कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

राष्ट्रपति पौडेल आज स्वदेश फर्किंदै

जापानको औपचारिक चारदिने भ्रमण सम्पन्न गरी राष्ट्रपति रामचन्द्र पौडेल बुधबार स्वदेश फिर्ता हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । जापानको औपचारिक चारदिने भ्रमण सम्पन्न गरी राष्ट्रपति रामचन्द्र पौडेल बुधबार स्वदेश फर्कने भएका छन् । आइतबारदेखि सुरु भएको भ्रमणका क्रममा राष्ट्रपति पौडेलले उच्चस्तरीय भेटवार्ता, कूटनीतिक कार्यक्रम तथा नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी प्रधानमन्त्री तकाइची सनाय र सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए । भेटका क्रममा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, आर्थिक सहकार्य, लगानी प्रवर्द्धन, पर्यटन तथा शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको अवसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले सम्बोधन गर्दै दुई देशबीचको मित्रता आपसी विश्वास, सहकार्य र विकास साझेदारीमा आधारित रहेको बताएका थिए । उनले जापानले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोस्थित नेपाली राजदूतावासको अवलोकन गर्दै त्यहाँ कार्यरत कूटनीतिक कर्मचारीहरूसँग छलफल गरेका थिए । उनले विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षण, सेवा प्रवाहको गुणस्तर सुधार तथा नेपाल–जापान सम्बन्ध थप मजबुत बनाउन सक्रिय भूमिका खेल्न राजदूतावासलाई निर्देशन दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया