काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरिएको विषयमा दायर रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा पहिलो नम्बरमा राखिएको छ । चौधरीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
सर्वोच्च अदालत प्रशासनका अनुसार आजका लागि तोकिएको पेसीमा चौधरीको रिटलाई प्राथमिकताका साथ पहिलो नम्बरमा राखिएको छ । उम्मेदवारी खारेजीसँग सम्बन्धित संवेदनशील र समयसापेक्ष मुद्दा भएकाले यसलाई अग्रस्थानमा राखिएको बताइएको छ ।
यसअघि गत माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो ।
त्यसैगरी माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित यसअघि भएको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न आदेश दिएको थियो । सो आदेश बमोजिम आवश्यक प्रक्रिया पूरा गरी मिसिल अदालतमा पेस भएपछि आज अन्तरिम आदेशका विषयमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
रेशम चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । तर निर्वाचन आयोगले कानुनी अड्चन देखाउँदै उनको उम्मेदवारी खारेज गरेको थियो । आयोगको सो निर्णयविरुद्ध चौधरी सर्वोच्च अदालत पुगेका हुन् ।
चौधरीको उम्मेदवारी खारेजीको मुद्दा राजनीतिक र कानुनी दुवै दृष्टिले चासोको विषय बनेको छ । सर्वोच्च अदालतको आजको सुनुवाइपछि अन्तरिम आदेश जारी हुने वा आयोगको निर्णय यथावत् रहने भन्ने विषयमा महत्वपूर्ण मोड आउने अपेक्षा गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया