काठमाडौं । पाकिस्तानमा सम्पन्न नवौँ Pakistan Army Team Spirit Competition मा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको छ ।
माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पन्जाब प्रान्तस्थित खारियाँमा रहेको National Counter Terrorism Centre (NCTC) मा आयोजना गरिएको उक्त अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा पाकिस्तानसहित १७ राष्ट्रका ३८ वटा सैनिक टोलीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागी टोलीहरूको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रणकौशल, नेतृत्व क्षमता तथा टोलीगत समन्वय लगायतका विविध पक्षमा मूल्यांकन गरिएको आयोजकले जनाएको छ । उच्चस्तरीय प्रतिस्पर्धाबीच नेपाली सेनाको टोलीले सबै सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक अङ्क प्राप्त गरेको हो ।
सन् २०१६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र २०२५ मा पनि स्वर्ण पदक हासिल गरिसकेको छ । लगातार उत्कृष्ट प्रदर्शनमार्फत नेपाली सेनाले अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा आफ्नो व्यावसायिक क्षमता र अनुशासन पुनः प्रमाणित गरेको सैन्य स्रोतले जनाएको छ ।
यस उपलब्धिलाई नेपाली सेनाको प्रशिक्षण प्रणाली, कार्यकुशलता र अन्तर्राष्ट्रिय सैन्य सहकार्यमा बढ्दो विश्वास को रूपमा लिइएको छ । साथै, यसले मित्रराष्ट्रहरूसँगको सैन्य सम्बन्ध सुदृढ बनाउन र संयुक्त अभ्यासमार्फत अनुभव आदान–प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया