कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

एकता दिवसले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछः पूर्वराष्ट्रपति भण्डारी

राष्ट्रिय एकता दिवसले हाम्रो देशभक्तिको भावना अझ सबल बनाई सामाजिक सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २७ पुसः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३०४औँ पृथ्वीजन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो देशभक्तिको भावना अझ सबल बनाई सामाजिक सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले यस दिवसले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सार्वभौमिकता र समृद्धिका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । “कलह, झगडा र अस्थिरताले थलिएर विकास गर्न नसकेका स–साना राज्यको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको गौरवपूर्ण अध्याय हो”, उहाँले भन्नुभयो, “नागरिकको सल्लाह तथा सुझाव लिएर एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व एवं हाम्रा वीर पुर्खाको त्याग र बलिदानका कारण नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक सत्य हामीले आत्मसात गर्नुपर्दछ ।”

पूर्वराष्ट्रपति भण्डारीले ऐतिहासिक एकीकरणले तयार गरेका आधारभूमिमा उभिएर हामी आजको सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेका बताउनुभयो । “हामीले हाम्रो पवित्र भूमि, इतिहास र संस्कृतिप्रति गौरव गर्दै पूर्वजप्रति कृतज्ञ हुनुपर्दछ । इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिन सक्नु सभ्य समाजको पहिचान हो”, उहाँले भन्नुभयो ।

पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र एवं सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेका उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया