कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

सेवा सुविधा माग्दै हुम्लामा निर्वाचन प्रहरीले गरे प्रदर्शन

हिमाली जिल्लामा खटिने निर्वाचन प्रहरीले अतिरिक्त सुविधा पनि पाउने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हुम्ला । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि खटाइएका निर्वाचन प्रहरीले सेवा–सुविधा कम भएको भन्दै मंगलबार विरोध प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय हुम्ला अगाडि भेला भएका निर्वाचन प्रहरीले आफूहरूलाई पूर्वजानकारीभन्दा कम सुविधा उपलब्ध गराइएको दाबी गर्दै नाराबाजी गरेका थिए।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार तोकिएको कार्यविधिभन्दा सेवा–सुविधा कम भएको भन्ने बुझाइका कारण असन्तोष उत्पन्न भएको हो। उनका अनुसार केही गलत सूचनाका आधारमा निर्वाचन प्रहरी आन्दोलित बनेका हुन्। प्रदर्शनका क्रममा केहीले टायर बाल्ने र सामान्य तोडफोड गर्ने प्रयाससमेत गरेको बताइएको छ।

आगामी निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ। उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानअनुसार प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पाउने व्यवस्था छ। मतदानको दिन अघिपछि गरी चार दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले १ हजार २ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइनेछ।

हिमाली जिल्लामा खटिने निर्वाचन प्रहरीले अतिरिक्त सुविधा पनि पाउने व्यवस्था छ। प्रशासनका अनुसार हुम्लामा खटिने प्रत्येक निर्वाचन प्रहरीका लागि करिब ११ हजार ५७० रुपैयाँ बराबरको थप खर्च हुने प्रावधान छ। पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ अतिरिक्त खर्च हुने व्यवस्था रहेको छ।

पहिले भनिएको भन्दा कम रकम पाउने हल्ला फैलिएपछि निर्वाचन प्रहरी असन्तुष्ट बनेर आन्दोलनमा उत्रिएको प्रशासनको भनाइ छ। हाल छलफलमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको र अवस्था नियन्त्रणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले जानकारी दिएका छन्। प्रशासनले आधिकारिक जानकारीबाहेकका अफवाहमा नलाग्न सबैलाई आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया