काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताउनुभएको छ । नेपाल शेर्पा सङ्घद्वारा २१५३ औँ ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा मङ्गलबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
“नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा परिचित छन्, शताब्दीयौंदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय हो”, उहाँले भन्नुभयो ।
हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदिवासी समुदाय हो भन्दै उहाँले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन यस समुदायको महत्वपूर्ण योगदान रहेको छ भन्नुभयो । “वास्तवमा हाम्रो मौलिक पहिचान भनेको यहाँ रहेका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले यस प्रकारको चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको छ भन्दै यो मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो भन्नुभयो ।
सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने उहाँको भनाई थियो । “यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकाले फागुन २१ गतको लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आव्हान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया