आवश्यक सहजीकरणका लागि आफू तयार रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममा उहाँले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको बताउनुभयो ।

उहाँले पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा राम्रो रहेको बताउनुभयो । पत्रकारहरूको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशिला तयार गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यममा पुर्‍याउन  जरुरी छ ।”

निरीक्षणका क्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराउनुभएको थियो । मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा जाँदा दुर्घटनामा पर्नुभएका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई भेट गर्नुभएको छ ।

ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आवश्यक सहजीकरणका लागि आफू तयार रहेको उहाँको भनाइ थियो । सोही क्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोन गरी मन्त्री खरेलले टेलिभिजनका तर्फबाट गर्न सक्ने सहयोगका लागि निर्देशन दिनुभयो ।

ढकालले आफू टेलिभिजनको प्रत्यक्ष प्रसारणका लागि जाने क्रममा दुर्घटना भएको भन्दै नेपाल टेलिभिजनमा स्थायित्व हुने गरी रोजगारको सुनिश्चितता गरिदिन मन्त्री खरेललाई अनुरोध गर्नुभएको थियो ।

पत्रकार ढकाल गत असोजमा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनका क्रममा दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनामा परी घाइते ढकालको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको छ । उहाँ विगत तीन महिनादेखि उपचारकै क्रममा हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया