कार्तिक २५, २०८३ बुधबार November 11, 2026

रवि लामिछानेको राहदानी कसुर मुद्दाको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा

दोहोरो राहदानी प्रकरणः रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयमाथि सर्वोच्चमा सुनुवाइ तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ ।

अधिवक्ता युवराज पौडेल (सफल) ले रवि लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिट निवेदनमा आज सुनुवाइका लागि पेशी तोकिएको हो । उनले तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय कानूनविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी चढेको भए पनि १२ औँ नम्बरमा परेकाले आज नै सुनुवाइ हुने सम्भावना कम रहेको बताइएको छ । यसअघि सो मुद्दामा सर्वोच्च अदालतले तीन पटकसम्म फाइल मगाउने आदेश दिएको थियो ।

अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको थियो । सो निर्णयको जवाफ प्राप्त भएपछि दोहोरो सुनुवाइका लागि पुनः पेशी तोकिएको हो ।

लामिछानेले अदालतको फैसलापछि नेपाली नागरिकता पुनः प्राप्त गरिसकेका भए पनि दोहोरो राहदानी प्रयोगसम्बन्धी मुद्दा भने बाँकी नै रहेको थियो । सो मुद्दामा मुद्दा नचल्ने निर्णय भएपछि त्यसविरुद्ध रिट निवेदन परेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया