कार्तिक २५, २०८३ बुधबार November 11, 2026

३४ सयभन्दा बढी उम्मेदवारको मनोनयन लोकतन्त्रप्रतिको विश्वासको संकेत : प्रधानमन्त्री

निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरिरहेको निर्वाचन आयोगप्रति सरकारको धन्यवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम रहेको आज देखिएको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको बताउनुभएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन प्रक्रिया उत्साहपूर्वक सम्पन्न भएपछि मंगलबार साँझ जारी गर्नुभएको सन्देशमा प्रधानमन्त्री कार्कीले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल तथा उम्मेदवारप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ क्रियाशील रहेको पुनः स्मरण गराउनुभयो। निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्दै उहाँले सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीले १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गरिनु लोकतान्त्रिक मूल्य र मान्यताप्रति नेपाली जनताको प्रगाढ विश्वासको संकेत भएको बताउनुभयो। उहाँका अनुसार निर्वाचन प्रक्रियामा देखिएको उत्साहले राजनीतिक क्षेत्र मात्र होइन, निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा प्रवाह गरेको देखिन्छ। यससँगै मुलुकमा विद्यमान अन्योल र अनिश्चितताको अवस्था क्रमशः अन्त्य हुँदै गएको बुझिन्छ।

सन्देशमा प्रधानमन्त्री कार्कीले निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरिरहेको निर्वाचन आयोगप्रति सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको छ। साथै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमबाट रचनात्मक भूमिका निर्वाह हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो।

अन्त्यमा प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई निर्वाचनमा सक्रिय, सचेत र संयमित सहभागिता जनाउन हार्दिक अपिल गर्नुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया