श्रावण १२, २०८३ मंगलबार July 28, 2026

सरकारले भयरहित वातावरणमा फागुन २१ को निर्वाचन सम्पन्न गराँउछ : प्रधानमन्त्री

मौसम प्रतिकूल भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुनसक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएकी छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशेष परिस्थितिमा पनि निर्वाचन समयमै गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले विशेषगरी हिमाली तथा दुर्गम जिल्लामा मौसम अनुकूल नभएमा वैकल्पिक उपाय अपनाइने बताउँदै आवश्यक परे दोस्रो चरणमा निर्वाचन गराउने सम्भावनाबारे पनि संकेत गरिन् । उनले भनिन्, “निर्वाचनका लागि सरकारले आवश्यक सबै सहयोग गर्छ । हिमाली जिल्लामा मौसम प्रतिकूल भएमा दोस्रो चरणमा निर्वाचन गर्ने विकल्प पनि खुला छ।”

कम मतदाता भएका तथा दुर्गम भूगोल भएका स्थानहरूमा मतदान सुनिश्चित गर्न सरकारले विशेष रणनीति बनाएको जानकारी दिँदै उनले सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराउने तयारी गरिएको उल्लेख गरिन् । अत्यन्त कठिन परिस्थिति सिर्जना भए मात्र वैकल्पिक मिति तय गरिने उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले हालसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषय औपचारिक रूपमा उठान नभएको स्पष्ट पार्दै सबै नागरिकलाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरिन् । “समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हाल्ने र देशलाई नयाँ दिशातर्फ अघि बढाउनेमा म विश्वस्त छु,” उनले भनिन् ।

निर्वाचन सुरक्षाका सन्दर्भमा सरकारले चारै सुरक्षा निकायबीच समन्वय गरी व्यापक तयारी गरिरहेको बताउँदै उनले शतप्रतिशत प्रयासका साथ शान्तिपूर्ण वातावरण सुनिश्चित गरिने दाबी गरिन् । विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती देखिन सक्ने भए पनि समाधान गर्दै प्रक्रिया अघि बढाइने उनले बताइन् ।

सरकारले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधारका रूपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नागरिकको मताधिकार सुरक्षित गर्नु राज्यको प्रमुख जिम्मेवारी भएको धारणा राखिन् । राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा सहभागिता, अनुशासन र राष्ट्रप्रेमलाई बलियो बनाउने यस्ता कार्यक्रमहरूले देशको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया