कार्तिक २५, २०८३ बुधबार November 11, 2026

वर्तमान सरकार नागरिकमैत्री छः गृहमन्त्री अर्याल

स्वदेशमा खेलेर जीवनयापन गर्न सक्ने वातावरण निर्माणका लागि खेललाई व्यावसायिक बनाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १७ माघः गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री भएकाले नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्ने बताउनुभएको छ ।

अखिल नेपाल कबडी सङ्घद्वारा आज यहाँ आयोजित २१औँ महिला तथा २५औँ पुरुष राष्ट्रिय कबडी प्रतियोगितामा उहाँले मुलुकमा सुशासन कायम गराउँदै शान्ति सुरक्षा, सामाजिक न्यायसहित नागरिकको जीवनस्तर उकास्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेकाले सोही अनुसार काम भइरहेको धारणा राख्नुभयो ।

अन्तरराष्ट्रिय तहका खेलकुद प्रतियोगिताबाट पदक भित्र्याउन सक्ने सम्भावित खेल कबडी नेपालमा अग्रपङ्क्तिमा रहेको बताउँदै मन्त्री अर्यालले सरकारले यो खेललाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वदेशमा खेलेर जीवनयापन गर्न सक्ने वातावरण निर्माणका लागि खेललाई व्यावसायिक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । खेलप्रति खेलाडीको आकर्षण बढाउँदै लैजानेगरी योजना र नीति निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

सङ्घका अध्यक्ष तुलसी थापाले अहिले नेपाली युवा अवसरको खोजीमा विदेशतर्फ आकर्षित भइरहेको अवस्थामा खेलाडीलाई स्वदेशमा खेल्नसक्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घका महासचिव अरविन्द झाले देशभरका ४२ जिल्लामा मान्यता प्राप्त गरेको सङ्घले कबडी खेललाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै खेलाडीको हकहित संरक्षण गर्दै लैजाने बताउनुभयो । सातै प्रदेशका करिब २४० खेलाडीको सहभागितामा सम्पन्न प्रतियोगितामा प्रथम भएका नेपाली सेना तथा दोस्रो सशस्त्र प्रहरीको टोलीलाई पुरस्कृत गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया